ओझेलमा ऐतिहासिक महत्वका नौ सालिक

विष्णु पौडेल, दमक।
एकै व्यक्तिको प्रयासबाट निर्माण गरिएका किरातसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक व्यक्तित्वहरुको नौवटा सालिक संरक्षण तथा विकासमा कसैको ध्यान पुगेको छैन । इलाम चुलाचुली-२ हात्तीलेदामा ती शालिक निर्माण गरिए पनि समय समयमा रंगरोगन गर्ने, घेराबारा गरेर सो स्थानलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्न सकिने सम्भावना भए पनि त्यसो हुन नसकेको स्थानीयबासीको गुनासो छ ।

-->
KIRAT MANGHIM (3)


सोही ठाउँका पुराना बासिन्दा ६८ वर्षीय मूर्तिकार ज्ञानोदय लावतीको एकल प्रयासमा करीब तीन दशक लगाएर त्यहाँ किराँती राजा यलम्बर, समाजसुधारक तथा राष्ट्रिय विभूति किराँत धर्मका महागुरु फाल्गुनन्द, किराँत धर्मका साना गुरु बद्रीनाथ, किराँत इतिहासका खोजकर्ता इमानसिंह चेम्जोङ, ज्योतिषविद् रणध्वज नेम्वाङ, किराँत लिपिका प्रवर्तक श्रीजंगा र एकलव्यका सालिक निर्माण भएका छन् । यतिका ऐतिहासिक महत्त्व बोकेका राष्ट्रिय विभूति समेतको सालिक निर्माण लावतीको हातले नै पुरा गरेका हुन् ।
KIRAT MANGHIM (9)
सालिक निर्माणमात्रै गर्न सफल भएकोमा आफू गौरवान्वित भएपनि सो क्षेत्रको संरक्षण र विकासमा सरकारी तवरबाट कुनै प्रयास नभएको देख्दा आफूलाई दुःख लागेको लावतीको गुनासो छ । हुन पनि लावती ती सालिक निर्माणमा आफूलाई लागेको समय बाहेक अरु कुनै खर्चबारे केही बताउन चाहँदैनन् । भन्छन्, '३८ सालतिर बनाउन थालेको थिएँ होला, दुई चार वर्षअघि बनाइ सकेको हुँ ।' ती सालिक बनाउन लागेको खर्चबारे लावती भन्छन्, 'त्यो मैले कसैसँग लिने गरी गरेको लगानी पनि होइन र कसैलाई भन्दिनँ पनि ।'

-->
KIRAT MANGHIM (1)

अब आफू बुढो भएकोले किराँतसँग सम्बन्धित सम्पत्ति संरक्षण गर्न राज्यले ध्यान लगाइदिए हुन्थ्यो भन्छन् लावती । 'यिनै वस्तुहरु राजमार्गतिर भएका भए कति महत्त्वको चर्चा हुन्थ्यो होला, हामी दुर्गमबासीको मेहनत र यहाँको सम्पत्तिलाई कसैले चिन्ने प्रयास नै गरेन, उल्टै बेला बेला राज्य सत्ताले हामीमाथि आक्रमण मात्रै गरिरहेको छ,' स्थानीय राजनीतिक अगुवा थाङसाङ लावती भन्छन् । हात्तीलेदा आफैंमा ऐतिहासिक धार्मिक महत्त्व बोकेको देवस्थलसमेत भएको स्थानीयहरु बताउँछन् । यतिको ऐतिहासिक र धार्मिक पृष्ठभूमि बोकेको यो ठाउँको विकास गर्न सके मुलुककै सम्पदा बढ्ने उनीहरुको भनाई छ । हात्तीलेदामा किराँतीहरुले माङहिम मन्दिर तथा देवी देवताका मूर्तिहरुको स्थापना गरेका छन् ।



KIRAT MANGHIM (10)
सयौं वर्षको इतिहास बोकेका त्यस्ता माङहिमको संरक्षण र विकासका लागि स्थानीय आफैं संगठित त भएका छन् तर दिनैपिच्छे युवाहरु विदेसिने र रेमिट्यान्स भित्र्याएपछि ठाउँ नै छोडेर बजारतिर बसाइँ सर्ने प्रवृत्तिले यो ऐतिहासिक ठाउँलाई पनि छोएको छ । स्थानीय हाङसाम साम्योक माङहिम व्यवस्थापन समितिका सल्लाहकार तथा सामुदायिक भवन निर्माण समितिका अध्यक्ष नारायणसिंह लावती भन्छन्, 'यो ठाउँका युवाहरु पहिले विदेश जान्छन् अनि अलिअलि जोडेको पैसाले सहरतिरै घर घडेरी किन्छन् अन्तको जस्तै छ यहाँ पनि । सरकारको बजेट कार्यक्रममा पनि उपेक्षा छ कसरी हुन्छ त विकास ?'
माङहिम व्यवस्थापन समितिका सचिव तथा स्थानीय अगुवा गंगाबहादुर साउदेन हात्तीलेदाको ऐतिहासिकता र यहाँको धार्मिक महत्त्वलाई बुझेर यसको विकास गर्न ढिला भइसकेको बताउँछन् ।



-->

Comments