नागरिकसँगको सहकार्यबाटै अपराध नियन्त्रणमा सफलता - डिएसपी पौडेल





रविकुमार पौडेल झापा कन्काई माईपश्चिमको प्रहरी कमाण्ड सम्हालिरहेको नेपाल प्रहरीका नायव उपरीक्षक (डिएसपी) हुन् । इलाका प्रहरी कार्यालय दमकमा १०
महिनाअघि इञ्चार्जको रुपमा आएका उनी सो कार्यालयका दोश्रो डिएसपी हुन् । उनी दमक आएपछि नै पूर्व क्षेत्रीय प्रहरी कार्यालयबाट प्रदान गरिने पुलिस अफ दि मन्थ, प्रहरी दिवसका अवसरमा प्रदान गरिने साधना प्रहरी पराक्रम पुरस्कारबाट पुरस्कृत हुनका साथै कार्य सम्पादन मुल्यांकनका आधारमा इलाका प्रहरी कार्यालय दमक देशकै उत्कृष्ट इलाका प्रहरी कार्यालयका रुपमा समेत पुरस्कृत भयो । प्रहरी संगठनभित्र विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेर चर्चामा पनि छन् डिएसपी पौडेल।
प्रस्तुत छ उनै डिएसपी पौडेलसँग स्थानीय शान्ति सुरक्षाको अवस्था, चुनौती आदिका विषयमा गरिएको कुराकानीको सारसंक्षेप-





तपाईं दमक आउनुअघि र आएपछि यस क्षेत्रको शान्ति सुरक्षाको अवस्थालाई कसरी विश्लेषण गर्नु हुन्छ ?

म दमक आउनुअघि पनि यहाँको बारेमा धेरथोर कुराहरु सुनेको थिएँ । झापा जिल्ला बौद्धिक मानिसहरुको बसोबास रहेको जिल्ला भइकन पनि यहाँको जनसंख्याको चाप अनुसार शान्ति सुरक्षा कायम राख्न निक्कै चुनौतीपूर्ण छ भन्ने सुनेको थिएँ । एकाध साथीभाइहरुले यही कुरा गर्थे । शतप्रतिशत त होइन तथापि केही चाहीँ मैले सुनेको यथार्थ नै हो रहेछ । तैपनि मैले यहाँ आउनेवित्तिकै आफैं अनुभव गरेको कुरा चाहिँ यहाँको शान्ति सुरक्षाका लागि भौतिक पूर्वाधार अन्य ठाउँको तुलनामा व्यवस्थित नै पाएँ । जति यहाँको भौगोलक वनावट अलि पृथक किसिमको छ त्यसै अनुसार धेरथोर चुनौती त यसलाई समायोजन गर्नका लागि पनि थियो तर पनि मैले भन्नु पर्दा यहाँको अवस्था अनुसार यहाँ सुरक्षास्थितिलाई सुदृढ बनाउन निक्कै ठुलो मेहनत गर्नु पर्‍यो । मलाई लाग्छ, यसअघि अरु इञ्चार्जहरु आउँदा पनि यही अनुभुति गर्नु हुन्थ्यो । फरक के छ भने मैंले यस क्षेत्रको सुरक्षाका लागि यहाँको आपराधिक गतिबिधी नियन्त्रणका लागि गरेका केही महत्वपूर्ण कामको रिजल्ट यहाँ छर्लङ्ग छ । यसलाई दमकबासी भनौं झापाबासीले धेरै थोरै अनुभूति गर्नु नै भएको छ भन्ने लाग्छ । किनभने मलाई यसबीचमा धेरै जनाले भन्नु पनि भा'को छ कि केही कुरामा चेन्ज छ भनेर । त्यो कुराको मुल्यांकन हाम्रो विभागले पनि गरेको छ । खासगरी यहाँ दमक प्रहरीले नागरिकसँगको सहकार्यबाटै अपराध नियन्त्रणमा सफलता पाएको छ ।

सहकार्य गरेको कुरा गर्नु भयो तपाई त कसैसँग सहकार्य गर्न नचाहने डिएसपी पनि भन्ने आरोप छ नि ?
सहकार्य भन्नाले खास काममा, विशिष्ट अवस्थामा विशेष महत्वका साथ एउटा असल उद्देश्य पूर्तिका लागि एकापसमा गरिने हो । कसैसँग कसैले सँगै विहान बेलुकाको उठबस हुनु, फोनका भरमा कुनै अपराधको घट्नाका आफुले सिफारिस गरेका अनुसन्धानका पात्रहरुलाई छाडिदिने वा आफ्ना इच्छा अनुसार मात्रै इनभेष्टिगेसन होस् भन्ने चाहना पनि राख्ने गर्छन् यो कुनै एक ठाउँ वा एक व्यक्ति विशेषको कुरा होइन, समग्रमा हाम्रो समाजमा कहीं कतै त्यो प्रवृत्ति छ । यो खराव प्रवृत्तिलाई कमसेकम दमक प्रहरीले न्युनिकरण गरेको छ ।
दमक र यस क्षेत्रका सबै राजनीतिक दल, सामाजिक संघ संस्थाहरु, नागरिक समाज, यहाँको बौद्धिक सर्कलले यस क्षेत्रको अपराधिक क्रियाकलाप न्युनिकरणमा सकारात्मक सहयोग पुर्‍याइरहेको अनुभूति मैले गरेको छु । कसले कुन आफ्नो उद्देश्य पुरा नहुँदा के भन्छ भन्ने कुराको पछाडी म लाग्दिन । मैले त्यस्तो आवश्यक पनि देखेको छुइन् । दमक प्रहरी र नागरिकको सहकार्यलेयहाँको भौतिक संरचनाको विकासदेखि आपराधिक कृयालकलाप नियन्त्रणमा सम्म मद्दत पुगेको छ । मैले त्यो महसुस गरेको छु ।




तपाईको कमाण्डमा यस क्षेत्रमा अहिलेसम्म गरेको के कामलाई चाहिं आफ्नो उपलब्धी ठान्नु भएको छ ?
पहिलो कुरा त प्रहरीको आफ्नो काम कर्तव्य भनेकै शान्ति सुरक्षाको स्थितिलाई मजवुत बनाई राख्दै राष्ट्र र जनताको सेवा गर्ने हो । मैले यहाँ आउँदा होस् वा यसअघि अरु जिल्लामा बसेर आफ्नो जिम्मेवारी सम्हालिरहँदा सांठनिक काम कर्तव्यमा मैंले आफ्नो ठाउँबाट एक इञ्च तल नझरिकन नै कर्तव्य निर्वाह गरिरहेको छु । झापा अर्थात् मेरो अहिलेको कार्यक्षेत्रका बिषयमा भन्नु पर्दा यो ठाउँमा खुलेआम जस्तै भइसकेको होटल लजको वेश्यावृत्ति, जुवा खेल, लागूऔषधको कारोबार र काठ तस्करी नियन्त्रण भएको छ । यी चार किसिमका अपराध भनौं वा सामाजिक विकृतिको शतप्रतिशत नभएपनि ९० प्रतिशत भन्दा धेरै नियन्त्रण भइसकेको छ । हाम्रो युनिटको लक्ष्य यसलाई शतप्रतिशतमा झार्ने हो । लुकिछिपी कहीं कतै अझै पनि यसखाले आपराधिक कृयाकलाप यस क्षेत्रमा भएका हुन सक्छन्, त्यसलाई सत प्रतिशत हटाउनका लागि आपराधिक क्षेत्र वा वरपरका नागरिकको पनि भुमिका हुनुपर्छ । नागरिक पनि बर्दी नलगाएका प्रहरी बन्न सक्नुपर्छ । उनीहरुले दिने सुचनाका आधारमा हाम्रो युनिटले त्यसलाई पनि नियन्त्रणमा लिने अधिकतम प्रयास गर्छ । सगसँगै महिला हिंसाका घट्ना तथा जघन्य प्रकृतिका बलात्कार, हत्या जस्ता घट्नामा दोषीहरु यस क्षेत्रमा प्रशस्तै पक्राउ परेका छन् । कोही यही क्षेत्रमा त्यस्तो अपराध गरेका छन् भने कोही अरु ठाउँमा अपराध गरेर आएर बसेकाहरु पनि यहाँ समातिएका छन् । प्रशासनिक र अरु प्राविधिक सेक्टरमा त यहाँको प्रगतिलाई उल्लेख्य मान्नु पर्छ । किनभने दमकले झापाको माइपश्चिम क्षेत्रका सबै प्रहरी युनिटलाई प्रत्यक्ष रुपमा हेर्न पाउने भएको छ । यो विभिन्न कोणबाट सकारात्मक हो ।

प्रस्तुती - विष्णु पौडेल



Comments