संकटमा पर्दै ऐतिहासिक सताक्षीधाम क्षेत्र




विष्णु सुब्बा,
१४ मंसीर, दमक।
झापाको सतासीधाम र इलामको महमाई-९ सँग जोडिएर रहेको धार्मिक तथा पर्यटकीय महत्व बोकेको सताक्षीधाम उचित संरक्षणको अभावमा संकटमा पर्दै गएको छ । प्राकृतिक सौन्दर्यमा ह्रास आउने गरी बढ्दो भूक्षय, असुरक्षा र धामको विकासका लागि भनेर गठन गरिएको धाम विकास समितिले समेत यस क्षेत्रको विकासका लागि कार्ययोजना बनाउन नसक्दा संकटमा परेको हो ।
सतासीधाम दुधेका विजय साँवाले पर्यटकीय क्षेत्रका रुपमा रहेको सो क्षेत्रमा निर्धक्कका साथ सर्वसाधारणले आवतजावत गर्न सक्ने वातावरण सिर्जना गर्न धाम क्षेत्रमा नै छुट्टै प्रहरी विटको व्यवस्था गर्न आवश्यक भएको बताए। उनले भने, 'यस क्षेत्रको विकासका लागि सम्बन्धित निकायको ध्यान जान सकेको छैन।' स्थानीयबासीका हैसियतले आफूहरुले स्वतन्त्र निर्माण व्यवसायी मजदुर संघको तर्फबाट धामको माथिल्लो क्षेत्र शिव-पार्वती झरना भएको स्थलमा करीब साढे पाँच लाख रुपैयाँको लागतमा मन्दिर निर्माण गरेको उनले जानकारी दिए।





स्थानीयबासीहरुले धामको विकासलाई जति महत्व दिनु पर्थ्यो त्यस्तो हुन नसकेको उनको भनाई थियो । सताक्षीधाम मन्दिर क्षेत्रमा भक्तजनहरुले चढाएका गाई बाच्छीको रेखदेख र व्यवस्थापनका लागिसमेत अहिलेसम्म दीर्घकालीन नीति बन्न सकेको छैन । सताक्षीधाम मन्दिरमा भक्तजनले चढाएका गाई र तिनका बाच्छा बाच्छीको संख्या तीन वर्षअघिसम्म ३५ वटाको हाराहारीमा रहेका थिए । धाम मन्दिरको चासो र सरोकारमा गठित धार्मीक तथा पर्यटकीय सतासीधाम विकास समितिले पनि ती गाई बाच्छाको संरक्षणका लागि न गोठ बनाएको छ, न रेखदेख गर्ने कुनै व्यवस्था नै गरेको छ । धाम क्षेत्रमा बस्दै आएका साधुसन्तहरु र धामका जानकार सो क्षेत्रका बासिन्दाको भनाइमा दुई-तीन वर्षयता सो धाममा गाईको संख्या न्यून रहेको जनाइएको छ । समितिले धामक्षेत्रमा रहेको गाईको संख्या कति छ भनेर अझैसम्म तथ्याङ्क समेत राखेको छैन । कति बिक्रि भयो र कति धाममा छन् भन्नेसमेत समितिले हिसावकिताव नराखेको स्थानीयबासीको आरोप छ। समितिको नेतृत्व गर्न बिभिन्न प्रचारहरु गरेपनि समितिमा रहेपछि धामको गहनासमेत मानिएको गाईहरुलाई उचित गौशाला निर्माण गर्न र गाईको ब्यवस्थापनमा ध्यान दिन नसक्दा धामको गरिमा कमजोर बन्दै गएको जानकारहरुको धारणा छ । तर समितिले धाममा त्यस्तो नभएको भन्दै आएको छ ।




पर्यटकीय आकर्षणको केन्द्रविन्दु मानिने सो क्षेत्रमा पर्यटक आकर्षण गर्न र व्यवस्थापनका लागि विशेष किसिमका भौतिक पूर्वाधार निर्माण र बन्दोबस्त हुन सकेको छैन । त्यहाँका मन्दिरहरुमा चढाएको भेटी तथा गाई बिक्रीको आम्दानीको विश्वासिलो र पारदर्शी तवरबाट अभिलेख राखेको पाइँदैन । धाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले बितेको तीन वर्षयता धाम विकास समितिले त्यहाँका गाई बिक्रीबाट ७७ हजार रुपैयाँ आम्दानी भएको बताए। उनले त्यहाँका गाई सस्तो मूल्यमा बेच्न समिति बाध्य रहेको पनि बताए । उनले केही वर्षअघि यस क्षेत्रमा रहेका गाईमा रेविज रोगको आशंका भएपछि खोप कार्यक्रम नै सञ्चालन गर्नु परेको बताए। धाम आसपासका सामुदायिक बन क्षेत्रमा खुल्ला चरिचरन भएकोले स्थानीयवाट चरिचरनका लागि छोडेका चौपयासँग मिसिएर जाने गर्नाले धामका गाईहरु हराउँदै गएको सुव्वाले जनाए ।




Comments