नयाँ वस्तीमा १७ बर्षदेखिको पुरानै समस्या




विष्णु पौडेल, दमक।
लखनपुर
५७ बर्षिया देवी कोइरालालाई १७ बर्षअघिको भदौ महिनामा मध्यरातको मस्त निन्द्रा एक्कासी टुटेको त्यो क्षणले अहिले पनि मन अमिलो बनाउँछ । लखनपुर र कोहोवराको सीमा क्षेत्र बालुवथान भन्ने गाउँमा थियो कोइराला परिवारको बास । चार भाई छोरा र दुई जोईपोई समेत ६ जनाको परिवार सुतिरहेका बेला एक्कासी मध्यरातमा होहल्ला उठ्यो । एकाएक भागदौड मच्चियो । रतुवा खोलामा भदौरे झरीसँगै रात परेपछि बढेको पानीको सतह गाउँमा पसिसकेको थियो ।
'निन्द्रैमा घरै पो हल्लियो कि के भयो भयो, हामी सबै गुहार माग्दै त्यहाँबाट भाग्यौं', रतुवा खोलाको कटानले विस्थापित भएपछि १७ बर्षदेखि लखनपुर १ मा पर्ने पूर्वपश्चिम राजमार्गबाट झण्डै दुई-तीन सय मिटर उत्तरको नयाँ वस्तीमा बस्दै आएकी कोइराला भन्छिन्, 'कसैले घरको छानो उक्कायौं, कसैले गाई बाच्छाको दाम्लो काट्यौं त्यो दिन सम्झिन पनि मन लाग्दैन ।' सानो तिनो बास बस्ने झुप्रोसँगै केही खनी खोस्री गरेर सागपात खाने पाखो बारीपनि थियो त्यहाँ । तर एकै रातमा त्यो सबै आँखै अगाडी खोलामा परिणत भएको दृश्यले कोइराला परिवारको आँखा बेलाबेला रसाएर आउँछ ।


५५ बर्षिय हरीलाल माझीको परिवार पनि त्यही सुकुम्बासी बस्तीमा बस्न थालेको १७ बर्ष पुग्यो । दुई छोरा र एक छोरी लिएर श्रीमतीसहित माझी यो वस्तीमा आउँदाको पीडा कहन नसक्ने गरिको छ । पुरानो घर लखनपुर- ५ बाट रतुवा खोलाकै कारण विस्थापित भएपछि मध्यरातमा घरबाट लिएर निस्किएका हाँडाभाँडासहितको पोको पन्तेरो माझी परिवारले पनि यही बस्तीमा विसाएको हो । 'पहिले त झर्का स्कुलमा बस्यौं पछि सिडीओहरु सबैले अहिले यहीँ बस्दै गर्नु भनेर दोखाइदिनु भयो त्यही भएर यहाँ बस्दैछौं', कोइराला र माझी परिवारजस्तै विस्थापीत भएपछि एउटै टोलमा बस्दै आएकी अगुवा महिला नरमाया माझी भन्छिन् । उनका अनुसार त्यो बेला रतुवाको कटानका कारण विस्थापीत भएका मध्ये ५४ घर धुरी परिवार पाडाजुँगी उत्तर तर्फको रतुवामाई वृक्षारोपण आयोजनाको खाली जमिनमा आएर बसेका हुन् । माझी भन्छिन्, 'हामी यहाँ मनखुशीले आएर बसेका होइनौं, हाम्रो टाउको लुकाउने ठाउँ नै नभएपछि खोलाले सर्वस्व सबै लगेपछि त्यसबेला सिडीओसाव, गाविसका अध्यक्ष सबैले यहाँ बस्नु भनेर देखाएपछि बसेका हौं ।' त्यसबेला आएर बास बस्ने ठाउँ देखाइदिनेहरु यतिबेला प्रायः कोही पनि आउदैनन् त्यो बस्तीमा । त्यही विस्थापित परिवारका छोराछोरी हुर्किँदै बढ्दै गएपछि कोही कोही छुट्टिएका पनि छन् । घर धुरी बढिरहेकै छन् । यो वस्तीको नामाकरण पनि नयाँ वस्ती आफैं आफैं बन्दै गयो । तर यो नयाँ बस्तीको परिचय न कहिल्यै बदलियो न १७ बर्षदेखिको समस्या नै सुल्झियो ।



खाली जमिनमा झुप्रो हालेका र साग सब्जी लगाउने भुईं अहिलेसम्म ती परिवारको स्वामित्वमा आउन सकेको छैन । वन क्षेत्रलाई संरक्षण गर्नुपर्छ भन्ने मान्यता ती विस्थापित परिवारले पनि राखेका छन्। नरमाया भन्छिन्, 'विस्थापित परिवारले पहिलेको भन्दा अलिकति पनि भुईं बढाएर वनको जग्गा अतिक्रमण गरेका छैनन् । तत्कालिन सरकारका स्थानीय प्रतिनिधिले बाढी विस्थापित ती परिवारलाई बस्दै गर्नु भनेर देखाई दिएको यो जग्गाको स्वामित्व नपाएकै कारण अपहेलित र तिरस्कृत हुनु परिरहेको पीडितहरु बताउँछन् । 'सुकुम्बासी हुन् भनेर जसले पनि यो गाउँलाई नै हियाएर बोल्छन', त्यही नयाँ बस्तीमा सर्वसाधारण टोलबासी भेला हुने गरी बनाइएको सानो कटेरोमा भेला भएका अर्का स्थानीय एक बृद्धले भने ।
यो बस्ती बसेदेखि स्थानीय निकायको त चुनाव भएको छैन तर वर्गीय मुक्तिका लागि भन्दै माओवादीले गरेको हतियार युद्ध सकिएको पनि ८ बर्ष भयो, वाढी विस्थापीत यी परिवारको मुक्ति भएको छैन । हातमा टेक्ने भुइँ नभएको जग्गाको लालपूर्जा कसैकसैले बोकेका त होलान् तर खोलो कुदिरहेको त्यो जग्गाको पूर्जा कागजी खोस्टो बराबर मात्रै भएको छ । कसैकसैको त पूर्जा पनि बनेको थिएन । ऐलानी झोडामा बस्दै आएका उनीहरुले जग्गाको मालिक बन्ने सपना मात्रै देखिरहेका छन् ।



संविधान बनाउनकै लागि भनेर गरिएका दुई दुई वटा निर्वाचनमा मत खसालेका बाढी पिडीत परिवारको आशा संधै एकप्रति धनीपूर्जा पनि पाइएला कि भन्ने नै थियो । तर अझै सम्म सुकुम्बासी परिचयपत्र बाहेक अरु केही पाउन सकेका छैनन्। उनीहरुको एउटै आवाज छ, 'धेरै दुःखजेलो गरियो अब यही जग्गाको धनीपूर्जा पाइयोस् ।'
राज्यका हरेक नागरिकलाई गाँस वास र कपासको न्युनतम आवश्यकता पुरा गर्ने बन्दोबस्त मिलाइदिनु राज्यको कर्तव्य हो । वाढी पिडीत यी परिवारले न त भात मागेका छन् न लत्ता कपडा नै । रोजीरोटी गरेर आफैं जिवीकोपार्जन गर्दै आएका यी वाढी विस्थापीतहरुलाई टाउको लुकाउने सम्मको
छहारी हाल्ने जग्गाको बन्दोबस्ती कानुनी रुपमै गरिदिनु आवश्यक देखिन्छ ।

Comments