तेज बन विश्वासी,
२८ सुनसरी, असोज ।
लाखौं लगानी गरेर सडकमा गुडाउनको निमित्त ल्याइएको तीन पांग्रे सिटी सफारीलाई पटक पटक ट्राफिकले पक्राउ गर्न थालेपछि इटहरीका सिटी सफारी मजदुरहरु मंगलवारदेखि आन्दोलित बनेका छन् ।
ब्याट्रीबाट चल्ने सफारीलाई स्थानीय निकायमा दर्ता गरेपछि मात्र सञ्चालन गर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले सोमबार र मङ्गलवार गरी १ दर्जन बढी सफारीहरु पक्राउ गरी कार्यालय परिषदमा थन्काएपछि सफारी मजदुरहरु सफारी दर्ताको माग गर्दै आन्दोलित बनेका हुन्।
आन्दोलन अन्तरगत सिटी सफारी मजदुरहरुले मंगलवार आयोजना गरेको १ घन्टाको चक्काजाम प्रहरी सक्रियताका कारण बिफल बनेको छ ।
मंगलवार दिनभरी बन्दको आयोजना गर्ने भनी माइकिङ्ग गरेका सफारी मजदुरहरुको बन्द कार्यक्रमलाई इलाका प्रहरी कार्यालय इटहरीबाट निस्किएको प्रहरी टोलीले बिफल बनाइदिएको हो ।
सफारीका मजदुरहरु सडकमा उत्रनुअगावै बाक्लो रुपमा प्रहरी तैनाथ भएपछि मजदुर र प्रहरीबीच केही क्षण बिवाद उत्पन्न भएको थियो ।
आन्दोलन अन्तरगत सफारी मजदुरहरुले बुधवार २ देखि ४ बजेसम्म र बिहिवार १ बजेदेखि ३ बजेसम्म इटहरीमा चक्काजाम गर्ने घोषणा गरेका छन् ।
अटो रिक्साको रुपमा पूर्वाञ्चलभरी सञ्चालन भइरहेको सिटी सफारी दर्ताको माग गर्दै व्यवसायी तथा मजदुरहरुले पटक पटक आन्दोलन गर्दै आइरहेका छन् ।
सुरुमा इटहरी नगरपालिकाले दर्ता गर्ने क्रममा ६३ वटा सफारी दर्ता गरिदिएको र पछि यातायात मन्त्रालयबाट आएको पत्र देखाउँदै दर्ता गर्न नमिल्ने बताएपछि आफुहरु मारमा परेको सफारी मजदुरहरुले बताएका छन् ।
यता बिना नम्बरप्लेट र स्थानीय निकायमा दर्तै नगरी सडकमा गुडिरहेका कारण सफारीहरु नियन्त्रणमा लिइएको पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख एसपी नरबहादुर केसीले बताए ।
नगरपालिकाबाट दर्ता भई सञ्चालनमा आएका सफारीहरु सडकमा गुडिरहँदा दर्ता नभएका सफारी मजदुरहरु भने टुलुटुलु हेरेर बस्न बाध्य छन् ।
Comments
Post a Comment