ट्वाइलेटमा विद्यार्थी थुनिएर मरेको घटनाले छोयो अनि बन्यो कखरा




डिकेश लामा झापा दमकमा रहेर दशकयता पत्रकारिता, कलाकारिता र साहित्य क्षेत्रमा क्रियाशील उदीयमान प्रतिभाको नाम हो । दमकमा लामो समय क्रियाशील रहेका लामा हाल सञ्चार तथा कलाकारितासम्बन्धी समेत अध्ययन र अभ्यासका लागि काठमाडौंमा समेत रहँदै आएका छन् । पछिल्लो समय लामाले डकुमेन्ट्री चलचित्रमा निर्देशन समेत गरेका छन् । निर्देशक लामाले निर्देशन गरेको पछिल्लो डकुमेन्ट्री चलचित्र कखरा हो । सो डकुमेन्ट्रीको छायांकन तथा सम्पादन लगायतका सम्पूर्ण काम पुरा भई छिट्टै प्रदर्शनमा ल्याउन लागिएको छ । सोही सन्दर्भमा लामासँग गरिएको कुराकारी -




तपाईको परिचय बदलिँदै गएको हो ? पहिले पत्रकार, साहित्यकार अहिले निर्देशक ?
होइन, म पत्रकार नै हुँ । एउटा असल पत्रकारको परिचय बनाउने प्रयासमा छु । एउटा सफल तथा कुशल पत्रकार बन्न हरेक विद्याको ज्ञान हुन आवश्यक छ । डकुमेन्ट्री लेखन तथा निर्देशन अनि पुस्तक प्रकाशन पनि आम संचार माध्यमका उत्पादन बस्तु नै हुन् । त्यसैले यो पत्रकारितासँग सम्बन्धित विषय हो । मेरो आफ्नो परिचय पत्रकार र निर्देशक दुवैमा स्थापित गर्न चाहन्छु ।

किन लाग्नु भयो कलाकरितामा ?
पत्रकारको कार्य समाजलाई सचेत गर्नु हो अर्थात् पत्रकार समाजका रखवाला हुन् भनिन्छ । पत्रकारिताको उद्देश्य पनि समाजमा सकरात्मक भूमिका खोज्नु अनि डकुमेन्ट्री वा फिल्मको काम पनि वास्तवमा भन्ने हो भने सूचना, मनोरञ्जन र ज्ञान वा सन्देश नै हो । तसर्थ उद्देश्य एकै भएकाले एउटै विटमा रहन चाहेको हो ।

कखरा कस्तो डकुमेन्ट्री हो ?
यो एउटा अध्ययन, अनुसन्धान र सत्य घटनामा भएको बर्णनात्मक डकुमेन्ट्री हो । घटना भने विगत केही बर्षअघि काठमाण्डौंको एक विद्यालयमा दण्डको कारण कक्षा २ मा पढ्ने बाल विद्यार्थी चर्पीमा बन्द हुन पुग्छ । दशैंको छुट्टीको अन्तिम दिन थुनिएको विद्यार्थीले ज्यान गुमाएको घटनालाई प्रतिनिधि पात्रहरु राखेर बनाइएको डकुमेन्ट्री हो । सायद यो घटना धेरैले सुनेको हुनुपर्छ । मर्ने वेला त्यो कलिलो बालकले ........सर म अवदेखि सँधै होमवर्क गर्छु प्लिज मलाई ट्वाइलेटबाट निकालि दिनु न भनेर भित्ता लेखेको तस्वीर मैंले जव पाएँ । त्यो घटनाले मलाई छोयो सायद यो घटनाले हामी सवैलाई सचेत गराउँछ । अनि निर्माण भयो कखरा । बालबालिका माथि हाम्रो व्यवहार कस्तो हुनुपर्छ भनेर । यो अनुसन्धान र अध्ययनमा आधारित डकुमेन्ट्री हो जसका लागि हामीले पुस्तक, पत्रपत्रिका, विद्युतीय माध्यमबाट प्रसारित सामाग्री र शिक्षा तथा राजनैतिक अगुवाको सल्लाह र सुझाव, प्रतिवेदनको अध्ययनबाट निर्माण गरिएको छ ।

तपाईं कलाकारितालाई रहरको बनाउने कि व्यवसायिक ?
कलाकारितालाई रहरभन्दा पनि सामाजिक दायित्व सम्झेर कार्य गर्न मन लाग्छ । मैंले बनाएको प्रोडक्टले समाजलाई सकरात्मक सन्देश दिने होस् । यो व्यवसाय पनि हो । हेरौं गर्दै जाँदा कतै व्यवसायकै रुपमा पो स्थापित हुने हो कि ?

कखरा डकुमेन्ट्री प्रदर्शनको योजना कस्तो के छ ?
यो डकुमेन्ट्रीको मुख्य उद्देश्य भनेको शिक्षामा दण्ड हुनु हुँदैन भन्ने हो । त्यसैले यो सन्देशलाई देशभरका विद्यार्थी, शिक्षक र अभिभावकलाई एक पटक देखाउने प्रयत्न गर्दैछौं । जसको लागि शिक्षा विभागका जिम्मेवार पदाधिकारीबीच हाम्रो छलफल तथा अन्तकृया चलिरहेको छ । विभागको सहयोगमा हामी नेपालका ३४ हजार हाराहारीमा रहेका विद्यालयमा यो सन्देश पुर्‍याउन विद्यालय विद्यालयमा पुग्ने कार्यको तयारी छ । आगामी ७ गते दमकको पाथिभरा हलबाट प्रिमियर सो गरी फिल्म प्रदर्शन गर्ने कार्य शुरु गरिने छ ।





कलाकारीता क्षेत्रमा केही समस्या पनि छन कि ?
जहाँ कार्य हुन्छ त्यहाँ समस्या जरुर हुन्छ । समस्या विनाको कार्य त कार्यै हुँदैन भन्ने लाग्छ मलाई । कलाकारिता क्षेत्रमा विभिन्न खाले समस्याहरु छन् । जस्तो कि प्रविधि, अर्थ, क्षमता र अध्ययनको अभावमा हामीले अरुको सिको र भर नगरी काम गर्न सकिरहेको अवस्था छैन । जहाँ कि हामीले नै पनि त्यो समस्या भोगिरहेका छौं ।

यसको समाधानमा जिम्मेवारी कसको ?
जिम्मेवारी हाम्रै हो । हामीमा कम्जोरी छ, त्यो कम्जोरी मसँग पनि छ । कम्जोरीलाई चुनौतीको रुपमा नलिने हाम्रो बानीले राज्यको कलाकारितासम्बन्धी विनियमदेखि हाम्रो लगानी तथा क्षेत्रमा नै समस्या आएको छ । जसको समाधानको लागि अनुसन्धान र अध्ययनको आवश्यकता छ ।

अन्त्यमा ?
अन्त्यमा मेरो लेखन र निर्देशनमा बनेको यो बर्णनात्मक डकुमेन्ट्रीमा मैले दण्डहीन शिक्षामा राज्य, अभिभावक, शिक्षक तथा विद्यार्थी स्वयम्को भूमिका कस्तो हुनु पर्छ, दण्डको प्रभाव बाल मानसिकतामा कस्तो हुन्छ भन्ने कुरालाई देखाउन खोजेको छु जसका लागि काल्पनिक कथा नलिई घटनालाई लिइएको छ । घटना वास्तविक हो तर पात्रहरु भने प्रतिनिधिमात्र हुन् । यो सन्देशलाई देश भर पुर्‍याउन सवैमा अनुरोध गर्दछु।
एक पटक दमक नगरबासीहरुलाई यो साझा सन्देश हेर्न हामी यसमा कार्यरत सम्पूर्ण पत्रकार, कलाकारहरुको टीमबाट आग्रह गर्दछौं ।



Comments