अफ्रिकना युनाइटेडले जित्यो दमक गोल्डकपको उपाधि




१ कार्तिक, दमक।
झापाको दमकमा सम्पन्न अन्तराष्ट्रिय आमन्त्रण दोश्रो दमक गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि अफ्रिकन यूनाइटेडले जितेको छ । प्रतियोगिताको शनिवार सम्पन्न फाइनल खेलमा फेन्स क्लब भुटानलाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै अफ्रिकनले उपाधिमाथि कब्जा जमाएको हो ।
अफ्रिकनको जितमा दोश्रो हाफको तेश्रो मिनेटमा जोकोले गरेको गोल नै निर्णायक बन्न पुग्यो । खेलमा दुवै टोलीका एक एक खेलाडीलाई रेफ्रिले रातो कार्ड देखाएका थिए । दोश्रो हाफको ३५ औं मिनेटमा अफ्रिकन यूनाइटेडका एल्विस र इन्जुरी समयमा फेन्स क्लबका यूगलकिशोर राईले रातो कार्ड खाँदै मैदान वाहिरिनुपरेको थियो । पहेंलो कार्डको समेत वर्षा भएको खेलमा अफ्रिकनका ४ र फेन्सका ३ खेलाडीले पहेंलो कार्ड खाएका थिए ।





जितसँगै अफ्रिकन यूनाइटेडले नगद एक लाख रूपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेतामा चित्त बुझाएको फेन्स क्लब भुटानले नगद ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
दुवै टोलीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब यूवराज लामाले पुरस्कार वितरण गरे । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी फेन्स क्लब भुटानका दिनेश कार्की, उत्कृष्ट गोल किपर अफ्रिकन यूनाइटेडका विनय श्रेष्ठ र हाई स्कोरर मेची फुटबल क्लबका विसाल राई ए घोषित भए । उनीहरुले जनही नगद २५ सय रूपैयाँसँगै मेडल र प्रमाण पत्र प्राप्त गरे ।
दमक फुटबल क्लबको अयोजनामा असोज २५ गतेबाट सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।

फोटो - दमक गोल्डकपको उपाधिका साथ अफ्रिकन यूनाइटेड क्लबका खेलाडीहरू ।



Comments