सीमा क्षेत्रबाट जडिबुटी र वन्यजन्तुको चोरी निकाशी बढ्दै





सन्देश सुब्बा इङ्वा,
८ कार्तिक, पाँचथर।
पूर्वी नेपालको पाँचथर जिल्लाको सीमा क्षेत्रबाट अवैध रुपमा वन्यजन्तु र जडिबुटीको चोरी निकाशी हुने क्रम बढेको छ । भारतको पश्चिम बङ्गालसँग सीमा जोडिएको पाँचथरका उत्तरपूर्वी गाविसहरुमा कमजोर सुरक्षा व्यवस्थाको मौका छोपी तस्करहरुले करोडौं रुपैयाँको जडिबुटी र दुर्लभ वन्यजन्तुको चोरी निकासी गर्दै आएको स्थानीयबासीले बताएका छन् ।





पाँचथर जिल्लाको सीमावर्ती गाविसहरु च्याङ्थापु, फलैंचा, प्राङबुङ् र सिदिन लगायतका क्षेत्रमा खुल्ला सीमा नाका भएकै कारण तस्करहरुले यी नाकाहरुलाई वन्यजन्तु र जडिबुटी निकासीका लागि प्रयोग गर्ने गरेका छन् । उनीहरुले यस क्षेत्रका बहुमूल्य जडिबुटी र दुर्लभ वन्यजन्तु भारतको सिक्किम र चीनतर्फ निकाशी गर्ने गरेको च्याङथापुका स्थानीय बासिन्दा तथा संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष मचिन्द्र प्रसाद बेघा बताउँछन् ।
नेपाल सरकारले खुल्ला सीमा क्षेत्रमा उचित सुरक्षा व्यवस्था नगर्दा यस क्षेत्रमा पाइने पाँचऔंले, पाखनवेद, चिराइतो, बिख्मा जस्ता जडिबुटी र रेडपाण्डा लगायतका दुर्लभ जंगली जनावरको चोरी निकाशी बढेको हो । स्थानीयबासीका अनुसार अध्ययन, अनुसन्धान गर्ने नाममा र पर्यटकको भेषमा तस्करहरुले अनाधिकृत रुपमा जडिबुटीको निर्यात गर्ने गरेका हुन् । सीमा क्षेत्रको सुरक्षाका लागि जनपद प्रहरी मात्रले पर्याप्त नभएको भन्दै सशस्त्र प्रहरीको व्यवस्था गरिनुपर्ने च्याङ्थापुका स्थानीय ब्यापारी श्याम वेघाको भनाई छ। त्यसको लागि आफूहरुले पटक पटक सम्बन्धीत निकाय र राजनीति दलहरुसँग माग गरे पनि हालसम्म सुनुवाई नभएको बेघाले बताए ।




यता सुरक्षा निकाय स्वयंमले सीमा क्षेत्रमा नियमित गस्ति हुने गरे पनि जनशक्तिको अभावमा त्यो पर्याप्त नभएको स्वीकार गरेको छ । 'त्यसबाहेक सीमा क्षेत्रको भौगोलिक कठिनाइका कारण पनि समग्र सुरक्षा कमजोरी हुने गरेको छ', च्याङ्थापु सीमा प्रहरी चौकीका प्रमुख दिनेश प्रसाद यादबले बताए । यद्यपि आफूहरुले सीमा क्षेत्रका नागरिकलाई सक्दो सुरक्षा दिन कुनै कसुर बाँकी नराखेको यादवले जिकिर गरे ।
बहुमूल्य जडिबुटी र दुर्लभ जंगली जनावरको चोरी निकाशीले निरन्तरता पाउँदा सरकारको राजश्वमा घाटा त भएको छ नै, खुल्ला नाकाको प्रयोग गरेर चोरीनिकासी गर्ने तस्करहरुको संख्या पनि बढेको स्थानीयबासीको भनाई छ । यस किसिमका गलत क्रियाकलापको नियन्त्रणका लागि स्थानीय नागरिक मात्र चनाखो भएर नपुग्ने भएकोले राज्यस्तरबाटै विशेष किसिमको सुरक्षा रणनीति अपनाउन आवश्यक रहेको स्थानीयबासीको भनाई छ ।


Comments