'हाम्रो उद्देश्य हो - पढन संस्कृतिको विकास गर्नु'






पछिल्लो समय नेपाली युवा समुदायमा पठन संस्कृतिको विकास हुँदै गइरहेको छ । युवा लक्षित पुस्तक प्रकाशनमा आउनुलाई पनि यसको कारकत्वका रुपमा हेर्ने गरिन्छ ।
वढ्दै गएको पठन संस्कृतिसँगै मोरङ उर्लावारीका सक्रिय युवाहरुको समूह भिजन फाउन्डेसन नेपाल उर्लावारीले पुस्तकालय स्थापना गरेर पुस्तक र पाठकबीचको दुरीलाई घटाउन सहयोग गरेको छ । स्थानीय स्तरमा सामाजिक कार्यहरु गर्दै आएको यस संस्थाले समाजमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।

दरिलो इच्छा शक्ति, अठोट्का साथ समाजप्रतिको उक्तरदायित्वलाई आत्मसाथ गर्दै आएको भिजनले मेरो उर्लावारी डटकम नामक वेवसाइट संचालनमा ल्याएर उर्लावारी आसपासका घट्नाहरुलाई देशविदेशमा रहेको नेपालीहरुमा माझ पुर्‍याउँदै आएको छ भने यस संस्थाले केही दिनअघि मात्र शिक्षा मन्त्री चित्रलेखा यादवको हातबाट उद्धाटन गरी पुस्तकालयलाई औपचारीक रुपमा संचालनमा ल्याएको छ । पुस्तकालय स्थापनामा ल्याउनुको मुख्य कारण र यसका भावी योजनाबारे पुस्तकलयका संयोजक तथा भिजन फाउन्डेशन उर्लावारीका उपाध्यक्ष समेत रहेका सुमन राईसँग गरिएको कुराकानीको केही अंशहरु -

पुस्तकालय स्थापनामा ल्याउनुको मुख्य उद्देश्य के होला ?
पाठक र पुस्तक बिचको दुरीलाई कम गर्दै पढ्ने बानीको बिकास गर्न र शिक्षित समाजको निर्माणमा टेवा पुर्‍याउनु नै यस पुस्तकालयको मुख्य उद्देश्य रहेको छ । यसका अलवा देशभरी रहेका पुस्तकालयहरु मध्येबाट यस पुस्तकालयलाई नमूनाको रुपमा विकास गर्दै उलावारीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म चिनाउन रहेको छ । अन्य उद्देश्यका बारेमा भन्नुपर्दा सहज रुपमा आवश्यक पुस्तकको मागलाई पूर्ति गर्दै पढ्ने वातावरण सिर्जाना गर्नु रहेको छ ।



पुस्तकालय संचालनमा हालसम्म कति रकम खर्च भयो ? यसका स्रोतहरु के हुन् ?
हालसम्म ६ लाख रुपैयाँ खर्च भइसकेको छ । अझै पुस्तकहरुको आवश्यकता परेको हुँदा खर्च बढ्न सक्ने अनुमान गरेका छौं । शिक्षा मन्त्री चित्रलेखा यादवले पनि केही पुस्ताक सहयोग गर्ने बचन दिनभएको छ । आम्दानीका स्रोतका बारेमा भन्नुपर्दा उर्लावारी हङकङ समाजलगायत अन्य विदेशी तथा स्वदेशी व्यक्ति तथा संस्थाहरुको सहयोग रहेको छ ।

पुस्तकालय संचालन समितिको बनोटको बारेमा केही बताइ दिनुहोस् न ।
संचालन समितिको बारेमा भन्नुपर्दा हामीले उर्लावारी क्षेत्रका समाजसेवी जयधर्म आर्चाय, शिक्षासेवी केशव राई साथै साहित्य क्षेत्रका हस्तीका रुपमा परिचित बैजयन्ती मिश्रलगायत अन्य व्यक्तिहरुलाई समायोजन गरी समावेश गरेका छौं । आशा छ उहाँहरुले यस पुस्तकालयको सफलताका लागि आफ्नो तर्फबाट भरपुर मद्दत गर्नुहुनेछ ।

पुस्तकालय निरन्तरताका लागि कस्ता योजनाहरु रहेका छन् ?
मेरो विचारमा निरन्तरता भन्ने कुरा संस्थाको चलायमानमा भरपर्ने कुरा हो । हामीसँग आर्थिक सहयोग गर्ने सहयोगदाताहरु हुनहुन्छ । यसका अलवा पनि हामी संस्थाका सबै सदस्य यसको निरन्तरताका लागि आफ्नो क्षमताले भ्याएसम्म लागिपर्ने छौं ।





देशभित्र थुप्रै पुस्तकालयहरु संचालनमा रहेका छन् । अन्य पुस्तकालय र यसमा के भिन्नता रहेको छ ?
हामीले पुस्तकालयलाई सकेसम्म शान्त वातावरणमा स्थापना गरेका छौं, जहाँ बसेर पढ्न सहज हुने हामीले आशा राखेका छौं। हामीसँग इ-लाइब्रेरीको पनि व्यवस्था रहेको हुँदा पढ्न चाहेको कुरा पढ्न सहज हुनेछ, जुन अन्य पुस्तकालयहरु पाउन कठिन छ ।

पुस्तक पढ्न सर्वसाधारणले के गर्नुपर्छ ?
पुस्तकालयमै बसेर पढ्न चाहनेहरुले केही गर्नु पर्दैन तर घर लगेर पढ्न इच्छा हुनेहरुले भने यस पुस्तकालयको सदस्यता लिनुपर्दछ, जसका लागि हामीले ५ सय रूपैयाँ सदस्यता वापतको रकम तोकेका छौं ।

पुस्तकालयको भावी योजनाहरु के रहेका छन् ?
भावी योजनाका बारेमा भन्नुपर्दा हाल भाडाको घरमा हामीले पुस्तकालय स्थापनामा ल्याएको कारणले आगामी एक वर्षभित्र पुस्तकालयको आफ्नै भवनको लागि भवनको शिलान्याश गर्ने र पुस्तकालयको सेवा सुविधामा थप गर्दै लैजाने रहेको छ।

अन्त्यमा केही छन् कि ?
हामी युवाहरु मिलेर समाजप्रति केही गरुँ भन्ने उद्देश्यले पुस्तकालय संचालनमा ल्याएका छौं । हाम्रो यो अभियानमा सदैव तपाईंहरुको आवश्यकता पर्दछ । त्यसैले तपाईंहरुको साथ र सहयोगको अपेक्षा गर्दै सबैलाई पुस्तकालय गएर पुस्तक पढीदिन पनि आग्रह गर्दछु।

प्रस्तुति - किसोर श्रेष्ठ




Comments