समस्या बन्दै अव्यवस्थित रुपमा विकसित भइरहेको प्लटिङ

-->

GOVINDA POKREL
गोविन्द पोख्रेल, उर्लाबारी।
तीव्र रुपमा विकसित भइरहेको घडेरी प्लटिङका नकरात्मक पक्षहरुका बारेमा स्वयम् घडेरी व्यापारीहरु अनविज्ञ नै रहेका हुन् या उनीहरु अनविज्ञताको अभिनय गरिरहेका छन् । खेतीयोग्य जमीनलाई घडेरीका लागि प्लटिङ गर्नाले विकास चाँडो हुन्छ भन्ने भ्रम चिर्नु अति नै जरूरी दिएको छ ।
अव्यवस्थित रुपमा गरिएको घडेरी प्लटिङले वातावरणमा कत्तिको असर पुर्‍याइरहेको छ, यो सबैले जान्नु बुझ्नु जरुरी रहेको छ । पैसाका लागि मरिमेट्ने घडेरी व्यपारीहरुले उब्जनी हुने जमीनमा जथाभावी रुपमा घडेरी प्लटिङ गरिरहेका छन् । जसले गर्दा निकट भविष्यमै खाद्यान्न संकट निम्तिने निश्चितप्रायः छ छ नै, यसले वातावरणीय असन्तुलन समेत निम्त्याएको छ ।
हुन पनि बढ्दो जनघनत्वका लागि उचित बासस्थानको आवश्यकता पनि परेको छ र यही कारणले गर्दा घडेरी व्यवसाय अहिले व्यापक रुपमा फस्टाइरहेको छ । तर, अन्नउब्जनी हुने जमीनमा नै घर बसाल्न थाल्ने हो यसले भावी दिनहरूमा अवश्यम्भावी रूपमा खाद्यान्न संकट निम्त्याउनेछ भने वातावरणलाई समेत दीर्घकालीन नकारात्मक असर पुर्‍याउनेछ ।
-->

PLOTTING
हामीले जमीनलाई आजको फाइदाको रुपमा मात्र हेर्नु हुँदैन, भावी सन्ततिहरुका लागि पनि सम्हाल्न सक्नुपर्छ । आफैं कल्पना गर्नुहोस् त, यदि अन्न रोप्ने खेतलाई घडेरीकरण गरियो भने यसले कस्तो असर पुर्याउँछ ? एक दशक पनि भएको छैन एक केजी चामललाई १० रुपैयाँ तिर्ने गरेको तर अहिले हामी त्यही चामललाई ६० रुपैयाँ हालेर किन्न बाध्य छौँ । यस किसिमको वृद्धिदरलाई सरल भाषामा महंगी भन्छौँ हामी।


अहिले विश्वमा जताततै महंगी र आर्थिक संकट परेको छ, यो तीव्र रुपमा विकसित भइरहेको सहरीकरण र बढ्दो जनसंख्या वृद्धिदरको पनि प्रभाव हो। यही चरम महंगी र आर्थिक संकटले जीवनस्तरलाई कष्टकर बनाउँदैछ भने अर्कोतर्फ चार्ल्स डार्विनले भने झैँ 'बाँच्नका लागि संघर्ष' अर्थात् जो यो संसारमा धेरै मिहिनेत गर्छ त्यसको अस्तित्व सम्भव छ र जसले मिहिनेत गर्दैन त्यसको मृत्यु निश्चित छ । यसलाई यसरी पनि बुफ्न सकिन्छ कि अहिलेको आधुनिक युगमा जसले कडा परिश्रम गर्छ उसले सजिलै जीवन जिउन सक्छ र नगर्ने गरिवीमा बाँच्न बाध्य हुन्छ ।
सहरीकरणका लागि घडेरी प्लटिङ गर्ने गरिन्छ यो मान्यता सबैलाई थाहा भएकै हो तर अन्न उब्जनी हुने जमीनलाई नै सहरीकरण गर्न खोजियो भने यसले वातावरणलाई नकारात्मक असर पुर्‍याउँछ । वैज्ञानिक मान्यता अनुसार घडेरी प्लटिङ त्यस्तो ठाउँमा गर्न उपयुक्त मानिन्छ, जहाँ अन्न उब्जनी हुँदैन र जमीन खेर गइरहेको छ । तर हाम्रो देशमा चाहि ठ्याक्कै उल्टो छ । अन्न भण्डारका रुपमा लिइने तराई क्षेत्रका खेतीयोग्य जमीनमा तीव्र रुपमा घडेरीकरण भइरहेको छ ।
जनसङ्ख्या वृद्धिले गर्दा मागहरु बढ्छन् तर माग अनुसारको अपूर्ति नहुनाले मानिस जस्तोसुकै पनि मूल्य तिरेर भएपनि आफ्नो आवश्यकतालाई पूरा गर्नतर्फ लाग्दछ । भनिन्छ, हाम्रो देश नेपालका करिब ६० प्रतिशत मानिसहरु कृषि पेशामा अबद्ध छन् तर पनि देशका सवै जनतालाई पुग्ने अन्न उब्जाउन उनीहरू सक्षम छैनन् । देशभित्रै पर्याप्त खाद्यान्न उत्पादन नहुँदा विदेशबाट खरबौं रूपैयाँको खाद्य पदार्थ आयात गर्न हामी वाध्य छौं । केही बर्ष अघिसम्म हामीले यतिधेरै खाद्यान्न आयत गर्नु परेको थिएन तर आज छँदाछँदैको उर्वर भूमिलाई पैसाको प्रलोभनमा परी भू-माफियाहरुलाई बेचिरहेका छौँ ।
यदि हामीले धान फलाउने जमीनलाई घडेरीको रूपमा परिवर्तन गर्ने कार्यलाई प्रोत्साहन गरेका थिएनौँ भने आजको यो दिन देख्नु पर्ने थिएन । हामीले आजको फाइदालाई मात्र हेरेर पुग्दैन, भविष्यलाई पनि मनन् गर्न सक्नुपर्छ । यदि उर्वर भूमि तराईमा जताततै सहरीकरण गर्न खोजिए हामीले कुनै दिन शतप्रतिशत खाद्यान्न आयात गर्नुपर्ने दिन नआउला भन्न सकिन्न । यदि त्यसो भएमा हाम्रो देशमा अवश्य 'भोकमारी'ले राज गर्नेछ ।
-->

महंगी बढ्नुको कारण अन्न उत्पादन हुने जमीन थोरै, अन्नको माग धेरै हुनु पनि एक हो । सबैलाई थाहा भएकै कुरा न हो, कृषकले अन्न उब्जाएर अन्य विविध पेशा अँगालेका मानिसहरुको पेटमा चारो हालिदिने काम गर्छ । त्यही भएर पनि कृषक सबैको अन्नदाताको रुपमा चिनिएको छ । तर तिनै कृषकहरू माग अनुसारको अपूर्ति गर्नका लागि आफ्नो सिमित जमीनमा अन्न उत्पादनका क्रममा विभिन्न हानिकारक रसायन र विषादीको प्रयोग गर्न बाध्य हुन्छन् । यसो गर्दा उत्पादन त बढ्ला, हाम्रो शरीरसमेत विषालु र हानीकारक रसायनहरूको घर बन्न पुग्छ ।
यो समस्या अहिले देशभरमा छ । अहिले अत्याधिक रुपमा कृषि उपजहरूमा विषालु र हानीकारक रसायनहरूको प्रयोग हुने गरेको विभिन्न अध्ययन तथा अनुसान्धानले देखाएको छ । त्यसको मुख्य कारण हो, थोरै जमीनबाट धेरै उत्पादन लिन खोज्नु । त्यही भएर जमीनलाई दुरूपयोग होइन सदुपयोग गर्न जरुरी रहेको छ ।
पहाडी भेगमा तराई भेगमा भन्दा कम रुपमा अन्न उब्जनी हुने गरेको छ भने त्यहाँ खेर गइरहेको जमीन पनि प्रशस्तै मात्रामा छन् । त्यस्ता ठाउँमा सहरीकरण गर्न उपयुक्त मानिन्छ ।
जहाँ खेती गर्नुपर्ने हो त्यहाँ प्लटिङ गरिन्छ र जहाँ प्लटिङ गर्नुपर्ने हो त्यहाँ खेती गरिन्छ । त्यही भएर पनि हामीले आजका दिनसम्म प्रगति गर्न सकिरहेका छैनौँ । विकसित देशहरूमा खेतीयोग्य जमीन थोरै भएपनि त्यसको भरपूर सदुपयोग गर्दै उनीहरूले पर्याप्त मात्रामा खाद्यान्न उत्पादन गर्ने गरेका छन् ।
हुन पनि हो कुनै पनि कुराको स्वरुप बदलिने किसिमको कार्य नै परिवर्तन हो, चाहे त्यसको प्रभाव नकारात्मक नै किन नहोस् । नेपाली समाजमा भौतिक रुपका संरचनाहरु निर्माण हुनुलाई नै विकासको प्रमुख अंगका रुपमा लिएको पाइन्छ । विचरा ! निर्दोष मानिसहरुलाई के थाहा यही भौतिक संरचना निर्माण गर्नका लागि सधैँभरी लाखौँ रुपैयाँ दिलाउन सक्ने उर्वर जमीन भू-माफियाको प्रलोभनमा परी मासिँदै गएको सबैले बुझ्न जरुरी छ ।
सरकारले उर्वरभूमि विनाशलाई रोक्नका लागि कडा कानूनको व्यवस्था ल्याउन जरुरी रहेको छ । विशेष गरी सरकारले उब्जनी हुने जमीनलाई घडेरी प्लटिङ गर्न खोज्नेलाई कारवाहीको दायरमा ल्याउन सके वातावरण संरक्षणमा टेवा पुग्नेछ भने अर्कोतर्फ विभिन्न प्राकृतिक प्रकोपको भय पनि कम हुनेछ । यस्तै घडेरी प्लटिङको सट्टामा घडेरी व्यापारीहरुले 'ग्रुप हाउजिङ' गर्न सक्छन् । गुप्र हाउजीङमा एउटा ठूलो धेरै तल्लाको घरको निर्माण गरिन्छ र त्यहाँका प्रत्येक फ्ल्याटमा एक परिवार बस्न सक्छन् जसले गर्दा थोरै जमीनमा पनि धेरै परिवारहरु सजिलै बस्न सक्छन् । यो प्रणाली अहिले राजधानीलगायत पोखरा, विराटनगर आदि देशका अन्य सहरहरुमा थालनी भैसकेको छ । आजैबाट हामीले जमीनको सदुपयोग गरेर यो धर्तीलाई जोगाउने कि पैसाको प्रलोभनमा परी उब्जनी हुने जमीनलाई भू-माफियाहरुको हात लाग्न दिने यो कुराको निर्क्योल गर्न अति नै जरूरी भइसकेको छ ।

(लेखक बिएस्सी अध्ययनरत हुन्।)

-->

Comments