खोई कहाँ छ बालअधिकार ? शिक्षाको उज्यालो घामबाट बालबालिकाहरु अझै बञ्चित




नरेन्द्र बस्नेत, मोरङ।
मोरङको बयरबन ९ का १३ बर्षीय बालक दिपेश लिम्बुको सपना पढेर डाक्टर बन्ने अनि गरिब र दुखीको निःशुल्क उपचार गर्ने रहेछ । उनको सपना भनेको नै त्यही हो । उनले आफु ५ बर्षको हुँदा गरिबीका कारण उपचार नपाउँदा आफ्नी आमा गुमाउनु पर्दाको पिडा आफु बुझ्ने भएपछि उनले यसरी सम्हालेका रहेछन् । सानैमा मातृयिबोग बेहोरेका उनका बाबुले आमाको मृत्यु भएको ६ महिना पनि बित्न नपाउँदै कान्छी भित्र्याएका रहेछन् । कान्छी आमाले देखाएको सौतेनी ब्यबहार र मानसिक तनाबका कारण बाबु आमा छोडेर उनी अन्य साथीभाईसँगै नजिकैको चिसाङ बगरमा गिट्टी कुट्न थालेका रहेछन् ।
दिपेश कक्षा ३ मा अध्ययनसमेत गर्दा रहेछन्, चिसाङ खोलामै रहेको एउटा प्राथमिक विद्यालयमा तर उनलाई न त आफ्नो विद्यालयको नाम थाहा रहेछ न त आफ्ना शिक्षकशिक्षिकाको नै । थाहा होस् पनि कसरी, विद्यालयमा उनको हाजिर भएको रेकर्ड महिनामा मुस्किलले ३ दिन रहेछ, त्यसमा पनि एक दिन बिचमै बिरामी भएर घर गएका रहेछन् ।


आमाको मृत्यु अनि बुबाले अर्की आमा ल्याएपछिको सौतेनी ब्यबहारले उनले विद्यालय छोडेर चिसाङको बगरमा गिट्टी कुट्न थालेका रहेछन् । चैत महिनाको मध्यान्ह १२ बजेको घाम होस् या पुष माघको जाडो, ती बालक चिसाङको बगरमा अन्य सहकर्मीसँगै गिट्टी कुटिरहेका भेटिन्छन् । उनले दिनभरी गिट्टी कुटेवापत ३० देखि ६५ रुपैयाँसम्म कमाउँदा रहेछन् । उनले त्यही रकमबाट नै खाना, लत्ताकपडा र कापीकलम जुटाउँदा रहेछन्। तर उनको रात बिताउने निश्चित घर रहेनछ, उनी कहिले साथीकोमा त कहिले चौतारा र सडकमै रात बिताउँदा रहेछन् ।
पढ्न मन लाग्दैन ? भन्ने प्रश्नमा उनले पसिना पुछ्दै, त्यो अबोध अनुहार ७० बर्षको बृद्धको झैं खुम्च्याएर हातले घाम छेक्दै भने, 'पढ्न सारै मन छ अनि पढेर डाक्टर बन्ने पनि मन छ, तर के गर्नु म स्कूल गएँ भने त त्यसदिन म भोकै पर्छु । त्यसैले म स्कुल जानुभन्दा गिट्टी कुटन आउनुपर्छ ।' 'फेरी पैसा बिना चुरोट खान पनि त पाइँदैन नि', उनले आफ्ना काला दाँत देखाउँदै भने ।
उनको चुरोट पिउनेसमेत अम्मल रहेछ, उनको छेउमै रहेका बाहुनी २ मोरङका अर्का बालक ८ बर्षीय रुपेश चौधरीको कथा अलि फरक रहेछ । उनीचाँही साथीहरुको लहैलहैमा गिट्टी कुट्दा पैसा पाइन्छ भन्ने सुनेर घरबाट भागेर खोलाको बगरमा गिट्टी कुट्न आएका रहेछन्। उनको पनि पढ्ने रहर भएपनि छिमेकका अन्य साथीहरु चाँही बोर्डिङ जाने र आफु चाँहि स्कुल जानुपर्ने, राम्रा लुगा लगाउन नपाइने भएपछि घर र स्कुल छोडेर भागेका रहेछन्।
यता मोरङकै सुन्दरपुर ९ की ९ बर्षीया सरु राईको बास्तविकता कम दर्दनाक रहेनछ । उनका परिवार तेह्रथुमबाट एक महिनाअगाडी मोरङ बसाई सरेर आएका रहेछन् । ७ जनाको परिवार धान्न धौ धौ भएपछि उनीहरु भाग्य खोज्दै यहाँ आएका रहेछन, तर जीबन जीउन त्यति सजिलो कहाँ छ र ? निराक्षर मानबहादुर र रञ्जनाकी जेठी छोरी सरुको दैनिकी मकै र भटमास भुटेर बुढी खोलामा बालुवा चालेर दैनिक गुजारा गर्ने बाबु आमालाई पुर्‍याउनु र बाबु आमाको काममा सहयोग गर्नु रहेछ । आफ्नै उमेरका साथीहरु किताब कापी च्यापेर विद्यालय जाँदा उनलाई पनि विद्यालय जान मन लाग्छ र पढन पाए हुन्थ्यो जस्तो लाग्छ रे । 'तर के गर्नु स्कुल जान नै पाइँदैन', उनले भनिन् ।

यिनीहरू त प्रतिनिधि पात्र मात्र हुन् । मोरङको चिसाङ, मावा, सुनसरीको बुढी लगायतका खोलाहरुमा हजारौं बालबालिकाहरु कापी र कलम बोकेर स्कुल जाने बेलामा हातमा हतौडा बोकेर गिट्टी कुटन बाध्य छन्। उनीहरुको सपना सपनामै सिमित रहेका छन् । उनीहरुलाई बिहान बेलुका हातमुख जोर्नसमेत कठिन भइरहेका बेला उनीहरुका सपना त केबल आकाशको फल आँखा तरी मर् भनेझै भएका छन् । हरेक बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आबश्यकता पूरा गर्नु नैसर्गिक अधिकार भएपनि उनीहरु त्यसबाट बञ्चित बनेका छन्।
शिक्षाको उज्यालो घामबाट कोहीपनि बञ्चित हुन नपरोस् भनेर सरकारले निःशुल्क शिक्षा लागू गरेको बर्षौं भइसक्यो तर ती नाराहरु नारामा मात्र सिमित रहेका छन्। ती कलिला हातहरुले गिट्टी कुट्न बाध्य ती हजारौ बालबालिकाहरुको नैसर्गिक अधिकारप्रति राज्य र जिम्मेवार पक्ष संवेदनशील नभएसम्म बालबालिकाहरु शिक्षाको उज्यालो घामबाट सदा बञ्चित रहिरहनेमा कुनै दुईमत नहोला ।

(फोटो क्याप्सन - चिसाङ खोलाको बगरमा गिट्टी कुटदै बालक दिपेश लिम्बु)







Comments