पहिला खुट्टा तान्न खोज्नेहरू अहिले हौस्याउँछन्







गोविन्द पोख्रेल, उर्लाबारी।
नेपाली समाजमा नारीलाई हेर्न दृष्टिकोण अलिक फरक छ । महिलाहरुलाई विभिन्न बहानामा हेप्ने प्रवृत्ति अहिले पनि देशका विभिन्न ठाउँहरुमा विद्यमान छ। के गाउँ के शहर, के पहाड के तराई, सवै क्षेत्रका महिलाहरु प्रायः हिंसामा पर्ने गरेका छन् । त्यस्तै नारीले पढेर के नै पो गर्छे र ? भन्नेहरू पनि थुप्रै भेटिन्छन् ।
यस्ता हेपाईका कुराहरूलाई पछाडि धकेल्दै २० वर्षीया रेनुका कार्कीले सबैलाई अचम्ममा परिदिएकी छिन् । उदयपुर गाईघाटकी यी छात्राले गत भाद्र १२ गते शिक्षा दिवसको अवसरमा सम्माननीय राष्ट्रिपतिबाट नेपाल छात्रा विद्या पदक प्राप्त गरेकी छिन् । प्रमाणतहमा उत्कृष्ट अंक ल्याएर उनले सो पदक प्राप्त गरेकी हुन् ।

उर्लाबारी-६ मंगलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानबाट सर्वोत्कृष्ट अंक ल्याएर उनले सो पदक प्राप्त गर्न सफल भएकी हुन् । कार्कीले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालमा पढाई हुने ३ वर्षे कृषि विज्ञान (आइएसस्सी एजी)मा उत्कृष्ट अंक ल्याएकी थिइन् ।



आमा मधु र वुवा सिताराम कार्कीकी कान्छी छोरी रेनुकालाई प्राविधिक विषय अन्तर्गतको कृषि विज्ञान पढ्छु भन्दा गाउँलेहरुले आफूलाई हाँसोको पात्र बनाउने गरेको उनी अहिले सम्झन्छिन् । कृषि विषयमा उत्कृष्ट अंक ल्याएर पदक प्राप्त गरेपछि रेनुकालाई हेर्ने दृष्टिकोणमा अहिले गाउँमा फरक छ । । रेनुका भन्छिन्, 'पहिलापहिला काम छैन पढेर भन्ने मानिसहरु अहिले यो केटीले केही गर्छे भन्न थालेका छन्।' गाउँलेहरु अहिले यो भनिरहँदा आफूलाई पढाईमा थप उर्जा हुने उनी बताउँछिन् ।
प्राविधिक शिक्षा नै रोज्नुको कारणबारे रेनुका यसरी स्पष्ट पार्छिन्, 'प्राविधिक शिक्षा पढ्दा अरुको भरमा पर्नु नपर्ने र प्राविधिक शिक्षा नै त्यस्तो विषय हो जसले मानिसलाई जिविकोपार्जन गर्नका लागि सजिलो मात्र बनाइदिँदैन, मनिसलाई स्वरोजगार बनाउने कार्य समेत गर्छ । '
'सानो क्षेत्रफलको देश नेपालमा दुई करोड ६० लाख मानिसहरुलाई पुग्ने गरीको खाद्यान्न उत्पादनका निम्ति मैले एउटा उद्देश्य लिएको छु', कार्कीले कृषि विषयको बारेमा बोल्दै यसरी भनिन् । उनको अहिले एउटै मात्र उद्देश्य छ कृषि क्षेत्रमा क्रान्ति ल्याउने । उनलाई कृषि विज्ञान पढ्दा गर्व लाग्छ रे। उनी भन्छिन्, 'म धान फलाउनका लागि पढेको होइन, कसरी धान फलाइन्छ भन्ने कुरा अरुलाई सिकाउनका लागि पढेकी हुँ ।' उनी भन्छिन्, 'अबका दिनहरुमा धान फलाउनका लागि खेतमा मात्र नभएर घरको छानामा पनि फलाउन सकिन्छ।' उनको यो तर्कले सबैलाई अचम्मित बनाउँछ । नेपाल छात्रा विद्या पदक प्राप्त गर्दा उनी छक्क परेकी रहिछिन्। आफू यो अवस्थासम्म पुग्छु भन्ने आफूले सोचसमेत नबनाएको उनी बताउँछिन् ।




दिनरात मिहिनेत गर्दा यति ठूलो सफलता हात पार्छु जस्तो लागेको रहेनछ, तर उनमा उत्कृष्ट पक्कै हुन्छु भन्ने विश्वास थियो रे । यसबाट आफूले केही सिक्ने मौका मिलेको कार्कीले बताइन् । आफूलाई यो अवस्थामा ल्याउनका लागि सहयोग गर्ने आमाबुवा, शिक्षक/शिक्षिका, साथी/संगी र परिवारका अन्य सदस्यहरुलाई उनी धन्यवाद दिन चाहन्छिन् । 'मिहिनेत र संघर्ष गर्न सके अवश्य सफलता मिल्नेछ', उनको भनाई छ । अबका दिनहरुमा कृषि क्षेत्रलाई नयाँ आयाम र उचाई दिनका लागि सबैजना लागि पर्नुपर्ने उनले बताइन् । उनलाई अहिले पनि याद छ, जतिखेर कक्षामा पढाइएका कुराहरु घरमा अध्ययन गर्ने गरेको, आफूभन्दा सिनियरहरुसँग सल्लाह-सुझाव लिने गरेको तथा पुस्तकालयमा गएर विस्तृत रुपमा आफूले पाठ पढ्ने गरेको । उनी भन्छिन्, 'परीक्षामा हामी विद्यार्थीहरुले पढेको कुराहरु एकपल्ट हेर्ने हो, परीक्षाको तयारी त पाठ पढेकै दिन गरिनुपर्छ ।' उनले यो सफलता हात पार्नका लागि सबै दिनलाई परीक्षाको रुपमा लिइन् । विद्यार्थी भएर जहिल्यै पनि अनुशासनमा बस्नुपर्छ भन्ने रेनुकाको भनाई रहेको छ । उनी भावी दिनहरुलाई आफूलाई कृषि क्षेत्रकै एक उत्कृष्ट व्यक्तिको रुपमा उभ्याउन चाहन्छिन् । उनी भन्छिन्, 'यसका लागि मैले जसरी भए पनि कृषिमा स्नातकोत्तर गर्नुछ।'




Comments