सरकारले चासो नदिँदा नेपालका सर्प भारततर्फ तस्करी



तेज बन विश्वासी
१२ असोज, तरहरा ।
हामीले आफ्नो घर वरपर, खेत या बारीमा कुनै सर्प देखिहाल्यौं भने त्यसको संरक्षणको सट्टा मार्नतिर लाग्छौं, चाहे त्यो विषालु होस् या विषरहित । गाउँघरमा साधारण होस् या बिषालु, सर्पको महत्व बुझ्न नसक्दा सर्पका प्रजातिहरु लोप हुँदै गएका छन् ।
नेपाल सरकारले धामन, गोमन, करेत, अजिङ्गर लगायत अन्य प्रजातिका सर्पलाई राष्ट्रिय वन्यजन्तु ऐन अन्तर्गत संरक्षणको सूचीमा राखेको भएपनि सम्बन्धीत निकायहरुले यस विषयमा ध्यान नदिँदा हाल पूर्वका जंगलहरूमा क्षेत्रमा कमै मात्रामा सर्पका प्रजाति पाइने गरेका छन् ।
विषालु ठानेर घृणा गरिने त्यही सर्पको भारतका विभिन्न ठाउँहरूमा लाखौंको ब्यापार हुने गरेको तथ्य फेला परेको छ । गाउँघरमा सर्पको कला देखाउने भारतीय सपेराहरुले नेपालका सर्प समातेर त्यसको बिष निकाली चटक देखाउने र सोही सर्प अस्वस्थ भएपछि भारतको कलकत्तास्थित मेडिकल कलेजमा प्रतिगोटा १० हजार देखि २० हजार भारतीय रूपैयाँसम्ममा बिक्री गर्ने गरेको सपेराहरु स्वयंले बताएका छन्।





सुनसरीको हाँसपोसा २ तरहरास्थित एक स्थानीयको घरमा सर्पहरुको कला देखाउन आएका दुईजना भारतीय नागरीकहरुले साथमा ल्याएका सर्पहरुको बिषयमा जानकारी माग्दा उनीहरुले यस्तो बताएका हुन् । उनीहरुले नेपालमा समातेका सर्प भारतमा १० देखि २० हजार रूपैयाँका दरले बिक्री हुनेसमेत बताए ।
चटक देखाउँदा देखाउँदै उक्त सर्पको अवस्था गम्भीर देखिन गएमा त्यस्ता सर्पहरुलाई भारतको कोलकत्तास्थित मेडिकल कलेजले आफ्नो सङ्ग्रहालयमा राख्नको निमित्त महङ्गो दाम हालेर किन्ने गरेको भारतीय सपेरा सहादत बताउँछन् ।
झण्डै आधा घन्टा भारतीय सपेराहरुसँग गरेको कुराकानीमा उनीहरुले अर्को रहस्य समेत खोलेका छन् । भारतमा पनि यस्ता सर्पहरु पाइएपनि समात्न र मार्न सरकारले प्रतिवन्ध लगाएको तर नेपालमा त नेपाली आफैंले देखाइदिने गरेका कारण सर्प समात्न गाह्रो नभएको उनीहरूले बताएका छन् । नेपालमा सर्प समात्न कुनै कानुन नरहेको भारतीय सपेराहरु जिकिर गर्छन् ।
यता वातावरणविद् सुनसरीका कुमोद न्यौपानेका अनुसार नेपालमा पनि सर्पसम्बन्धी ऐन रहेको भएपनि सरकारले यसको कार्यान्वयनर्फ ध्यान दिएको छैन । सरकारले बिभिन्न प्रजातिका सर्पहरुलाई लोपोन्मुख प्रजातिको सूचीमा राखेर संरक्षण ऐनसम्बन्धी कानुन बनाएपनि कानुन कार्यान्वयनका लागि सम्बन्धीत निकायले चासो नदिँदा खोजी गर्दा पनि त्यस्ता सर्पहरु नभेटिने न्यौपाने बताउँछन् ।
यता पूर्वकै प्रमुख पर्यटकीय स्थल कोशीटप्पु वन्यजन्तु आरक्षमा समेत हाल अजिङ्गर र केही मात्रामा गोमन प्रजातिका सर्पहरु मात्र संरक्षित अवस्थामा रहेका छन् ।





Comments