म्यानपावर कम्पनीले झुक्यायो, केएफसी भनेर अन्तै लग्यो




गोविन्द पोख्रेल,उर्लाबारी
कृषिप्रधान देश नेपाल, अनेकौँ सम्भावनाहरु बोकेको देश हो, जुन विश्वका दुई ठूलो अर्थतन्त्र भएका देशहरु भारत र चीनको बीचमा अवस्थित छ । तर सरकारी उदासीनता र कमजोर राज्य व्यवस्थाका कारण थुप्रै पढेलेखेकाहरु बेरोजगार हुनेको संख्या बढ्दो मात्रामा छ । यो अवस्था दिन दुई गुना रात चार गुनाले बढिरहेको छ । स्वदेशमा रोजगारको अवसर नपाएर बेरोजगार हुनुभन्दा विदेश गएर कमाइन्छ भन्नेहरुको संख्यापनि यहि दरमा बढिरहेको अवस्था छ देशमा । भ्रष्टचारको दलदलमा फसेको छ देश । थुप्रै युवाहरु विदेश पलायन हुन्छन्, रोजगारीको खोजीमा । कसैले राम्रो रोजगार पाउछन् त कसैले नराम्रो ।
यही वैदेशिक रोजगारको शिलशिलामा विदेश पलायन भएका उर्लाबारीका एक युवा स्वदेश फर्कंन लाग्दा गोजीमा एक सुक्कोसमेत थिएन। परिवारबाट खर्च पठाइदिएपछि मात्र उनी आफ्नो घर आउन सफल भए । कमाउनका लागि भनेर गएको छोरा रित्तै हात फर्कंदा कसलाई पो राम्रो लाग्छ र !




उर्लाबारी-१का मोहन काफ्ले गत जनवरी २०१४ को १७ तारिकका दिन जीवनकै पहिलोपल्ट सात समुद्रपारी उडिरहेका थिए । साहुको ऋणको भारी बोकेर विदेशमा मनग्गे धन कमाउन सकिन्छ भनेर काठमाण्डौको चर्चित म्यानपावर कम्पनी आर एण्ड आर ग्लोबल ट्रेकर लिमिटेड कम्पनीमार्फत मलेसिया पुगेका थिए उनी। म्यानपावर कम्पनीलाई १ लाख ६५ हजार रूपैयाँ तिरेर उनी विदेश गएका थिए । उनलाई मलेसियाको चर्चित केएफसी कम्पनीमा महिनको १३ सय ८ आरएम कमाइ हुन्छ भनिएको थियो । खुसीका साथ उनी विदेश गए । उनको टोलीमा सो कम्पनीबाट गएका ८४ जना युवाहरु थिए । उनीहरू सवैले काफ्लेले जति नै रकम कम्पनीलाई बुझाएका थिए भने कमाई पनि उति नै हुन्छ भनिएको रहेछ । जब काफ्ले लगायतका अन्य नेपाली युवाहरु मलेसिया पुगे, उनीहरु अचम्ममा परे । केएफसीका लागि भनेर गएका उनीहरुलाई विभिन्न कम्पनीहरु काम गर्न पठाइयो । काफ्लेलाई मलेसियाको केपोङ सहरस्थित टेस्को डिपार्टमेन्टल स्टोरमा 'क्लिनर'को काम गर्न लगाइयो । उनलाई बल्ल त्यतिखेर थाहा भयो आफू ठगिएको । मसिक एक हजार आर एम मात्र पाए उनले । त्यही पैसामा उनले खाना र बस्नुपर्ने । सोमबार उर्लाबारीस्थित सञ्चार क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो व्यथा यसरी सुनाए ।
८४ जनाको टोलीमा ३२ जना सो डिपार्टमेन्टल स्टोरमा काम गरेको र बाँकी अन्य साथीहरुको अत्तोपत्तो नभएको उनले बताए । ७ महिना जासेतसो गरेर उनी मलेसियाबाट गत सेप्टेम्बर १३ तारिख का दिन नेपाल आइपुगेका थिए । काफ्ले कार्यरत सो डिपार्टमेन्टल स्टोरमा जस्तोजुसकै काम गर्न लगाइएको, काम गर्नका लागि चाहिने ग्लोब्स, लुगा लगायत कामका लागि प्रयोग हुने अन्य सामानहरु पनि सोही पैसाबाट किन्नुपरेको उनले पत्रकारहरुसमक्ष आफ्नो दुःख सुनाए । शुरूको तीन महिनको तलब पाएको र बाँकीका दिनहरुमा पैसा नपाएपछि उनी त्यहाँबाट भागेका थिए । नेपाली दूतावासलाई आफू पीडित भएको निवेदन दर्ता गराउँदासमेत त्यहाँको नेपाली राजदूतावासले कुनै चासो नदेखाएको उनले गुनासो गरे । त्यसपछि उनले मलेसियली कानूनबमोजिम बिना राहदानीको व्यक्तिले पाउने सजाय पाएर उनलाई स्वदेश फर्काइएको काफ्लेले बताए ।




आफूले अझै पनि सो डिपार्टमेन्टल स्टोरबाट आफूले तीन महिनाको तलब पाउन बाँकी रहेको उनले बताए । काफ्लेका अनुसार उनले २ हजार ८० आरएम पाउनुपर्नेछ । उनले यस विषयप्रति वैदेशिक रोजगार विभागमा क्षतिपूर्तिका साथै आर एण्ड आर म्यानपावर कम्पनीलाई कारवाहीको माग गर्दै घर फर्कने क्रममा गत असोज २ गते निवेदन दिएका छन् । पत्रकार सम्मेलनमा काफ्लेले सबैसमक्ष आफूलाई सहयोग गरिदिनु हुन आग्रह गर्दै न्यायका लागि पत्रकारहरुले सहयोग गरिदिन आग्रह गरे ।
काफ्ले जस्ता अन्य कामदार ठगिए र बिदेशमा बिचल्लीमा परे भन्दा अब सरोकारवालाहरूले भने सहजै पचाइदिन थालेको अवस्थामा वैदेशिक रोजगार ऐन अनुरुपको कार्य नहुँदा यसरी ठगिने क्रम दिनप्रतिदिन बढ्दै गएको छ ।
उता बैदेशिक रोजगार बिभागले खाडीका कुनैपनि मुलुकहरूमा कुनैपनि काममा जाँदा जम्मा ७० हजार रूपैयाँभन्दा बढी रकम कामदारहरूबाट लिनु हुँदैन भनी तोकेको छ र ऐनको दफा २१ (३)मा उक्त रकमको भर्पाई समेत कामदारलाई दिनु पर्दछ भन्ने उल्लेख छ । साथै ऐनकै दफा १४ (३) (क) मा कामदारको योग्यता मुताविकको सेवा, शर्त र सुविधा नभएमा बिभागले श्रम स्वीकृति दिने छैन पनि भनिएको छ र झुठ्ठा कागजात पेश गरी अनियमितता गरी ऐनको उल्लंघन गरेमा आर्थिक जरिमानासहित इजाजत रद्द हुने र म्यानपावर सञ्चालकलाई जेल सजाय सम्मको ब्यवस्था गरिएको छ । यति हुदाँहुँदै पनि वैदेशिक रोजगारका लागि जानेहरु दिनप्रतिदिन ठगिइरहेका छन् ।





Comments