इन्सेफ्लाइटिसबाट बच्न उर्लाबारीमा चेतनामूलक कार्यक्रम






गोविन्द पोख्रेल, उर्लाबारी
उर्लाबारी नगरपालिकामा देखिएको जापानिज इन्सेफ्लाइटिसबाट बच्नका लागि सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
पछिल्लो समय देखिएको सो रोगका कारण उर्लाबारीमा ३ जनाको मृत्यु भइसकेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेले सो रोगको बारेमा उर्लाबारी नगरपालिकाका विभिन्न ठाउँहरुमा गत भाद्र २४ गतेदेखि २९ गतेसम्म सचेतनामूलक सूचना दिएको अस्पतालका डा. विपिन पाण्डेले जानकारी दिए। वर्षायामसँगै बढेको यो रोगका कारण मोरङ जिल्लामा मात्र ९जनाको मृत्यु भइसकेको छ ।


आम्दा अस्पताल दमकको प्राविधिक सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेले चेतनामूलक कार्यक्रमको आयोजना गरेको थियो । केही दिनअघि सो रोग उर्लाबारीमा देखा परेपछि स्वास्थ्य केन्द्रले रोगबाट बच्ने उपायहरुको बारेमा सार्वजानिक सूचना समेत प्रकाशित गरिसकेका् छ ।

उर्लाबारी नगरपालिकामा देखिएको इन्सेफ्लाइटिस रोग नियन्त्रणका लागि भोलिदेखि औषधी छिट्ने कार्य हुने भएको छ । बुधबार उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले रोग नियन्त्रणका लागि यो कदम चालेको हो । यसका लागि नगरपालिकाले दैविक प्रकोप कोषअन्तर्गत ३० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । यस्तै, बैठकले प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेका प्रमुख डा. विपिन पाण्डेयको अध्यक्षतामा ७ सदस्यीय रोग नियन्त्रण समिति गठन गरेको छ ।
यसका लागि बैठकले रोग नियन्त्रणमा आवश्यक सरसहयोग गर्न यूएनएचसिआर, डब्लुएचओ, प्लान नेपाल, आम्दा लगायत अन्य गैरसरकारी संस्थाहरुसँग सहयोगका लागि अपिल गर्ने भएको छ । बैठकले उर्लाबारी नगरपालिकाभित्र रहेका सामुदायिक वन, सहकारी संस्था लगायत अन्य गैरसरकारी संस्थाहरुसँग सहयोग माग्ने निर्णय भएको बताएइको छ ।
यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका निमित्त प्रमुख विनोद भण्डारीले जनस्वास्थ्य कार्यालयबाट लामखुट्टे नियन्त्रणका लागि चाहिने आवश्यक औषधी सहयोग गर्ने बताए। मंगलबार बस्ने भनिएको बैठक जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विनोद भण्डारी र उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठ अस्वस्थ्य भएकाले बैठक बस्न सकेको थिएन ।



के हो जापनिज इन्सेफ्लाइटिस ?
प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेका प्रमुख एवं डा. विपिन पाण्डेका अनुसार जापनिज इन्सेफ्लाइटिस 'प्लाभाइरेडे' नामक भाइरसको प्रजातिबाट सर्ने एक किसिमको रोग हो । क्यूलेस जातको लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ । यो भाइरस सुँगुर र बंगुर प्रजातिहरुमा पाइने गर्छ । कहिलेकाँही यो एक किसिमको हाँसमा पनि पाइने गरेको उनले बताए ।

मनिसमा यो रोग कसरी सर्छ ?
यो रोग लामखुट्टेको टोकाइबाट सर्ने एक किसिमको सरुवा रोग हो । कुनै संक्रमित बंगुर/सुँगरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा यो भाइरस रक्तनली हुँदै सर्ने गर्छ । रक्तनली हुँदै यो भाइरस शरीरभरी फैलने गर्दछ । शरीरभरी फैलिएपछि यसले कोषहरुलाई आक्रमण गर्दछ र यसले रोगको रुप लिन्छ । अन्य सरुवा रोगहरु भन्दा यो रोग फरक किसिमको छ । यो रोग सँगै बस्दा, सँगै खाँदा, एउटै लुगा लगाउँदा सर्दैन । यो रोग लामखुट्टेको टोकाइबाट मात्र सर्ने स्वास्थ्य केन्द्र मंगलबारेका डाक्टर पाण्डे बताउँछन् ।

यो रोग लाग्दा देखिने लक्षणहरु के-के हुन् ?
जापानिज इन्सेफ्लाइटिस एक प्राणघातक रोग हो । यो रोग लाग्दा बिरामीलाई ज्वरो आउने, जीउ दुख्ने, शरीर झम्झम् हुने लगायत अन्य विभिन्न लक्षणहरु देखा पर्छन् । कुनै पनि व्यक्तिलाई अचानक उच्च ज्वरो आई अचेत अवस्थामा परिवर्तन भएका त्यस्ता व्यक्तिहरुलाई जापानिज इन्सेफ्लाइटिस भएको हुन सक्ने डा. पाण्डे बताउँछन् । यो रोग लाग्दा प्लाभाइरेडे नामक भाइरस शरीरको विभिन्न ठाउँहरुमा फैलने गर्दछ । भाइरसको जीवनचक्र शरीरमै सुचारु हुन्छ । यसरी भाइरसको जीवनचक्रमा एउटा अवस्था आउँछ जसलाई 'इन्स्फ्यालोप्थी' भनिन्छ । यो अवस्थासम्म आइपुग्दा भाइरस मानिसको मस्तिष्कमा पुगिसकेको हुन्छ र त्यहाँ यस्ता अन्य थुप्रै भाइरसहरुको जन्म भइसकेको हुन्छ त्यतिबेलासम्ममा बिरामीको अवस्था अचेत भइसकेको हुन्छ । भइरसले मस्तिष्कको कोषहरु सखाप परिसक्छ जसले गर्दा बिरामीको मृत्यु हुने गर्दछ ।



यसको उपचार विधि के के हुन्छ ?
यो रोग भइरसाबाट लाग्ने हुदा मानिसमा विभिन्न किसिमका लक्षणहरु देखा पर्दछन् जसले गर्दा फरक किसिमका समस्यहारुलाई त्यही किसिमको औषधीउपचार गरिन्छ । उदाहरणका लागि बिरामीलाई ज्वरो आउँदा सिटामोल दिनुपर्दछ । त्यही बिरामीलाई यो भाइरसले आक्रमण गर्दा जीउ दुख्ने पनि गर्दछ, यसका लागि चिकित्सहरुले दुखाइ कम गर्ने औषधी दिन्छन् । यो औषधीउपचार गर्ने विधिलाई 'सिम्टम्याटिक ट्रिटमेन्ट' भन्ने गरिन्छ । कुनै पनि भाइरस मार्ने ठोस औषधी अहिलेसम्म विश्वमा बनिनसकेको डाक्टर पाण्डे बताउँछन् । जसले गर्दा बिरामीको ज्यान जाने उच्चतम जोखिम हुन्छ ।

यो रोगबाट कसरी बच्न सकिएला ?
जापानिज इन्सेफ्लाइटिस गराउने लामखुट्टे झिसमिसे साँझ तथा मिरमिरे बिहानीको समयमा सक्रिय हुने गर्दछ । यो रोग सर्ने उच्चम् सम्भावना भनेको धानखेती र सुँगुर/बंगुर हुने ठाउँमा बसोबास गर्ने मनिसमा अत्याधिक हुन्छ । यो रोगको औषधी त अहिलेसम्म निर्माण भइसकेको छैन तर यसबाट जोगिनका लागि नियमित झुलको प्रयोग गर्नुपर्दछ । पानी जमेको स्थानमा लामखुट्टेको प्रजनन हुने गर्दछ । त्यस्ता पानि जमेको ठाउँहरुमा मट्टितेल वा अन्य रसयान हालेर लामखुट्टेको अण्डाहरुलाई नष्ट गर्न सकिन्छ ।
बिरामीलाई पोषणयुक्त खाना ख्वाउने, बिरामीलाई हौसला प्रदान गर्न सकिएमा उसमा रोगसँग लड्ने क्षमता बढ्ने गरेको चिकित्सा विज्ञानले बताउँछ ।


फोटो - फाइल





Comments