'ग्यासको व्यवसायलाई व्यवस्थित बनाउँछौ'

- टेक बहादुर थापा, ग्यास विक्रेता महासंघको नवनिर्वाचित पूर्वाञ्चल उपाध्यक्ष हुन् । महासंघका संस्थापक केन्द्रीय सदस्य उनी झापाका समेत संस्थापक अध्यक्ष हुन् । राजधानीमा गत भाद्र २१-२२ गते सम्पन्न महासंघको दोश्रो महाधिबेशनबाट उनी सर्वसम्मत पूर्वाञ्चल उपाध्यक्ष पदमा चयन भएका हुन् । दमकमा ग्यासको कारोवार गर्दै आएका उनी ग्यास व्यसायलाई मर्यादित बनाउन तथा व्यवसाय हक हितका सधै क्रियाशील रहने दृढता राख्छन् । प्रस्तुत छ - ग्यास विक्रेता अगुवा तथा महासंघका उपाध्यक्ष थापासँग यिनै सेरोफेरोमा गरिएको कुराकानी –

 ग्यास विक्रेता महासंघको पूवाञ्चल उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ, कस्तो लागिरहेको छ ? महासंघको पूर्वाञ्चल उपाध्यक्षमा मलाई जुन जिम्मेवारी साथीहरुले दिएका छन्, निश्चय यसमा म खुसी छु । यो मेरो लागि व्यवसायीक जिम्मेवारी पनि हो भन्ने ठानेको छु । किनकी धेरै साथीहरु पूर्वको ग्यास व्यवसायीहरुको नेतृत्व गर्न सक्षम हुनुहुन्थ्यो । तर मलाई जुन विश्वासले पूर्वको ग्यास बिक्रेताहरुको नेतृत्व दिइएको छ, यसलाई म इमान्दारीताका साथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

 ग्यास बिक्रेताका मुख्य माग के हुन् ?
 पहिलो त हामी ग्यास विक्रीलाई ब्यवस्थित बनाउन लागेका छौं । ग्यास विक्री आफैंमा संवेदनशील व्यवसाय भएकाले यसलाई व्यवस्थित गराउनु मुख्य चुनौती ठानेका छौं । हामीले भन्दै आएका छौं, ग्यास विक्रीलाई सहज र बैज्ञानिक ढंगले यसको विकास गरिनु पर्छ। ग्यास विक्री प्रणालीलाई राज्य, उद्योग र विक्रेताहरुवीच समन्वयकारी भूमिका निर्वाह गरी बढीभन्दा बढी सेवामुखी व्यवसाय बनाउन हामी दृढ छौं । साथै ग्यास विक्रेतालाई अझ संगठीत गराउन लागेका छौं।

 पूर्वमा ग्यास विक्रेताहरुको कस्तो अवस्थामा छ ? 
ठुलो संख्यामा पूर्वमा ग्यास बिक्रेताहरु छरिएर रहेका छन् । यति ठुलो अवस्था भएपनि हामीले यसलाई व्यवस्थित गर्न सकिरहेका छैनौं। विक्रेताका नाममा कतिपय उपभोक्ताहरु ठगिएका पनि होलान्, यो समस्या सुल्झाउन हामीले चुनौती ठानेका छौं । अव हामी राज्यको निकायसँग मिलेर ग्यास विक्रीलाई सहज बनाउन लाग्नेछौं । पूर्वका ग्यास व्यवसायीहरुलाई संगठित गरी आफ्ना व्यवसायको समृद्धीतर्फ अभियान नै थाल्ने छौं ।

 ग्यासको मनपरी विक्री प्रणाली छ भन्न खोज्नुभएको हो ?
 निश्चय पनि यो व्यवसायभित्र सवल मात्र होइन दुर्वल पक्ष पनि उत्तिकै छन् भनेर प्रष्टाउन चाहन्छु । मैले अघि नै भनेको थिए, यो व्यवसाय संवेदनशील भएकाले यसमा सलंग्न व्यवसायी बढी जवाफदेही हुनुपर्छ । मैले यहाँ के जोड दिन चाहेको हो भने ग्यासको जुन विक्री संरचना छ, यसलाई परिमार्जित गर्नै पर्छ । ग्यासलाई शुद्ध ग्यास व्यवसायीले मात्र कारोबार गर्ने वातावरण निर्माण गरिनुपर्छ । यसको मतलव अहिले घरैपिछेका पसलहरुमा उपभोक्ताहरुका लागि भन्दै अन्य उपभोग्य वस्तु झै यसलाई सोलोडोलोमा विक्री गरिँदै आएको जुन संरचना छ, त्यो नै अमर्यादित हो भनेर बुझाउन सकेका छैनौं । अव यो व्यवसाय ग्यास र चुल्होवालाहरुले मात्र गर्नु पाउनु पर्छ ।

 ग्यासको सिलीण्डरमा बेला बेला निकै कालोवजारी हुने गरेका गुनासो बाहिर आउँछन् नि ? 
वास्तवमा कहिलेकाँही वजार यस्तो गुनासा आउने गरेका छन् । उपभोक्ताहरुले चाहेको वेला ग्यास नपाउँदा यस्तो गुनासो बाहिर आउनु स्वाभाविक पनि मान्नु पर्छ । हामीसँग ग्यासको उत्पादन नहुने हुँदा पनि नेपालीहरुले अन्य देशमा निर्भर रहनु पर्ने अवस्था आएको विदितै छ । यसले गर्दा पनि बेला बेला यस्ता खाले गुनासो आउने गरेका छन् । हामी व्यवसायीहरुले ग्यासको सहज आपूर्ति र यसको कारोवारलाई व्यवस्थित गराउनु पर्छ भन्दै आएको यहाँ उल्लेख गर्न चाहन्छौं । राज्यले ग्यासको विक्रीमा दुई खाले सिलिण्डर ल्याउने भनिए पनि यतिका समय जाँदा अझै कार्यान्वयन हुन नसक्नु दुखद् हो । कमसे कम सरकारले दुई खाले ग्यासको बजारीकरण गर्न सकेमा केहि हदसम्म ग्यासको विक्री सहज हुने थियो भन्ने लाग्छ ।

रातो र निलो सिलीण्डर लागू गर्ने प्रकृया कहाँ पुग्यो ?
 त्यो त राज्यले ल्याएको कार्यक्रम हो । ग्यासको विक्रीलाई उपभोक्ताहरुलाई सहज बनाउन यस्तो नीति ल्याए पनि कार्यान्वयन नहुँदा समस्या चर्किएको हो । हामीले राज्यले ल्याएका यी कार्यक्रमलाई सहज रुपमा लागू गर्न सहयोगी संस्थाको भूमिका निर्वाह गर्दै आएको स्मरण गर्न चाहन्छौं। झापामा हामीले उपभोक्ताहरुलाई दुई खाले कार्ड बाँडेर यसको सही कार्यान्वयनमा लागेका छौं। मलाई लाग्छ, यसले ग्यासको चर्को समस्या एक हदसम्म सुल्झिनेछ। तर किन हो, सरकार यसको कार्यान्वयन गर्न गम्भीर छैन । सरकारले यो कार्यान्वयन गर्नमात्रै ठुलो कुरा होइन, यसको कारोवारलाई समेत नजिकबाट हेर्नुपर्छ ।

 झापामा ग्यासको मासिक खपत कति छ ? 
झापामा मासिक १ लाख सिलिण्डर खपत हुँदै आएको छ । निश्चय पनि यो अनुमान मात्र हो, यो भन्दा ठुलो परिणाममा ग्यासको कारोवार हुँदै आएको छ ।

Comments