खोलाजन्य बस्तु निकासी नहुँदा बाढीले निम्त्यायो बिपत




नरेन्द्र बस्नेत, इटहरी।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको परिपत्रका कारण सुनसरी जिल्लामा अझै पनि खोलाजन्य वस्तु उत्खनन् र निकासी नहुने भएको छ । उता मोरङलगायत देशका सबै जिल्लामा भने असोज १ देखि नै खोलाजन्य वस्तु निकाल्ने अनुमति कार्यान्वयनमा ल्याई सकिएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा रहने समितिले यही असोज १ गते सुनसरीको सदरमुकाम इनरुवामा बसेको बैठकले मन्त्रालयको परिपत्रका आधारमा अहिले नै खोलाजन्य वस्तुको उत्खनन् तथा निकासी गर्न नसकिने अवस्था रहेकाले अर्को निर्णय वा परिपत्र नआउन्जेल सम्मका लागि खोला नखोल्ने निर्णय गरेको छ ।



सुनसरी जिल्लामा विशेष गरेर सेउती, सर्दु, बाघखोला, पटनाली खोला र बुढीखोला समेत गरी विभिन्न साना तथा ठूला खोला क्षेत्रबाट बालुवा मिसगिटी, ढुङ्गा लगायतको खोलाजन्य वस्तु सङ्कलन र निकासीको अधिकार खोलिँदै आउने गरेको थियो ।
जिल्ला बिकास समितिले स्थानीय स्रोतमा ठेक्का लगाएर आन्तरिक स्रोत सङ्कलन गर्ने क्रममा अघिल्लो बर्ष १ करोड ६० लाख रुपैयाँमा खोला ठेक्का लगाएर राजश्व सङ्कलन गरेको तथ्याङ्क छ । खोलाजन्य वस्तु उत्खनन् र निकासीमा ढिलो ठेक्का लाग्दा जिल्ला बिकास समितिले प्राप्त गर्ने राजश्व नै कमि हुने हुँदा यो विषयमा जिल्ला बिकास समिति चाँडो निकास निकाल्ने पक्षमा रहेको स्थानीय बिकास अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो । सुनसरीका खोलाबाट उत्खनन् र निकासा गर्ने अझै दुई महिना समय लाग्ने स्थानीय विकास अधिकारी पाण्डेको भनाई छ ।
सुनसरीमा चुरे पहाड भएकाले त्यसमा उत्खनन् र निकासी गर्दा प्राकृतिक समस्या निम्तने भएकाले खोलाजन्य वस्तु उत्खनन् र निकासी तत्काललाई गर्ने नपाइने भन्दै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको परिपत्रमा जिल्ला बिकास समिति सुनसरी र जिल्ला प्रशासन कार्यालयलाई पत्र काटिएको छ ।
यता सुनसरीमा चुरे पहाड नभएर महाभारत पहाडी भूमि रहेको र प्राकृतिक बिपत्तीलाई ननिम्त्याउने गरी सुनसरीका खोलाबाट उत्खनन् र निकासी फुकुवा गर्नुपर्ने त्यस क्षेत्रका स्थानीय र व्यावसायीहरुले माग गरेका छन । सुनसरी जिल्लामा विशेष गरेर सेउती, सर्दु, बाघखोला, पटनाली खोला र बुढीखोला समेत गरी विभिन्न साना तथा ठूला खोला क्षेत्रबाट बालुवा मिसगिटी, ढुङ्गा लगायतको खोलाजन्य बस्तु उत्खनन् र निकासी हुनुपर्ने उनीहरुको माग छ । खोलाजन्य स्थानबाट मिसगिटी, ढुङ्गा ननिकाल्दा खोलाको सतह बढेर खोलाको धार परिवर्तन भई बस्तीतर्फ बाढी छिर्न थालेको भन्दै सुनसरीका बिभिन्न खोलामा पनि उत्खनन् र निकासी हुनु पर्ने उनीहरुको भनाई छ ।


खोलाजन्य बस्तु निकासा नहुँदा बिभिन्न खोलाबाट आएको बाढीले अहिले भरौल गाबिसका खोला आसपासका गाउँबस्ती जोखीममा परेको भरौलस्थित अमाह सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भोजराज घलेले बताए। खोलाको सतह २ फिट बढेर पानी जंगल र बस्तीतर्फ बग्न थालेपछि खोलामा भरिएको मिसगिटी, ढुङ्गा लगायतको खोलाजन्य बस्तु तत्काल उत्खनन् र निकासी हुनु पर्ने घले बताउँछन् ।
बालुवा मिसगिटी, ढुङ्गा लगायतको खोलाजन्य बस्तु निकासी नहुँदा खोलाको सतह बढेर असारमा आएको बाढीलाई स्थानीयको सहयोगमा बाँध बाधेर खेतीयोग्य जमीन र बस्ती जोगाएको घटना सम्झँदै स्थानीय लाखमान गुरुङ भन्छन्, 'यदि खोलाको सतह उत्खनन् नगरे भरौल वडा नम्बर ५ को गुरुङ टोलको १५ घर र ३० बिगाहा खेतीयोग्य जमिन खोलामा परिणत हुने निश्चित छ।'
भरौलका ३, ४ र ५ नम्बर वडाका लागि सर्दु खोला अहिले बिपत बन्न सक्ने अबस्था छ । यी तीन वडामा असारमा आएको बाढीले ठुलै क्षति गरेको छ । कयौं बिगाह जमीन बालुवा मिसगिटी, ढुङ्गाले भरियो । खोलामा आएको बाढीलाई बाँध बाँधेर खेतीयोग्य जमीन र बस्ती जोगाइए पनि अहिले खोलाको सतह बिगत भन्दै ३ फिट भरिएको छ । जसका कारण सर्दु खोलामा कुनै बेला बाढी आए त्यस क्षेत्रको खेतीयोग्य जमीन र बस्ती झनै जोखीममा पर्ने देखिन्छ । स्थानीयका अनुसार केही दिनअघि मात्र सर्दु खोलामा आएको बाढीले भरौल ५ मा ४ बर्षिय एक बालकलाई वेपत्ता बनाएको थियो । खोलामा सतह बढेर बाढी बस्तीतर्फ छिर्दा घर छेउमै त बालक बाढीमा बगेर वेपत्ता भएका थिए ।
अहिले सर्दु खोलामा बाढीका कारण ३ फिटभन्दा बढी बालुवा भरिएको छ । बालुवा, मिसगिटी र ढुङ्गाले खोला भरिएपछि धरान नगरपालिका नजिक पर्ने रेल्वेलाइनबाट खोलाले धार परिवर्तन गरी सिधै जंगलतर्फ छिरेको प्रष्ट देख्न सकिन्छ । खोलामा सतह बढेका कारण रेल्वेलाइनबाट खोलाले धार परिवर्तन गरी सिधै जंगलतर्फ छिरेको हो । साविककै ठाउँबाट पानी बग्नु पर्ने भएपनि बाढीले खोलमा बालुवा मिसगिटी र ढुङ्गाले भरिदिएपछि पानी जंगल हुँदै बस्तीतर्फ बगेको छ ।


बिगतमा सर्दु खोलामा रेल्वेलाइनको लागि ट्रयाक बनाइएको पिल्लरभन्दा अहिले १०/१५ फिट सतह भरिएको कारण भरौलका बिभिन्न गाबिसहरुमा बाढी छिर्ने गरेको र बाढीले जनधनको ठुलो क्षति गरेको भरौल ट्याक्टर सघंका अध्यक्ष एवम् स्थानीय केशव मैनालीले बताए। यो समस्या समाधानको लागि तत्काल खोलाको उत्खनन् गरी बालुवा, मिसगिटी र ढुङ्गा निकाल्नु पर्ने र खोला गहिराएर खोलको धार परिवर्तन भएपछि मात्र गाउँ जोगिने मैनालीले बताए।
यता सुनसरी जिल्लामा अझै पनि खोलाजन्य वस्तु उत्खनन् र निकासीमा प्रतिबन्ध लगाएको बिषयमा मैनालीले सुनसरीका सबै खोला चुरेअन्तर्गत नभई महाभारत पहाडी भूमि पर्ने भएकाले सरकारले नीति बनाउँदा स्थलगत निरीक्षण गरेर मात्र अवस्थाको मुल्याङ्कन गर्नु पर्ने बताउँछन् ।
सर्दु खोलमा जंगल हुँदै बस्तीतर्फ छिरेपछि भरौलका स्थानीयले यहाँ पनि बाँध बनाएका थिए । असार महिनामा आएको ठुलो बाढी पूर्व पट्टिको धारमा ठोक्किएपछि पश्चिमतर्फ लागेको थियो । अहिले सर्दु खोला धार परिवर्तन गरी जंगल हुँदै बस्तीतर्फ छिरेको भरौलका पूर्व वडा अध्यक्ष पदम बहादुर श्रेष्ठको भनाई छ ।
यता स्थानीय निकायलाई करोडौं रूपैयाँ बुझाएर खोलाजन्य वस्तु निकासीको ठेक्का लिएको र ठेक्का बापत करोडौं रकम भुक्तानी गरिसकेको अवस्थामा खोला क्षेत्रमा सिर्जना गरिएका अवरोधले त्यो रकम डुब्ने खतरा पैदा भएको छ । सुनसरीमा बालुवा मिसगिटी, ढुङ्गा लगायतका निर्माण समाग्री निकाल्न प्रतिबन्ध भएपछि अहिले जिल्लामा साना तथा ठूला विकास निर्माणका योजनाहरु समेत अलपत्र पर्ने अवस्थामा पुगेका छन् । यसरी निर्माण सामग्री उपलब्ध नहुनुले विकासमा प्रत्यक्ष मार पर्ने गरेको छ ।

सुनसरीका प्रमुख शहरहरु इटहरी, धरान, इनरुवा तथा स-साना बजार आदिमा हुने गरेका भौतिक निर्माणहरु सडक, भवन आदिका लागि चाहिने निर्माण सामग्री पनि आपूर्ति हुन छाडेपछि ती विकास योजनाहरु पनि प्रभावित हुन थालेको निर्माण कम्पनीहरुले गुनासो गरेका छन्।




Comments