'सुँगुर पाल्नेको हातबाट दक्षिणा लिन्न भन्ने ज्वाईंलाई धन्यवाद दिएँ'

अनिलदेब राई, दमक। निश्चित जाति वा समुदायले मात्र पालन पोषण गर्ने सुँगुर यतिवेला फराकिलो ब्यवसाय बन्दैगएको छ । थोरै लगानीमा धेरै आम्दानी गर्ने गतिलो माध्यमको रुपमा विकास भएसँगै यतिवेला सवै जाति वा समुदायले सुँगुर पालन पोषण गर्दै आइरहेका छन् । पढे लेखेका शिक्षित बर्गहरु जागिरको खोजीमा पलायन हुने क्रम बढेसँगै ग्रामीण क्षेत्र सुनसान बनिरहेको छ । समयको क्रमसँगै आधुनिकताले धेरै परिवर्तन ल्याएपनि झापा तोपगाछी-५ मा ब्राम्हण समुदायकी एक महिलाले आफ्नो धर्म र संस्कारलाई चुनौति दिँदै सुँगुरपालन शुरु गरेकी छिन् । सुँगुर शव्दसमेत उच्चारण गर्न गाह्रो पर्ने ब्राम्हण समाजमा लाखौं रुपैयाँ खर्चेर सुँगुर फर्म संचालन गर्न ठुलै हिम्मत गरेकी छिन् उनले । 'शुरुवाती क्रममा फर्ममा १४ वटा सुँगुर छन्', फर्म संचालक पार्वता अधिकारीले भनिन्, 'काममा सघाऊ पगाऊ गर्ने आफ्नै छोरा र बुहारी छन् । ४ वटा माऊ, ८ वटा मासुको लागि र अन्य २ वटा सुँगुर पालन गरिरहेकी पार्वताले क्रमशः फर्ममा सुँगुर थप्दै लैजाने योजना रहेको बताइन् । उनले भनिन्, 'सुँगुर पालेर जातै बिगारी भनेर अहिले माइतीले घृणा गरेको र छरछीमेकीहरु आफ्नो घरमा आवत-जावत गर्न छाडेका छन् ।' जातै फाली भनेर विवाह, ब्रतबन्ध, पूजा लगायतका धार्मिक कार्यक्रममा भेदभाव गरेकोमा अधिकारीले दुखेसो ब्यक्त गरिन्। बंगुर पाल्नेको हातबाट दक्षिणा नै नलिने भनेर ज्वाईंले भनेपछि आफुले ज्वाईंप्रति धन्यवाद प्रकट गरेकी पार्वताले बताइन् । 'आज मलाई हेला गर्नेलाई चुनौती दिन पनि म यो पेशालाई गम्भीर भएर ब्यवसायीक रुपमा अघि बढ्दैछु' उनी भन्छिन्, 'विदेशको जति कमाई यहीँ हुन्छ भनेर श्रीमानलाई विदेशबाट फिर्ता बोलाउँदैछु।' बिदेशमा गर्ने मेहनतसँगै बसेर गर्दा यहि पनि धेरै आय-आर्जन गर्न सकिने पार्वताले बताइन् । सुँगुर पालनको कुनै तालिम नलिएकी पार्वताले टोल तथा छरछिमेकमा पालन गरेको देखेको आधारमा फर्म संचालन गरेकी बताइन् । 'शुरुमा डर भए पनि क्रमसः सवै डर त्रास हटेको छ', पार्वताले भनिन्, 'कुनै पनि पेशा आफैमा सानो ठुलो हुँदैन र पेशा गर्दैमा जात जाने पनि होइन ।' कृषि क्षेत्रअन्तर्गत पशुपालनतर्फ प्रोत्साहनस्वरूप नेपाल सरकारले अनुदान दिन्छ भन्ने सुने पनि पार्वतालाई कसरी त्यो अनुदान पाइन्छ थाहा नभएको जनाइन् ।

Comments