तीन दशकदेखि निरन्तर पत्रकारिता, हातमा लाग्यो सुन्ना

हरिप्रसाद कोइराला, उर्लाबारी। तिल चामल भइसकेको कपाल र दारी, कमिज सुरुवाल र हरदम ढाका टोपी लगाएर कहिले शहर त कहिले गाउँतिर घुमिरहने एउटा श्रमजीवी पत्रकारको नाम हो दुर्गाप्रसाद खतिवडा । सरकारी जागिर हुन्थ्यो भने उनी ३ वर्षअघि नै सेवानिवृत भइसकेका हुन्थे । तर, नीजि अखवार चलाउन उनलाई न उमेर छेकेको छ न समयले रोकेको छ । भारतको मणिपुरबाट २०३६ सालमा मोरङको उर्लाबारी आएर बसोबास सुरु गरेका खतिवडाले २०४१ सालमा रमेश भट्टराईको सम्पादकत्वमा प्रकाशित युगवाणी साप्ताहिकबाट पत्रकारिताको कखरा सुरु गरेका हुन् । तीन कोरी उमेर बिताइसकेका खतिवडा अहिले पनि उत्तिकै जोश र जाँगरका साथ पत्रकारिता गरिरहेका छन् । १० अंक निस्किएपछि युगवाणी बन्द भयो । पत्रिका बन्द भएपनि यो क्षेत्रमा थुप्रै सम्भावना देखेका खतिवडाको पत्रकारिताको भोक मरेन । हुन त उसबेलाका पत्रिकाहरूले दाल भात खान त के ? चिया खाजा खान पुग्ने गरी पैसा दिन सक्दैनथे । पत्रकारिता गरेर घर चलाउने पत्रकारको संख्या मोफसलमा असाध्यै कम थियो । तर, चरम बेरोजगारी समस्याबाट आक्रान्त खतिवडाले आफूलाई पत्रकारिता क्षेत्रमा भुल्याउन धरानबाट प्रकाशित हुने पूर्व टाइम्स साप्ताहिकमा समाचारदाताको भूमिका निर्वाह गर्न थाले। तत्कालिन प्रतिबन्धित नेपाली कांग्रेसका समाचारहरू खोजी-खोजी लेख्ने खतिवडाको पूर्व टाइम्ससँगको सहयात्रा निक्कै लामो समयसम्म रह्यो । ताप्लेजुङ जिल्लाको मयाममा २०१० सालमा जन्मिएका खतिवडाका बुवा दाताराम २०१७ सालमा तत्कालिन नेपाली कांग्रेस ताप्लेजुङको कोषाध्यक्ष थिए । बुबालाई २०२१ सालमा राजद्रोहको मुद्दा लागेपछि उनी पनि बुवासँगै भारतमा निर्वासित भएका थिए। त्यसैले राजनीतिक रुपमा नेपाली कांग्रेससँग नजिक रहेको पारिवारिक पृष्ठभूमिले उनलाई पूर्व टाइम्समा काम गर्न झनै सजिलो भयो । त्यसबेला पूर्व टाइम्स कांग्रेसको घोषणा पत्रका रुपमा प्रकाशित हुने गर्थ्यो। उनले झापाबाट प्रकाशित हुने विबेचना दैनिकमा पनि समाचारदाता भएर काम गरे। ५ सय ग्राहकका घरघरमा पत्रिका पुर्‍याउँथे खतिवडा । आफैं विज्ञापन संकलक, आफैं ब्यवस्थापक, आफैं रिपोर्टर र आफैं वितरक । यद्यपि उनलाई काम गर्न कुनै अप्ठ्यारो महसुस भएन । तर, विबेचना पनि बन्द भयो । ३ वर्ष दैनिक पत्रिकामा काम गर्दा उनको लेखनमात्र होइन, विज्ञापन माग्ने र बजार ब्यवस्थापन गर्ने क्षमता पनि वृद्धि भयो । ०४६ सालमा बहुदल घोषणा भएपछि साप्ताहिक पत्रिकाको भूमिका अलि साँघुरिदै गयो । ब्रोटसिट पत्रिकाले ट्यावलेट साइजका पत्रिकाहरूलाई ओझेलमा पार्दै गए । फलतः साप्ताहिक पत्रिका साना बजारमा सीमित हुँदै जान थाले । त्यसपछि उनले ०५५ सालमा डाइजेष्ट टाइम्स साप्ताहिक प्रकाशन गर्न थाले। सानो शहर, थोरै विज्ञापनदाता, २ वर्ष चलेपछि डाइजेष्ट टाइम्स पनि प्रकाशन हुन सकेन । तिहारमा देउसी खेलेर समेत डाइजेष्ट टाइम्सको प्रकाशन खर्च जुटाएका खतिवडाले धेरैपटक पत्रिका प्रकाशन गर्ने खर्च जुटाउन ऋण काढ्नु पर्‍यो, श्रीमतीका गहना धितो राख्नु पर्‍यो। तर पनि पत्रिकाले राम्रो बजार लिन सकेन। पत्रिका बन्द भएपछि केही समय लायन्स क्लवमा जागिरे बनेका खतिवडाले मासिक १५ सय रूपैयाँ कमाउन थालेपछि पुनः पत्रिका प्रकाशनमा हात हाले र सुरु गरे आफैं प्रकाशक रहेर अलकापूरी साप्ताहिक । १४ वर्षयता अलकापुरी साप्ताहिक निरन्तर प्रकाशित भइरहेको छ । उनले पत्रिका प्रकाशन रहरले गरेको होइन, न त शौख नै हो । बेरोजगारी समस्याले सताएपछि उनी पत्रकारिता क्षेत्रमा आएका हुन् । तर यो क्षेत्रमा आए पनि दाम कमाउन नसकिएको उनको भनाई छ । त्यसो त सामाजिक र राजनीति क्षेत्रमा पनि उनको भूमिका महत्वपूर्ण रहेको छ । एक दर्जन बढी सामाजिक संघ संस्था र सहकारीको नेतृत्वमा रहेर उनले काम गरिरहेका छन् । पत्रकारिता क्षेत्रमा उनको योगदान अतुलनीय मान्नुपर्छ । देशमा द्वन्द्व चलिरहेको बेला २०६० सालमा उनले विराटनगर बाहिरका पत्रकारहरूलाई समेटेर उर्लाबारीमा सञ्चार क्लव नेपालको स्थापना गरे। दुई वर्षसम्म खतिवडा आफैंले नेतृत्व गरी नयाँ पुस्तामा जिम्मा लगाएको संस्थाले आजका मितिसम्म युवा पुस्तामा पत्रकारिता प्रति आकर्षण जगाउने, तालिम चलाउने, पत्रकारहरूको वृत्ति विकासमा काम गरिरहेको छ । उनले नेपाल प्रेस युनियन मोरङको कार्यवाहक अध्यक्ष र पटकपटक केन्द्रीय पार्षदको भूमिका निर्वाह गरिसकेका छन् । नेपाल प्रेस इन्ष्टिच्युट लगायतका धेरै संघसंस्थाबाट पत्रकारिता सम्बन्धी तालिम पनि लिएका खतिवडा पहिले साइकल चढेरै सबै काम भ्याउँथे। तर ६१ वर्षीय खतिवडा अहिले स्कुटर चढ्न थालेका छन् । सुचना प्रविधिलाई पछ्याइ रहेका खतिवडा अचेल आफैं कम्प्युटर खोलेर किबोर्डमा औंला राख्न सिकिरहेका छन् । ३० वर्षदेखि पत्रकारितामा रमाइरहेका खतिवडा अहिले उर्लाबारीबाट प्रकाशित हुने राष्ट्रिय समाचारपत्र दैनिकमा प्रकाशन समूहको अध्यक्ष छन् । श्रीमतिसहित सामूहिक परिवारमा उर्लाबारी-३ बस्दै आएका खतिवडा साप्ताहिक-पाक्षिक छापा माध्यम राष्ट्रिय सञ्जाल मोरङको अध्यक्षसमेत हुन्। पछिल्लो समय अनलाइन, टेलिभिजन र एफएम रेडियोका कारण छापा पत्रकारिता संकटमा परिरहेका बताउने खतिवडा राज्यले छापा पत्रकारिता र अन्य विद्युतीय सञ्चार माध्यमलाई एउटै कोटीमा राखेर सेवा सुविधा वितरण गर्दा छापा माध्यमलाई अन्याय हुने बताउँछन् ।

Comments