शरणार्थीका अभिभावक डाक्टर राई


दमक । भुटानी शरणार्थी दमक आएपछि शिविरसम्म तिनीहरूलाई पुर्‍याउन र त्यहाँबाट दमक बजारसम्म ल्याउनका लागि नयाँ बस र ट्याक्सीहरू थपिए। दमक नगरपालिका-३ र ५ मा पर्ने बेलडाँगीको गुल्जार बढ्यो, जहाँ ७५ हजारभन्दा बढी शरणार्थी राखिएका थिए। झन्डै पाँच किलोमिटर उत्तरको शिविरका तिनै शरणार्थीको आउजाउ हुने जंक्सनमा एउटा क्लिनिक खोलेर बसे, डाक्टर भम्पा राई, ६३। वाणा भुटानमा जन्मिएर आफ्नो थातथलोबाट लखेटिएका गाउँलेकै लस्करमा लागेर आएका यी डाक्टर २० वर्षदेखि यही क्लिनिक रुँघेर बसेका छन्। झापा र मोरङका विभिन्न शिविरमा बसेका भुटानी शरणार्थीको दुःखबिमारमा साथ दिनु यिनको दैनिकी हो।
बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म यी डाक्टर क्लिनिकमै हुन्छन्। उनले शरणार्थीलाई अहिलेसम्म निःशुल्क जाँच गरिदिएका छन्। भन्छन्, 'आफ्ना गाउँलेहरूसँग बिरामी जाँचेबापत एक रुपियाँ पनि लिएको छैन।' थातथलो गुमाएर शरणार्थी हुनुपर्दा घरगाउँको सम्झना र छिमेकीको यादले विक्षिप्त भएकाहरू पनि उनैकहाँ आउँछन्। 'डाक्टर राई हाम्रो अभिभावक हो। उहाँकहाँ जाँदा हाम्रो मानसिक इलाज पनि हुन्छ', बेलडाँगी शिविर-२ का नरध्वज लिम्बू भन्छन्, 'गाउँठाउँको यादले मनमा गाँठो पर्‍यो भने फुकाउने ठाउँ राईकै क्लिनिक हो।' ढाका विश्वविद्यालयबाट पोस्ट ग्रयाजुएट इन सर्जरी सकेर थिम्पु जनरल हस्पिटलमा काम गर्दै थिए उनी। त्यही बेला दक्षिण भुटानमा शासकहरूले फैलाएको जाति, भाषा र संस्कृतिको हावाले यिनलाई पनि 'घरबारविहीन भुटानी'का रूपमा नेपालको झापास्थित माईबगरमा ल्याइपुर्‍यायो। सन् १९९० देखि भुटानी शासकले जोङ्खा भाषा बोल्नुपर्ने, उनीहरूले लगाउने पोसाक अनिवार्य लगाउनुपर्ने, उनीहरूकै संस्कृति मान्नुपर्ने नियम लगाए। अवज्ञा गर्नेलाई देशद्रोहीको आरोप लगाउँदै लखेट्न थाले। 'अन्याय सहन नसकी हजारौँ भुटानी भारत पसेका थिए'," डाक्टर राई भन्छन्, 'त्यहाँका शासकले ट्रकमा पशु ओसारेझैँ माईबगरमा ल्याएर फ्यालिदिन्थे।' माईबगरमा यी डाक्टर समाजसेवीका रूपमा देखा परे। दुःखी भुटानीहरूलाई छाक टार्नका लागि स्थानीय बासिन्दासँग हातेमालो गरे। झापाको प्रशासनसँग सुरक्षाका लागि आग्रह गर्न गए। रेडक्रस, क्यारिटासजस्ता समाजसेवी संस्था धाएर घरबारविहीन भुटानीको सहयोगका लागि हात फैलाए। संयुक्त राष्ट्र संघीय शरणार्थीसम्बन्धी उच्चायोग (यूएनएचसीआर) गुहार्न पनि अगुवाइ गरे उनले। 'माईबगरमा २० हजारभन्दा बढी भुटानी आइसकेपछि स्थिति नियन्त्रणबाहिर गएजस्तो लाग्यो', डाक्टर राई भन्छन्, 'त्यसपछि चाहिँ नेपाल सरकार र अन्तर्राष्ट्रिय निकाय गुहार्‍यौँ।' शिविरमा अनिकाल, रोगव्याध, मृतक र असुरक्षा बढेपछि राईले शिविरमा एउटा प्रशासनिक एकाइ तयार गरे। अनि, शरणार्थीको अव्यवस्थित बसोवासमा तत्काल राहत पुर्‍याउन, त्यहाँ बसेका शरणार्थीलाई आवश्यक परे तत्काल भेट्न सजिलो होस् भनेर बस्तीलाई विभिन्न सेक्टरमा बाँडे। माईधारबाट यो बस्ती सात ठाउँमा छरियो। राईको जीवन पछिल्लो आधा दशकदेखि तनावपूर्ण छ। उनले भुटानी शरणार्थी स्वदेश फिर्ती समिति खोलेको मौकामा नेपाल सरकार र यूएनएचसीआरले शरणार्थीलाई तेस्रो देश लैजाने विकल्प खुला गरे। यसमा शरणार्थीको कति आकर्षण देखियो भने अब करिव ७ हजार ५ सय शरणार्थी मात्र स्वदेश फर्किने अडानमा छन्। 'सोझा भुटानीलाई अनेकौँ सपना देखाएर यूएनएचसीआरले सदाका लागि निर्वासित बनायो', राई असन्तुष्टि पोख्छन्, 'कुनै दिन भुटानी शासकको मन फिरेर आफ्ना नागरकि फिर्ता ल्याइदेओ भन्यो भने त्यस बेला यूएनएचसीआरले कहाँबाट ल्याउँछ भुटानीहरू ?' एकजना मात्र भुटानी बाँकी रहँदा पनि आफ्नो स्वदेश फिर्ती अभियान जारी रहने राईको अठोट छ। एक हूल मात्र शरणार्थी स्वदेश फर्काउन सके पनि जीवनमा सबभन्दा बढी सन्तोष लाग्ने उनको भनाइ छ। कुनै बेला भुटानी राजपरिवारका निजी चिकित्सकसमेत रहेका डाक्टर राई ती दिन सम्झन चाहँदैनन्। 'मलाई ठूला शासक र राजाको दरबारमा रमाउने सोख हुन्थ्यो भने निर्वासनमा कसरी आउँथें ?' राई भन्छन्, 'मेरो इरादा छ, सकुन्जेल यिनै दुःखी भुटानी जनताको सेवा गर्न पाऊँ।' कान्तिपुरबाट

Comments