अंगप्रदर्शन मेरो ब्रान्ड बनेछ


 
 
'लभ इन नेपालको अभिनयपछि बलिउडका धेरै फिल्मका लागि मलाई बोलाइयो । तर, सबै अंगप्रदर्शनकै भूमिकामा । अंगप्रदर्शन मेरो ब्रान्ड नै बनेछ । त्यसपछि मलाई बलिउडका फिल्म खेल्न मन लागेन ।'

नेपाली फिल्मकी सबैभन्दा 'ग्ल्यामरस' हिरोइन हुन् झरना बज्राचार्य । फिल्ममा उदार भएर अंगप्रदर्शन गरेरै उनी निकै चर्चामा आइन् । हामीसँग संवादका लागि तयार हुँदा भने म्युजिक भिडियो र पर्दामा देखिने उनका मादक आँखामा कुनै मादकता देखिएनन् । गाजलु उनका आँखा शान्त तलाउजस्ता थिए ।



अहिले के गर्दै ? मेरो पहिलो प्रश्न भुइँमा खस्न नपाउँदै झरनाले भनिन्, 'आलोक नेम्वाङको 'कोही मेरो' सिनेमा खेलेँ । त्यसको सुटिङ भर्खरै सकियो ।' यो जवाफ 'नोट' गर्दैगर्दा मनमा लाग्यो- नेपाली नायिकाहरू सिनेमामा 'अभिनय' गर्दैनन्, उनीहरू सिनेमा 'खेल्छन्' । अन्तर्वार्तामा हिरोइनहरूको उत्तर हुन्छ- 'अहिले म फलानो फिल्म खेल्दै छु ।' के 'खेल्नु' र 'अभिनय' गर्नुको भिन्नतालाई हाम्रा हिरोइनले बुझेका होलान् ? यसको उत्तर दिनु झरनाले जरुरी ठानिनन् । नेपाली हिरोइनहरूले 'सुन्दरीका' रूपमा आफ्नो छवि त बनाए तर 'अभिनेत्री' बन्न सकेनन् । उनीहरूले आफ्नो बौद्धिकतालाई ध्यान दिनुको साटो 'नाभी' सुन्दर बनाउनतिर बढी ध्यान दिए । यसको प्रमाण झरना बज्राचार्य पनि हुन् । उनी अभिनीत २८ वटा फिल्मले पनि यही संकेत गर्छ ।

सन् २००३ मा भारतीय निर्देशक रजत मुखर्जीको 'लभ इन नेपाल'को मुख्य अभिनेत्रीमा अनुबन्ध भएकी झरनाले त्यस फिल्ममा 'तानियाँ'को भूमिका पाइन् । तर, झरनाको चर्चा फिल्ममा गरिएको अभिनयका लागि भएन 'कतरा...कतरा...' गीतमा उदार भएर दिइएको अंगप्रदर्शनका लागि भयो । 'कतरा...कतरा' मा अर्धनग्न भएर प्रस्तुत भएकी उनले त्यसवेला नेपाली सिनेमा उद्योगमै निकै विवादको सामना गर्नुपर्‍यो । अर्धनग्न भएर चर्चा कमाएकी उनको बलिउड अब सपना मात्र बन्यो । 'त्यसपछि पनि बलिउडका धेरै फिल्मका लागि बोलाइएको थियो तर, सबै अंगप्रदर्शनकै भूमिकामा,' उनले सुनाइन्, 'अंगप्रदर्शन मेरो ब्रान्ड नै बनेछ । त्यसपछि मलाई बलिउडका फिल्म खेल्न मन लागेन ।'

त्यसपछिका पाँच वसन्त अभिनयविना नै बसिन् झरना । नेपाली नायिकामध्ये बेसी अंगप्रदर्शन गर्ने हिरोइन बनिन् उनी । के अंगप्रदर्शन मात्रै सिनेमा चलाउने, हिरोइन 'हिट' हुने काइदा हो ? २८ वटा फिल्मको अभिनयपछि अहिले उनलाई लाग्न थालेको छ, 'हिरोइनले अभिनयलाई जोड दिनुपर्नेरहेछ । 'कथावस्तु र भूमिकालाई मुख्य ध्यान दिनुपर्नेरहेछ', झरनाले सुनाइन्, 'अंगप्रदर्शनले मात्र सिनेमा चलाउने, नायिका हिट हुने होइनरहेछ ।' त्यसो भए किन बेसी अंगप्रदर्शन गरेको ? किन यतिबिघ्न 'नग्न' बनेको ? 'म धेरै नग्न बनेकी होइन । नेपाली नायिकाले बढी अंगप्रदर्शन गरे भन्ने अरूलाई लागेको हो । मैले शालीन रूपमा अंगप्रदर्शन गरेकी हुँ । त्यो अरूलाई 'भल्गर' लाग्यो,' उनले भनिन्, 'चाहिनेभन्दा बढी अंगप्रदर्शन गरेकी छैन । दर्शकले अंगप्रदर्शनमा देखिने शालीनतामा ध्यान दिएनन् ।'

नेपाली हिरोइन आफ्नो प्रतिभाको पहिचान होइन, ब्युटिपार्लरमा सुन्दरता र बुटिकमा आफ्नो शरीरलाई अर्धनग्न देखाउने पोसाक खोजिरहेका हुन्छन् । सिनेमामा आफूलाई अब्बल देखाउनुभन्दा पनि 'सेक्सी' देखाउनु उनीहरूको रहर हुन्छ । हुन त धेरैले झरनालाई अंगप्रदर्शनबाटै 'हिट' भएकी नायिका भन्छन् । कस्तो लाग्दो हो उनलाई ? के उनले कथाले मागेको सबै दिएकी हुन् ? 'मैले कथाले मागेकोजति दिएको होइन । आफ्नो मनले हुन्छ भनेजति मात्र अंगप्रदर्शन गरेकी हुँ,' उनले सुनाइन्, 'म अंगप्रदर्शन गरेर मात्र माथि आएकी होइन । यसरी माथि उठ्ने भए, भारतमा बोलाइएका सबै चलचित्रमा म जान्थेँ ।'




सन् १९९७ अगस्टमा भएको मिस नेपालको ताज शिरमा पहिरिएदेखि झरना 'नोबडी' रहिनन् । उनी अब 'सेलिब्रेटी' भइन् । 'म छाँगाबाट खसेजस्ती भएँ । पत्रिकामा मेरा ठुल्ठूला फोटा देख्दा मलाई अनौठो लागेको थियो,' १२ वर्षअघिका ती दिन सम्झँदै थिइन् झरना, 'जीवनमा संयोगहरू धेरै जुर्दारहेछन् । त्यो मेरो जीवनको एउटा टर्निङप्वाइन्ट बन्यो ।' अब झरनाका चाहना र इच्छाहरू सीमित रहेनन् । असीमित चाहनाहरू प्वाँख फिँजाएर उड्न थाले । 'जीवनमा केही बन्न पनि सकिन्छ, केही नबन्न पनि सकिन्छ । जीवन अनेक संयोगहरूले भरिएको हुँदोरहेछ,' उनको निचोड थियो ।

मिस नेपाल बनेको एक वर्षपछि अर्थात् सन् १९९८ मा प्रकाश सायमीले 'हतियार' फिल्मबाट झरनालाई फिल्मी दुनियाँमा प्रवेश गराए । तर, झरनाका एउटै पनि फिल्म हिट भएनन् । सधैं 'फ्लप' फिल्म मात्र दिइरहने अन्त्यहीन हिरोइन बनिन् झरना । के हाम्री झरनामा त्यो कला थिएन जुन अरू नेपाली हिरोइनमा थियो ? 'मलाई सुहाउँदो भूमिकामा निर्देशकले खेलाएनन्,' उनले सुनाइन्, 'अरू हिरोइनको जस्तै भूमिका मलाई दिए । तर, म अरूभन्दा भिन्दै भूमिका रुचाउँथेँ । मलाई सुहाउँदो भूमिका दिने निर्देशक यहाँ भएनन् ।'

झरनाले ११ वर्षे फिल्मी-यात्रामा अनेक रूपमा जीवन भोगिन् । कहिले घामजस्तो, कहिले पानी त कहिले इन्द्रेणीजस्तो । फिल्मको रंगीन यात्रामा यत्तिका वर्ष बिताएकी उनलाई कस्तो लाग्यो त फिल्मी-यात्रा ? 'फिल्म त समाजको ऐना रहेछ । पर्दामा यही समाज देखाइने हो, जुन तपाईं-हामीले भोगिरहेका छौँ,' उनले भनिन्, 'परिवेश, मान्छे यहीँका हुन् । समाजकै छाया पर्दामा देखाइने हो ।'



नेपालका हिरोइन आफूले अभिनय गर्ने फिल्मको स्त्रिmप्ट पढ्दैनन् । आफू कस्तो भूमिकामा अभिनय गर्दै छु भन्ने थाहा हुँदैन । हिरो कस्तो छ भन्ने मात्र चासो हुन्छ । आफ्नो भागमा कतिवटा नाचगान परेका छन्, त्यसमा कस्तोखाले लुगा लगाउनुपर्छ भन्नेमात्र उनीहरूको चिन्ता हुन्छ । उनीहरूको सिर्जनात्मक सेरोफेरो यो परिधिभन्दा बाहिर गएको हुँदैन । झरना पनि अरू हिरोइनभन्दा फरक कहाँ भइन् र ? नाचगानमा हिरोसँग उसैगरी हल्लिइन् । गुन्डाहरूबाट भागिन् । अन्त्यमा हिरोले आएर बचाए । एउटै र उस्तै कथामा ११ वर्षसम्म फिल्म खेलिरहिन् निरन्तर । गुणस्तर पनि एघार वर्षदेखि उस्तै । मात्र समय बग्यो । समाज छिटो हिँड्यो । तर, सिनेमा हिँडेन । झरना पनि हिँडिनन् ।

उनलाई सोधियो- सधैं उस्तै अपत्यारिला कथानक भएका नेपाली फिल्मबाट समाजले कथाको विजय पायो कि पाएन ? 'समाजको कथा फिल्मले पक्रेको हो । तर, समाजकै खास चित्र भने पर्दामा आएन । पर्दामा यथार्थ चित्र आएको भए सायद समाजले कथाको विजय पाउँथ्यो,' उनले सुनाइन्, 'दर्शकले फिल्म हेरुन्जेल आफूलाई हिरो-हिरोइन ठान्छन् । आफू हार्न कोही चाहँदैन । फिल्म हेरुन्जेल ऊ हिरो बन्छ तर सामाजिक जीवन फिल्मजस्तो हुँदैन ।'



पर्दामा हिरो-हिरोइन गाउँछन्, रुन्छन्, कराउँछन् । गीतका शब्दले रोई-रोई सारा कहानी भनिरहेको हुन्छ । ती पात्र हुन्- फिल्मका गरिब हिरो-हिरोइन । कतै हाँसो भए पनि दुःखका कुराले हामीलाई छुनेरहेछ । त्यसैले होला, हाम्रोमा दुःख र आँसुका धेरै फिल्म बनेका । उनीहरू त पर्दा-जीवनका मात्र हिरो-हिरोइन् हुन् । पर्दा-जीवनको मात्र हिरो-हिरोइनबाट समाजले के सिक्ने ? 'फिल्ममा माया, दया, घृणा सबै हुन्छ । सामूहिकता, सभ्यता र अरू धेरै कुरा सिक्न सक्छ दर्शकले फिल्मबाट,' उनले भनिन् । पछिल्लो समयका नेपाली हिरोइनहरू देख्दा लाग्छ- उनीहरू पैसा बटुल्ने हतारोमा छन् । चरित्र, प्रतिभा र सीप गौण विषय बनेका छन् । हिरोइनले 'अभिनय' होइन 'सुन्दरता' बेचिरहेका छन् । सुन्दरता सकिएको दिन उनीहरूको प्रयोजन पनि सिद्धिनेछ । हिरोइन यसैगरी गइरहे भने मायानगरीको रंगीन बजारमा बेकारको 'माल' मात्र बन्नेछन् । त्यसैले आफ्नो प्रतिभा र अभिनय-क्षमताको वास्ता नगरी उनीहरू मालदार प्रेमीको खोजीमा लागेका छन् । कहिलेसम्म हो हिरोइनले सुन्दरता मात्र बेच्ने ? हिरोइनहरूको आयु कति हुन्छ ? 'हिरोइनले सुन्दरता मात्र होइन, आफ्ना कला पनि बेचिरहेका छन् । यहाँ सिमाना तोकिएको हुन्छ नेपाली हिरोइनको । तर, कला र कलाकारको कुनै सिमाना हुन्न,' उनले सुनाइन्, 'हिरोइनले आफ्नो भूमिकालाई कसरी प्रस्तुत गरेका छन्- त्यो महत्त्वपूर्ण हो ।'

त्यसो भए, हामीकहाँ हिरोइनको भूमिका कमजोर हुनुको कारण के ? 'स्त्रिmप्ट बलियो हुँदैन । हिरोइनलाई केन्द्रबिन्दुमा राखेर स्त्रिप्ट लेखिनुपर्नेमा यहाँ पटकथा आफैं लेखिन्छ र हिरोइनलाई दिइन्छ,' उनले सुनाइन्, 'त्यसमा हिरोइनले जस्तो लेखिएको छ त्यस्तै अभिनय गर्नुपर्ने जरुरी हुन्छ । त्यसैले हाम्रा हिरोइन कमजोर देखिएका हुन् ।' उनी 'पुरुषप्रधान समाजमा फिल्ममा समेत हिरोइनलाई हिरोको पछि कुद्ने मात्र' भूमिका दिइने गरेको सुनाउँछिन् । 'यो दुःखलाग्दो पक्ष हो,' उनले भनिन् ।

पछिल्लो समय नेपाली फिल्ममा हिन्दीको नक्कल निकै बढेको छ । के होला यसको कारण ? 'हामीकहाँ हिन्दी फिल्मको नक्कल गर्नु पुरानै रोग हो । यसमा निर्देशकको सिर्जनशीलताको कमी देखिन्छ,' उनले भनिन्, 'अरूको देखासिखीको भरमा चल्ने भएपछि आफ्नोपन किन चाहियो भन्ने छ निर्देशकलाई । हाम्रै मौलिकता टिपेर फिल्म बनाइए राम्रै चल्छ जस्तो लाग्छ ।'



संवादमा निकै पटक हिरोइन आए । नाच्न जान्नु, सुन्दरी हुनु हिरोइनको मानक बनेको छ । के हिरोइन यतिले मात्रै हुन पाइन्छ ? 'सुन्दरी त हुनैपर्‍यो । बडी ल्यांग्वेज पनि चाहिन्छ । अभिनय-क्षमता भए हिरोइनले पढ्नुपर्दैन,' स्नातकधारी उनले सुनाइन्, 'हिरोइनले नाच्न, संवाद बोल्न जान्नुपर्छ । तर, हिरोसँग नाच्न जानेर मात्र हिरोइन बनिँदैन । आफ्नो अभिनयको छाप, छवि छोड्न सक्नुपर्छ ।'

फिल्ममा हिरोइनको भूमिका एकोहोरो देखिन्छ । सधैं दुःख र रुवाइ मात्र उनीहरूको भागमा पर्छ । हिरोइनलाई दुःखी पात्रको रूपमा प्रस्तुत गर्नुको कारण सामाजिक विषयको 'कमिटमेन्ट'भन्दा सिनेमाको बिक्रीलाई प्रमुख रूपमा लिनु हो । 'हिरोइनले समाजको नारी वर्गलाई बोकेको हुन्छ । यहाँ धेरै छन् दुःखी नारी । उनीहरूको दुःख फिल्ममा देखाउन खोजिएको हुन्छ । तर, जस्ताको तस्तै चित्र आएको हुँदैन,' उनले भनिन्, 'फिल्ममा हिरोइनलाई प्रस्तुत गर्ने शैलीले समाजको वास्तविक प्रतिविम्ब देखिन्छ ।'

हुन त अधिकांश नेपाली फिल्ममा समाजको गतिशीलता आएको हुँदैन । समाजको गाम्भीर्य पनि फिल्ममा हुँदैन । झन् महिला पात्रले त समाजका वास्तविक पात्रप्रति न्याय गर्न सकिरहेका छैनन् । झरनालाई आफूले समाजका वास्तविक महिला पात्रलाई न्याय गरेको छु भन्ने लाग्दो हो ? 'मैले त निर्देशकले भनेअनुरूप अभिनय गर्ने हो । न्याय गर्न सक्ने/नसक्ने निर्देशक र स्त्रिmप्टमा भरपर्छ,' उनले सुनाइन्, 'केही भूमिकामा न्याय गरेँ हुँला तर, यथार्थ रूपमा न्याय गर्न सकेकी छैन ।' उनलाई बजारमा स्थापित फेसन ट्रेन्ड नै फिल्ममा पनि हिरोइनले पछ्याउँछन् भन्ने लाग्छ । 'फिल्मको माध्यमबाट नयाँ ट्रेन्डको सुरुवात भएको छैन,' उनले भनिन् ।



हरेक चलचित्रमा नारी पात्रलाई पीडित देखाइन्छ र उनलाई पीडा दिने पनि अर्की नारी नै हुन्छे । 'नेपाली समाजको ऐनाजस्तै छर्लंगै आएको हो त्यो । वास्तविक समाजमा पनि नारीले नै नारीलाई पीडा दिएका छन् । यही देखाइएको हो फिल्ममा,' उनले सुनाइन् ।

फिल्म हेरुन्जेलका लागि मात्र हो । आँखाको तिरिमिरी । एउटा झिलिक्कजस्तो मात्र । हुन त डा. तारानाथ शर्माले एक ठाउँमा 'जिन्दगी नै तिरिमिरीझ्याइँ हो' लेखेका छन् । फिल्म 'आँखाको तिरिमिरी' भनिए पनि यसलाई समाजको ऐना हो भनिन्छ । नेपाली सिनेमाले समाजलाई के सपना देखायो ? 'सिनेमाले सपना देखाउँछन् । तर, कमै सिनेमाले मात्र समाजलाई राम्रो सपना देखाएका छन्,' उनले भनिन्, 'राम्रा सपना देखाउने 'कला' फिल्मको आयु लामो हुन्छ ।' नेपाली मायानगरीमा मिथिला शर्मा, करिश्मा मानन्धर, ऋचा घिमिरे र सञ्चिता लुइँटेल झरनालाई मनपर्ने नायिका हुने रे ।

झरना २८ वर्ष पुगिन् । झरनाले किन बिहे गरिनन् ? यो उनैलाई थाहा छैन । के उनले कसैलाई प्रेम गरिन् ? 'अँ हँ छैन कसैलाई प्रेम गरेको,' दिक्क मानेझैं उनले सुनाइन्, 'मलाई अहिलेसम्म कसैले प्रेम प्रस्ताव राखेनन् ।' त्यसो भए कसैले प्रेम प्रस्ताव राखे झरना के भन्लिन् ? 'म हुन्न भन्छु ।' किनकि बिहेका लागि उनको टीकोटालो भएको डेढ वर्ष बितेको छ ।

बेलायतमा बस्ने 'वारेन' उनका हुनेवाला पति हुन् । हुन त डेढ वर्षअघि नै उनको बिहे भएको हल्ला छापामा छाएको थियो । 'त्यो निराधार हल्ला हो,' उनले भनिन् । त्यसो भए कहिले बिहे होला ? 'बिहे हुन्छ,' यति मात्रै भनिन् झरनाले । उमेर ढल्कँदै जाँदै छ झरनाको । बूढापाका भन्छन्- छोरीले उमेर ढल्किनुअघि नै बिहे गरेको राम्रो । वसन्त प्रत्येक वर्ष आउँछ तर, उमेर र बैंस त कोल्टे फेरिसकेपछि फेरि कहाँ फर्केर आउँछ र ?

Comments