मोबाइल आतंक




अहिले पूरै संसारलाई मोबाइलको आतंकले खलबलाएको छ। यसको विकिरणको जालोले विश्वभरि एकैपल्ट आतंक मच्चाएको छ। संसारमा कुनै स्थान छैन, जहाँ हामी सुरक्षित हुन सक्छौं। हामीलाई चारैतिरबाट खतराका चिन्हहरूले घेरिरहेका छन्। यो अदृश्य शक्तिशाली जालोप्रति मानिसको आकर्षण दिनप्रतिदिन बढिरहेको छ। 
युरोप र विकिसित देशहरूमा मोबाइलबाट हुने खतराको प्ररिक्षण भएपछि मोबाइल प्रयोगकर्ताको संख्या घटिरहेको छ, तर नेपालमा यसले फेसनको रूप लिइरहेको छ। तर थोरै नेपालीलाई मात्र मोबाइलबाट हुने बेफाइदाको जानकारी छ । विज्ञानको फल सधैंभरि मीठो हुँदैन भन्ने कुरा त अल्बर्ट आइनस्टाइनले आफैं ज्ञानका कारण जीवनको अन्त्यमा पश्चताप गरेको प्रसंगले पुष्टि गर्छ। भर्खरै अष्ट्रियामा गरिएको एक अध्ययनले मोबाइल कति घातक छ भन्ने देखाएको छ। एउटा गाईवस्तु चराउने चौरमा मोबाइलको टावर राखिएको रहेछ। त्यो टावरमुनि गएर बसेका गाईहरू दिनदिनै बिरामी पर्न थालेपछि फार्म मालिकले टावरबाट असर गरेको हो कि होइन भनेर बुझ्नका लागि बिरालो, कुकुर र घोडा लगेर टावरमुनि राख्न थाल्यो। गाईलाई झै ती वस्तुहरूलाई पनि नकारात्मक असर गरेपछि उसले अनुसन्धानकर्तालाई अनुसन्धान गर्न लगायो। अनुसन्धान गर्ने क्रममा वैज्ञानिकहरूले टावरमुनि एउटा कोठा निर्माण गरी टावरको विकिरण सीधै त्यो कोठामा पर्ने गराए र त्यसमा बोइलर कुकुरा उत्पादन गर्न अन्डा राखियो। विकिरणले गर्दा कतिपय अन्डाबाट चल्ला निस्कने, चल्ला उत्पादन भएपछि पनि ती अस्वस्थ रहे र कतिपय स्वस्थ देखिएका कुकुराहरूको मासुमा समेत खतरा देखापर्‍यो। त्यो कुरा वैज्ञानिकहरूले सरकारलाई जानकारी गराए। तर सरकारले व्यापार घाटामा जाने भएकाले यो कुरालाई गुपचुप राख्ने प्रयास राख्यो। यसको विकिरणले मोबाइल प्रयोग कर्तालाई मात्र नभएर प्रयोग नगर्नेलाई पनि असर गर्छ। मोबाइल फोन गर्दा र उठाउँदा झन् बढी हानिकारक गर्छ। जर्मनी र जापानमा पनि मोबाइलबाट हुने हानिकारकको विषयमा थुप्रै अनुसन्धान भइसकेको छ। जापानमा एउटा रोचक र हानिकारक घटना घटेको थियो। एक व्यक्तिको मोबाइल हराए छ, उसले घरको फोनबाट आफ्नो मोबाइलमा फोन गर्‍यो। मोबाइल बज्यो कहाँ त भन्दा आफैंले पालेको कुकुरको पेटमा। शल्यक्रिया गरेर उक्त मोबाइल कुकुरको पेटबाट निकालियो, तर यसलाई साधारण प्रकारले मात्र लिइयो। यहाँ साधारण कुरालाई गहिरो रूपमा लिइन्छ, गहिरो कुरालाई साधारण रूपमा लिइन्छ। यसको विकिरणले आँखा, नाक, कान, मुटु, फोक्सो सबैलाई छेडेर यात्रा गर्छ। यो सबैतिर बगिरहेको छ। मैले मोबाइल निस्केदेखि नै यो खतरा छ भनेर भन्दै आएको थिएँ, त्यतिबेला मलाई हास्यपात्र बनाइयो। तर अहिले प्रमाणित भइरहेको छ। जून, तारा, सूर्य, चट्टानलगायतबाट पनि विकिरणहरू आइरहेको हुन्छ। यो प्राकृतिक विकिरण हो , तर कृत्रिम विकिरणले सम्पूर्ण प्राणी र प्रकृतिलाई नकारात्मक असर गर्छ। अहिले पैसाको लोभमा ठूल्ठूला घरमा मोबाइलका टावरहरू राखिएको देख्न पाइन्छ। म बस्ने ठाउँमा पनि एक शिक्षित व्यक्तिले आफ्नो छतमा मोबाइल टावर राखेर गर्व गरिरहेका थिए। अझ उनी विज्ञानका शिक्षक पनि हुन्। यसर परिवार, समाज, छिमेकी सबैलाई दीर्घकालीन असर गर्छ। मोबाइल शारीरिक रूपमा मात्र असर गरेको छैन, यसले विकृतिसमेत ल्याएको छ। आजका युवायुवतीहरू मोबाइल फोनलाई व्यापक रूपमा गलत कुराका लागि प्रयोग गरिरहेका छन्। स्कुल गएका विद्यार्थीहरू मोबाइलमा गेममात्र खेल्ने होइन, अश्लील चलचित्र राख्ने, खिच्नेसमेत गर्न थालेका छन्। अभिभावकहरूले समेत छोराछोरीलाई यस्तो हानिकारक वस्तु दिएर गर्व गर्छन्। हुन त नेपालीहरू क्याबिन र राति डिस्को गएर लथालिंग भएका छोराछेरीहरूप्रति त सचेत छैन। यो त अदृश्य खतरनाक भयो? राज्यले पनि घुस खाएर नेपालमा वेश्यावृत्ति गराइरहेको छ। जनताले थाहा नै नपाएको र फेसनको रूपमा प्रयोग भएको मोबाइलको विषयमा राज्यले सजिलै सोच्ला भन्नु पनि मूर्खता नै हो।  
त्यसैले जनता आफैं सचेत हुने बेला आएको छ। अति आवश्यक पर्ने व्यक्तिहरूले बाहेक जथाभावी रूपमा प्रयोग नगर्नका लागि सरकारले बेलैमा सोच्नुपर्छ। पश्चिमी मुलुकबाट विकृति सिक्नमा निकै अगाडि रहेको सरकार यस्ता विषयमा निकै कमजोर देखिन्छ। मोबाइलका अन्य आतंकहरू थुप्रै छन्। यी सबैभन्दा ठूलो आतंक स्वास्थ्यमा परेको छ। विकसित राष्ट्रहरूले स्कुले उमेरका बच्चालाई मोबाइल प्रयोग गर्न वञ्चित लगाउँदै आएका छन्। यहाँ यसले फेसनका रूप लिइरहेको छ। कर र फाइदा हेरेर सरकारले जनताको स्वास्थ्य र समाजमा फैलिने विकृतिलाई मध्यनजर गरेर बेलैमा सचेत हुनुपर्ने हो। मोबाइलले मतिभ्रष्टमात्र गराउँदैन, आध्यात्मिक यात्रामा समेत यसले रोकावट ल्याउँछ। जस्तै, माटोमा बीउ राखेर त्यसमाथि कुनै गह्रौं चिजले थिचिदियो भने त्यो बीउ उमार्न सक्छ त? सक्दैन। त्यस्तै, यसले तेस्रो आँखामा असर गर्छ। तेस्रो नेत्रबाट जुन तरंग ९० डिग्रीमा बसेको हुन्छ। त्यसलाई मोबाइलको विकिरणले खलबलाइदिन्छ। मानिसहरू मानिसक रोगी हुनुमा यसको ठूलो हात छ। मोबाइलमात्र होइन, टिभी, कम्प्युटर, इन्टरनेटलगायतका वस्तुहरू पनि त्यतिकै हानिकारक छन्। त्यसैले यी भौतिक वस्तुहरू अति आवश्यक पर्दामात्र चलाउँदा राम्रो हुन्छ। यसको प्रयोग अत्यधिक गर्नेको मन भड्कने, विचलित हुने, डिप्रेसन हुने, मन मस्तिष्क स्थिर नहुने हुने हुन्छ। त्यसैले यस्तो वस्तुहरूको कम प्रयोग गर्नुपर्छ र मोबाइल टावरहरूलाई मानवबाट टाढा राख्नुपर्ने देखिन्छ। जनतालाई अस्वस्थ बनाएर सरकार धनी हुनु भनेको जाडोमा घरमा आगो लगाएर आगो ताप्नु जस्तै हो। 
 

Comments