बेठी लाग्न छाड्यो पाँचथरका बेसीमा


नौमती बाजा बजाउँदै विभिन्न भाकामा गीत गाएर रोपाइँ गर्ने पाँचथरका खाम्ले, डबले र घुर्लेजस्ता बेसीको 'बेठी' प्रचलन यतिखेर लोप हुन लगेको छ। यस्तै पाँचथरकै रानीगाउँका देवेनीटार, जया र आँगनाको हाक्पारे सेरालगायतका बेसीमा पनि पाँच वर्षदेखि बेठी लाग्न छोडेको छ। केही वर्षअघिसम्म यो क्षेत्रमा धूमधामका साथ सनाइ, नरसिंगा, दमाहा, ट्याम्को र झ्यालीजस्ता बाजा बजाएर नाचगान तथा हिलो छ्यापाछ्याप गरेर रोपाइँ गरिन्थ्यो। पाँचथरका अधिकांश स्थानका कृषकले लगाउँदै आएको बेठी लोप हुनुमा परम्परागत संस्कृतिप्रतिको मोह घट्नु र देशले अशान्तिको क्षण भोग्नुलाई जिम्मेवार ठान्छन्, स्थानीय बासिन्दाहरू। 'देशमा शान्ति आउने हो कि हैन अझै स्पष्ट छैन एकछिन तामझामका साथ बेठी लगाउँदै रोपाइँ गरेर के गर्ने र', याशोक- ७ को घुर्लेबेसीका लेखनाथ खनालले भने। लेखनाथको जस्तै भनाइ एकतीनको ठूलोबेसीमा ६० वर्षदेखि बेठी लगाउँदै आएका धनप्रसाद खत्रीको पनि छ। उनी भन्छन्, 'धान रोप्ने बेलामा एकछिन नाच्दै गाउँदै हिलो छ्याप्दै रमाइलोका साथ रोपाइँ गर्‍यो त्यो बाली उठाउन पाइन्छ कि पाइन्न टुंगो हुँदैन।' पाँच वर्षअघिसम्म ८० देखि सयजना रोपाहार लगाएर नौमति बाजाका साथ एकअर्कामा हिलो छ्यापाछ्याप गर्दै रोपाइँ गर्ने गरिएकोमा देशमा अशान्ति बढ्दै गएपछि रमाइलो गर्न मन नलागेर एकतीनका सबै कृषकको सल्लाहअनुसार बेठी लगाउन छाडिएको उनले बताए। देशको अस्थिर राजनैतिक व्यवस्था र व्याप्त हत्याहिंसालाई मध्यनजर गरेर असारमा रोपाइँ गर्दा एकदिन रमाइलो गर्दै लगाइने बेठी सल्लाहनुसार नै केही वर्षलाई स्थगित गरिएको थर्पुको सिगेवा बेसीका कृषक बाबुराम पोखरेल बताउँछन्। देशमा स्थायी शान्ति स्थापनाको संकेत देखिएमा स्थगित गरिएको बेठी पुन: लगाउने सल्लाह भएको छ उनले भने, 'यसपल्ट शान्ति स्थापनाका केही संकेत देखिए पनि पूर्ण शान्ति भइनसकेकाले बेठी नलगाउने सल्लाह भएको हो।' वर्षभरि खेतबारीमा काम गर्दा लाग्ने थकाइ मेटाउन असारे गीत गाएर मनोरञ्जन गर्नका लागि परापूर्वकालदेखि बेठी लगाउन थालिएको हो भन्ने किंवदन्ती रहेको छ। 'बेठी लगाएर रोपाइँ गर्ने बेसीमा रोपाहार र बाउसेलाई निम्ता गर्नु पर्दैनथ्यो, बेठीमा दोपहरे खाने चलन भएकाले त्यसको अर्कै स्वाद हुन्थ्यो', रानीगाउँ- १ का ६४ वर्षीय पूर्णबहादुर दर्जी भन्छन् ,'पहिले एक वर्षमा १० वटासम्म बेसीमा बेठी लगाइन्थ्यो अहिले आएर वर्षमा एउटा पनि भेट्न छोडियो।' यसरी बेठी लगाउँदा अनिकाल हट्ने, अन्न राम्ररी उब्जनी हुनुका साथै चरामुसाले दु:ख दिँदैनन् भन्ने विश्‍वास जनमानसमा रहेको छ। यसरी परम्परादेखि रोपाइँमा लगाइँदै आएको बेठी लगाउन छाडिएकाले हाल अन्नमा चरामुसा लाग्नुका साथै उब्जनीमा पनि कमी आएको कृषकहरू बताउँछन्। 'परम्परा जोगाउन र रमाइलो गर्नका लागि पनि आगामी वर्षदेखि ती बेसीमा बेठी लगाउन थाल्ने हाम्रो सल्लाह हो' पाँचथरकै सबैभन्दा ठूलो बेसी भनेर चिनिने हाक्पारे सेराका कृषक कुम्भ लावतीले बताए।

Comments