पानीबाट चल्ने क्रेन बनाए सुनिलले

सुन्दा पत्याउन गाह्रो होला, पानीबाट पनि क्रेन र रकेट चल्छ भनेर। कुरा सत्य हो, पानीबाट चल्ने क्रेन र रकेटको आविष्कार गरेका छन् भरतपुरका १९ वर्षीय सुनिल परियारले। अहिलेसम्म आधादर्जन बढी नयाँ आविष्कार गरिसकेका सुनिलले पानीबाट चल्ने हाइड्रोलिक क्रेन र रकेट बनाएर सबैलाई छक्क पारेका छन्। सुनिलको आविष्कारमा पानीले इन्धनको काम गर्दछ। त्यसमा हावाको प्रेसर दिएर रकेट उडाउन सकिन्छ भने त्यसलाई कम्प्युटरको सहायताले नियन्त्रण गर्न सकिन्छ। यसलाई रिमोटको सहायताले पनि चलाउन सकिन्छ। राजधानीको इन्टेन्सिभ इन्टरनेसनल कलेजबाट विज्ञान संकायमा कक्षा १२ को परीक्षा दिएर बसेका सुनिलले पहिलोपटक ब्याट्रीबाट चल्ने कार बनाएका थिए। यो कारले पद्मकन्या क्याम्पसमा भएको विज्ञान प्रदर्शनीमा द्वितीय पुरस्कार पाएको थियो। कक्षा ८ मा पढ्दै गर्दा उनले रिमोटबाट चल्ने कार बनाए जसले काठमाडौं विश्‍वविधालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा पहिलो पुरस्कार पायो। पछिल्लो पटक सुनिलले बनाएको पानीबाट चल्ने क्रेन र रकेटले नास्टमा भएको विज्ञान प्रदर्शनीमा प्रथम पुरस्कार पायो भने अर्को आविष्कार पानीबाट चल्ने सैनिक टैंकले काठमाडौं विश्‍वविधालयबाट प्रथम पुरस्कार जित्यो। सानोमा चञ्चले स्वभावका सुनिल आफूले धेरै आइडिया खेल्दै गरेका बच्चाहरूबाट लिएको बताउँछन्। 'आफूले खेलाउन खेलाउन नपाए पनि अरू केटाकेटीले खेलेको हेरेर धेरै आइडिया लिएँ', विपन्न परिवारका सुनिलले भने, 'खेल्न नपाएको बेला म आफैं त्यस्ता खेलौना बनाएर खेल्छु जस्तो लाग्थ्यो।' परिवारको विपन्नताको कारण दुईजना दाजुले पढ्न नपाएको तीतो सत्यले सुनिललाई पनि पिरोलेको छ। 'मलाई इन्जिनियर बन्ने धोको छ', सुनिलले भने, 'तर परिवारमा दुईछाक टार्न धौधौ छ कसरी पढ्नेे' सबैतिरबाट आफ्नो आविष्कारलाई सहयोग गर्ने आश्‍वासन पाए पनि आफूले अहिलेसम्म कतैबाट सहयोग नपाएको उनको गुनासो छ। 'थुप्रै नयाँ आविष्कार गर्ने मेरो सोचाइ छ', सुनिलले भने, 'तर पढाइ अघि बढाउन मुस्किल परेको छ।' कलेजका एकेडेमिक काउन्सिलर ध्रुव सुवेदीले सुनिल निकै सिर्जनशील र नयाँ काममा लागिपर्ने खालका विधार्थी हुन् भने। 'पारिवारिक अवस्था कमजोर भएका कारण उसलाई कलेजले पूर्ण छात्रवृत्ति दिएको छ' सुवेदीले भने, 'उसको अध्ययनका लागि भविष्यमा पनि लगानी गर्ने कलेजको योजना छ।'

Comments