फरक यत्ति हो पहिले ओडारमा बस्दथ्यौं अहिले घरमा

 

जंगली ओडारको सट्टा घरमा बस्न पाएकोमा खुसी भए पनि खेतीपाती गर्न सिँचाइको सुविधा नभएकोले राउटेहरू चिन्तित छन्। आफ्नो जीवनशैलीमा खासै फरक नपरेको उनीहरूबताउँछन्। 'पहिले ओडारमा बस्दथ्यौं, अहिले घरमा बस्छौं। अरू हाम्रो जीवनमा केही फरक आएको छैन।' राउटेका मुखिया लालसिंह राउत भन्छन्, खेतीपाती गरेर खानु भनेर सरकारले जग्गा त दियो तर सिँचाइको व्यवस्था नगरिदिँदा हामीले फेरि जंगली कन्दमूलमा भर पर्नुपरेको छ। डँडेलधुराको भित्री मदेसअन्तर्गत पर्ने आलीताल गाविस वडा नम्बर १ आम्पानीमा बसोबास गर्ने राउटेहरूको संख्या तीन सय छ। सिँचाइको अभावमा खेतीपाती राम्रो नभए पनि हरेक वर्ष भोकमरी हुने गरेको उनीहरू बताउँछन्। खेतीपातीले छ महिना मुस्किलले पुग्छ। सक्नेले किनेर बच्चा पाल्छन् नसक्नेहरू कहिले गिठा त कहिले भ्याकुर, तरूललगायतका कन्दमूलले छाक टार्ने गर्छन्। एक्काईंसौंं शताब्दीमा पनि जंगली जीवन अपनाउन बाध्य रहेका राउटेहरूलाई सरकारले वि.सं. २०३९ सालमा जंगलबाट ल्याएर घरजम गर्न आलीतालको आम्पानीको जग्गा दिएपछि विस्तारै जंगली जीवनबाट गाउँले जीवनतिर लोभिएका हुन्। सरकारले खेती गर्न जमिन पनि उपलब्ध गरायो। जंगली अवस्थाबाट गाउँले जीवनमा आइपुग्दा सुरूका दिनमा त उनीहरूको खुसीको सीमा नै रहेन। कन्दमूलभन्दा खेती गरी उब्जाएका खाधपदार्थ नै मीठो मान्न थालेको अनुभव धेरैसँग छ। राउटेहरूको संख्या बढ्दै गएपछि सरकारले उपलब्ध गराएको जग्गा र त्यसमा उब्जेका अन्नबाली उनीहरूका लागि अपुग हुन थाल्यो। 'सरकारले जग्गामात्र दिएर पुगेन। हामीलाई रोजगारीको कुनै व्यवस्था नगर्दा हामी मारमा परेका छौं। त्यसैले हाम्रो रोजगारीका विषयमा पनि सरकारले सोच्नुपर्छ।' ५२ वर्षीय उजेलीदेवी राउतले गुनासो गरिन। आम्पानीमा कक्षा ५ सम्म पढाइ हुने बीपी स्मृति प्रावि भए पनि त्यसभन्दा माथिको स्कुल छैन। त्यसैले कक्षा ५ सम्म स्कुल पढेपछि धेरैको पढाइ स्थगित हुन्छ। राउटेबस्तीमा अहिलेसम्म एसएलसीसम्म पास गरेका कोही छैनन्। ध्ान्न एकजनाले एसएलसी टेस्टसम्म पास गरेका छन्। ७० वर्षीय जितसिंह राउत भन्छन्, 'अधिकारको लागि हामी राउटेहरू राजधानी काठमाडौंसम्म पनि पुग्यौं तर आश्‍वासनबाहेक कसैले केही दिएनन्। गरिबका दिन कहिल्यै आएनन्। ' यो देशमा पहुँचवालाहरूको मात्र हालीमुहाली भइरहेकोमा राउटेहरू आक्रोशित छन्।' राजनीतिक दलका नेताहरूले सधैं पछाडि परेका जनताको लागि आफूले राजनीति गरेको भन्छन, तर व्यवहारमा त्यसो नगरेको गुनासो उनीहरूको छ। नयाँ नेपालका कुरा रेडियोमा हामीले पनि सुन्ने गर्छौं तर हामीजस्ता वर्गको वास्तै नगरी अगाडि बढेमा नयाँ नेपाल नबन्ने ५५ वर्षीय कमले राउत बताउँछन्। उनी भन्छन्, नेताहरूको जीवनशैली फेरिँदैमा देशको मुहार फेरिँदैन। जनतको मुहार फेरिनु पर्छ। हाम्रो जीवनशैलीमा खासै परिवर्तन आएको छैन। कहरे राउत भन्छन्, 'फरक यति हो पहिले ओडारमा बस्दथ्यौं अहिले घरमा बस्छौं। कन्दमूल खोज्न जंगलतिर जानुपर्ने आफ्नो बाध्यतालाई कसैले नसुनेकोमा उनीहरू दुखित छन्। हामीले राज्य नै त मागेका छैनौं। जीवनयापन गर्न सिँचाइको व्यवस्था गरिदिन आग्रह गरेका हौं। त्यसतिर कसैले सुनुवाइ गरेको छैन।'

Comments