सत्ता बाँडफाँटमा विवाद राजनीतिक सहमतिविरूद्ध अभ्यास

 
राष्ट्रपति को हुने र कसलाई बनाउने भन्ने विवाद अहिले उत्कर्षमा पुगेको छ। केही नामलाई सार्वजनिक बहसमा ल्याउन मूलढोकाको साटो झ्यालको उपयोग गरिंदैछ। यस समय राष्ट्रपति पदका लागि चर्चित नाममध्ये गिरिजाप्रसाद कोइराला, रामराजाप्रसाद सिंह, डा. देवेन्द्रराज पाण्डे, पद्मरत्न तुलाधर, सहाना प्रधान र चर्चामा नल्याई चर्चा गरिनुहुनेमा पूर्वप्रधानन्यायाधीश विश्‍वनाथ उपाध्याय हुनुहुन्छ। ब्लग बहसकै कुरा गर्ने हो भने कृष्ण पहाडीको नाम पनि पर्याप्त चलिरहेछ तर पहाडी र पाण्डेहरूले तत्काल विगतमा सम्पन्न सफल जनआन्दोलनको ज्वारभाटा पैदा गर्ने क्रममा नै भविष्यमा कुनै पनि नियुक्ति नखाने र पदमा नजाने वचन जनतालाई दिइसकेका छन्। उनीहरूले कुनै पनि पदमा नगई सदा खबरदारीमात्र गर्ने भनेपछि जनता आन्दोलनमा माहुरीको गोलो खनिएझैं सडकमा ओर्लिएका थिए। यस कुरालाई कृष्ण पहाडीले आज पनि निष्ठाका साथ उठाइरहेको पाइएको छ। पाण्डेले पनि कुनै पदका लागि अनुनय गरेको सुनिएको छैन यधपि पहाडी र पाण्डेजस्ता व्यक्ति राजनीतिक दलहरूका लागि किन पनि पाच्य हुन सक्दैनन् भने उनीहरू दलहरूका नाजायज र अविवेकहरूका मौनसाक्षी बन्न चाहँदैनन्। नेता अथवा दलहरूले गरेका अपकृत्यहरूको समेत प्रशंसा गर्ने र अपराधलाई समेत ढाकछोप गर्न नसक्ने कोही पनि दलहरूका लागि मान्य र उपयुक्त हुनसक्दैन। नेपालजस्तो अविकसित र पछौटे सोच भएका नेताहरूको कब्जामा रहेका पार्टीहरूमा त विवेक र वास्तविकता खोज्नु आफैं एउटा नाजायज मूर्खता हुनेछ। जतिसुकै अग्रगामी सोच भएको दाबी गर्ने माओवादीसमेत यस्तै परम्परागत रोगबाट ग्रस्त छ। राष्ट्रपति पदका लागि माओवादीले नै ज्यादा बहस चलाइरहेछ। यस दलका अध्यक्ष प्रचण्डलाई राष्ट्रपतिका रूपमा प्रचारितमात्र गरेन, सक्रिय राष्ट्रपतिको बहससमेत चलाउन पुग्यो। राष्ट्रको परिस्थिति नबुझीकन या भनौं बुझ पचाउँदै माओवादीले यस अडानलाई केही दिनसम्म आफ्नो प्रतिष्ठाको मुख्य विषय बनाइरहयो। त्यसपछि नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालामा बहस केन्द्रित हुन पुग्यो तर सत्ताको लेनदेनमा सायद कुरा मिल्न नसकेपछि नयाँ कार्ड फ्याँकिएको छ। माओवादी नेताहरूले दिएको जानकारीलाई भर गर्ने हो भने कांग्रेसका नेताहरूबाट प्रधानमन्त्री कोइरालालाई राष्ट्रपति बनाउन माओवादीसमक्ष धेरैपटक आग्रह भइसकेको छ तर कुनै पनि हालतमा उसलाई यो आग्रह मान्य हुनसक्दैन। कांग्रेसका तर्फबाट यस विषयमा कुनै पनि प्रतिक्रिया सार्वजनिक भएको छैन। त्यस पार्टीको मौनता आफैं यौटा रहस्य र सन्देहको कारण बनिरहेको छ। यदि उनीहरूले नेपाली कांग्रेस र खासगरी कोइरालाका लागि राष्ट्रप्रमुख पदको अडान राख्दैछन् भने त्यसलाई औपचारिक बहसमा ल्याउन सक्नुपर्ने थियो। पार्टीका निम्ति कुनै दाबी छ भने त्यसलाई पनि सार्वजनिक रूपमा प्रस्तुत गर्ने हिम्मत गर्नुपर्छ। नेकपा (एमाले) ले पनि माओवादी अध्यक्षसँग खुसुक्क आफ्ना लागि राष्ट्रप्रमुख पदको याचना गरेको चर्चा चलेको थियो। त्यो चर्चा समयक्रममा सेलाएको छ। यता राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफूबाहेक अरू कसैलाई पनि दान नगर्ने भनी केही दिनसम्म चरित चर्चामा संलग्न माओवादी केही लचिलो र दयालु भएझै गरी ठूला पार्टीबाट राष्ट्रप्रमुख नदिने प्रस्ताव अघि सार्न पुगेको छ तर पछिल्लोपटक राष्ट्रपतिका लागि माओवादीले सार्वजनिक गराएका नाममा एमालेनेत्री सहाना प्रधानको नाम समावेश गरेर ठूला पार्टीलाई नमान्ने सर्त पनि परित्याग गरेको देखाएको छ। तैपनि क्रमश: परिस्थिति सहमतिअसहमति हुँदै सहमतिविरूद्ध राजनीतिक अभ्यासका रूपमा देखिन लागेको छ। असहमतिको राजनीतिलाई आफ्ना पक्षमा जनसमर्थन लिने एक उपयुक्त बहनाका रूपमा माओवादीले लिएको प्रतीत हुँदैछ भने अरू दल खासगरी कांग्रेस र एमालेले परिस्थिति आफूअनुकूल बनाउन सकिन्छ कि भन्ने रणनीतिका रूपमा असहमतिको धराप थापिरहेको लाग्दैछ यधपि संविधान संशोधनका मुद्दामा यी ठूला दलहरू एका ठाउँ जुटिसकेका छन्। सत्ताको बाँडफाँटमा मात्र किचलो हुँदैछ। सामान्य अवस्थामा यस्तो किचलो जायज मानिन पनि सक्छ तर अहिलेको अवस्था सजिलो छैन। सहमतिको राजनीतिलाई निरन्तरता दिने कि आफूखुसी चल्ने भन्ने निर्णय गर्नुपर्दछ। त्यसपछि ठूला दलहरू कम्तीमा पनि माओवादी, कंाग्रेस र एमालेले राष्ट्रपति पदमा निश्‍िचत आधार निर्माण गरी राजनीतिक व्यक्तिबाट राष्ट्रपति बनाउने कि गैरराजनीतिक क्षेत्रबाट बनाउने, साना दलबाट बनाउने कि ठूला दलबाट लिने, कुन र कस्तो योग्यता भएको, महिला कि पुरूष, दलित, जनजाति, भूविकटताले पछाडि परेको क्षेत्र कि अन्य क्षेत्रबाट बनाउनेजस्ता प्रश्‍नको टुंगो लगाएपछि मात्र राष्ट्रपतिका लागि नाम चर्चामा ल्याउनुपर्ने थियो। त्यसपूर्व राष्ट्रपति चयन गर्ने विधि के र कस्तो हुने, आमनागरिकले सीधै राष्ट्रपति पदमा उम्मेदवारी दिन पाउने कि नपाउने, संविधानसभाले सोझै मनोनयन गर्ने हो भने पनि आधिकारिक प्रस्तावक को र कसरी हुने, सभासद्बाटै नाम चयन गर्नुपर्ने कि बाहिरबाट पनि प्रस्ताव गर्न सकिने हो, प्रस्ताव गर्दाका आधार के हुनसक्छन् र राष्ट्रपतिको योग्यता, उसले गरेको योगदान र उसको आचरणका मापक केकस्तो हुनुपर्छ भन्ने कुराको कुनै छिनोफानो भएको छैन। अकस्मात र नाटकीय शैलीमा मूल ढोका बन्द गरी झ्यालबाट केही व्यक्तिका नाम उराल्ने र व्यक्तिलाई अनावश्‍यक विवाद र बहसमा ल्याउने अनि उसको रहेसहेको मानमर्दन गर्ने काम राजनीतिक नेतृत्वले गरिरहेको छ। यसबाट राष्ट्रप्रमुखको गरिमाको समेत प्रकारान्तरले उपहास भइरहेको छ। माओवादीले सार्वजनिक रूपमा प्रकारान्तरले प्रक्षेपण गरेका नाम हुन् कि भित्रभित्रै कांग्रेसले प्रस्तुत गरेका गिरिजाप्रसाद हुन् राष्ट्रपति बन्न योग्य छन्। अरू धेरै नागरिक राष्ट्रपतिका लागि ती नामबाहेक कम योग्य छैनन्। कामका सन्दर्भमा देश बाहिर रहेका अरू कतिपय व्यक्ति बढी योग्य पनि हुनसक्छन्। उनीहरूले राजनीति नै गरेको हुनुपर्छ भन्ने छैन तर आजको नेपालको सन्दर्भमा राजनीतिक सन्तुलन र सहकार्यको संस्कृति अघि बढाउन पनि राजनीतिक व्यक्ति मात्र नभएर ठूलो दलबाटै राष्ट्रप्रमुख हुनु जरूरी छ। त्यसो नभए औपचारिकमात्र होइन, त्यो राष्ट्रप्रमुख सरकारको नेतृत्व गर्ने पार्टीको यौटा लाचार कठपुतलीमात्र साबित हुनेछ। यतिखेर सत्ताको साँचो लिन व्यग्र माओवादी त्यस्तै अनेक बहानामा यौटा कठपुतलीको कल्पना गरिरहेको छ। अरू दल किंकर्तव्यविमूढको स्थितिमा छन् भने राष्ट्रिय शक्तिका रूपमा स्थापित चौथो ठूलो दल मधेसी जनअधिकार फोरम र पाँचौं ठूलो शक्ति तराईमधेस लोकतान्त्रिक पार्टी पनि ठूला दलकै चाकाचुलीको आनन्द उठाउन व्यस्त छन्, जसकारण राजनीति असहमतिको दीर्घकालीन भासमा जाने खतरा देखिएको छ।

Comments