मोबाइल गुणस्तरीय बनाउने प्रतिबद्धता

 

नेपाल टेलिकमका नवनियुक्त प्रबन्धनिर्देशक रूपक हल्डरले मोबाइल सेवा गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। टेलिकमको मोबाइल फोन गुणस्तरीय नभएको उपभोक्ताले व्यापक गुनासो गरिरहेको सन्दर्भमा बिहीबारमात्र प्रबन्धनिर्देशकमा नियुक्त भएका हल्डरले भने, 'नम्बर एक अवस्थामा रहेको टेलिकमको भविष्य मोबाइल सेवा गुणस्तरीय र उपभोक्तामुखी बनाउन सके मात्र कायम रहन सक्छ।' ग्रामीण क्षेत्रमा व्यापक सेवा विस्तार गर्ने र मोबाइल फोन उच्चगुणस्तरीय बनाउने आफ्नो प्रमुख योजना रहेको पनि उनले जानकारी दिए। नेपाल दूरसञ्चार कर्मचारी संघको पाँचौं केन्द्रीय परिषद् भेला उद्घाटन कार्यक्रममा शुक्रबार उनले सेवा गुणस्तरीय बनाउने चुनौतीलाई आफूले अवसरको रूपमा लिएको बताएका छन्। ग्रामीण क्षेत्रमा टेलिकम मोबाइलको अधिक माग छ। मागअनुसार कम्पनीले आपूर्ति गर्न सकेको छैन। कार्यक्रममा नेकपा एमालेका महासचिव झलनाथ खनालले दूरसञ्चार क्षेत्रको दीर्घकालीन विकासका लागि एकीकृत राष्ट्रिय योजना र मापदण्ड तय गर्नुपर्ने बताए। नेपाललाई 'ग्लोबल भिलेज' का रूपमा विकास गर्न नयाँ ढंगले नीति निर्माण गर्नुपर्ने उनलेे बताए। दूरसञ्चार सेवा हरेक जनताको आवश्‍यकता हो। सेवा सस्तो र सर्वसुलभ बनाउन सक्ने गरी कार्यक्रम तय गर्न पनि उनले आग्रह गरे। शैक्षिक, सामाजिक, आर्थिक, राजनीतिकलगायत सबैको समान पहुँच कायम गर्न सकेमात्र नयाँ नेपालको परिकल्पना साकार पार्न सकिन्छ, उनले भने। नेपाल टेलिकम सञ्चालक समितिका सदस्य कुमारजंग कार्कीले कम्पनीले ग्राहकमुखी कार्यक्रम ल्याई जनताको विश्‍वास जित्न सक्नुपर्ने बताए। टेलिकममा चुनौती र अवसर दुवै छन्। अवसरको सदुपयोग गर्न देशभर मोबाइल सेवा विस्तार गर्न द्रुत गतिमा काम भइरहेको छ, उनले भने। नेपाल दूरसञ्चार कर्मचारी संघका अध्यक्ष गोपाल ढकालले ग्रामीण क्षेत्रमा सर्वसुलभ सेवा विस्तार गर्न कम्पनी व्यवस्थापनले विशेष ध्यान दिनुपर्ने बताए। उपभोक्तामुखी सेवा विस्तार गर्न सके कम्पनीको साख अझै बढ्नेछ, उनले भने। कर्मचारीहरूले टेलिकम कम्पनीमा परिणत गरिएको लामो समयसम्म पनि यसका दीर्घकालीन योजना र रणनीति स्पष्ट पार्न नसकेकोमा सरकारको आलोचना गरे। सर्वसाधारणमा हालसम्म जम्मा पाँच प्रतिशत सेयरमात्र बिक्री गरिएको छ। बाँकी सेयर कुन प्रक्रियामा कहिले बिक्री गर्ने भन्ने निर्कोल हालसम्म हुन सकेको छैन। पहिलो चरणको सेयर बिक्री प्रक्रिया पनि त्रुटीपूर्ण भएको कर्मचारीको गुनासो छ। टेलिकम सरकारी स्वामित्वमा सञ्चालित नाफामूलक संस्था हो। कम्पनीमा परिणत गरिए पनि सबै सेयर बिक्री भइनसकेकाले सरकारी नियन्त्रण कायम रहेको हो। टेलिकमको १५ लाखभन्दा बढी मोबाइल प्रयोगकर्ता छन्।

Comments