सामुदायिक बनमा मानव निर्मित ताल

 

भरतपुर नगरपालिका- १२ का स्थानीय बासिन्दाले घरपालुवा पशुपक्षीलाई होइन, जंगलमा स्वतन्त्रतापूर्वक विचरण गर्ने जंगली जनावरलाई पानी खान दिने एउटा ताल बनाएका छन्। मानवबस्तीबाट डेढदेखि दुई किलोमिटर पूर्वतर्फको बरण्डाभार जंगल क्षेत्रमा रामबेल सामुदायिक बन उपभोक्त ा समितिले बनाएको सो ताल हो 'रामवेल राइनो ताल'। चितवन राष्ट्रिय निकुञ्जबाट महाभारत पर्वत शंृखलासम्म जोडिएको बरण्डाभार क्षेत्रमा गैंडा, जंगली हात्तीलगायतका जंगली जनावर आउने र नजिकको बस्तीमा पसेर खेती खाने, दुख: दिने गरेपछि जनावरलार्ई जंगली क्षेत्रमा नै भुलाउने उद्देश्‍ले यो ताल निर्माण गरिएको भए पनि पछिल्लो समयमा आएर तालले पर्यटक आकर्षण गर्न थालेको छ। यस क्षेत्रमा पर्यटक विचरणका लागि पाँचवटा डुंगा पनि राखिएको छ। 'डुंगा ल्याएपछि पर्यटक आगमनको दर हवात्तै बढ्यो', उपभोक्त ा समितिका अध्यक्ष ललित बस्नेतले बताए। शनिबारको दिन त तालमा राखिएका पाँचवटा डुंगाले पनि पर्यटकको धित मेट्न सकेको छैन। कतिपय त पालो पर्खंदापर्खंदै डुंगा चढ्न पनि पाउँदैनन्। १० जना यात्रुु क्षमताका ती डुंगामा सयर गर्नको लागि समितिलेे प्रतियात्रु १० रूपैयाँ वा प्रतिडुंगा प्रतिघन्टा ८० रूपैयाँ लिने गरेको छ। रामबेल सामुदायिक बन उपभोक्ता समिति र तराई भूपरिधि (ताल) कार्यक्रमको आर्थिक सहयोगमा २०६३ जेठ १२ गतेदेखि निर्माण सुरू गरिएको र हालसम्म निर्माणकार्य जारी रहेको हालसम्म सात लाख रूपैयाँ खर्च भइसकेको छ। तालको बाँध कमजोर भएकाले वर्षाको समयमा ताल फुट्ने हो कि भन्ने डर छ भने, हिउँदको समयमा तालमा पानी थप्न सकिने कुनै व्यवस्था छैन। हालैमात्र तालमा हुन सक्ने बढी पानी 'आउटलेट' निर्माण गर्न थालिएको छ। सुरूमा जंगली जनावरको लागि भनेर बनाइएको भए पनि पछिल्लो समयमा आएर पर्यटकीय आकर्षण बनेको उक्त ताल क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सकिएको खण्डमा दोहोरो फाइदा हुने समितिका सदस्य एवं पत्रकार गणशेखर शर्माको धारणा छ। उनी भन्छन्, अब पानी अभाव भएको समयमा भर्ने र बढी भएको समयमा फाल्ने व्यवस्था गर्न सकियो भने ताल स्थायी प्रकृतिको हुन्छ। मृगकुञ्ज मध्यवर्ती क्षेत्र उपभोक्त ा समितिका अध्यक्ष वासु ढुंगानाले ताल निर्माण गर्नुले सिमसार क्षेत्रको विकास हुने भएकाले यस्ता कामलाई सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिए। उनले राइनो ताल बनेपछि बीसहजारी ताल संरक्षणमा समेत सहयोग पुग्ने पनि बताए। तर, पर्यटक आगमनको नाममा जंगली क्षेत्रका हुन सक्ने प्रदूषणबाट भने उक्त क्षेत्रलाई बचाउनुपर्छ ढुंगानाको भनाइ छ।

Comments