दस वषीया बालिकाले गरिन् पारपाचुके


उनी यति फुच्ची थिइन् कि अदालतको कोठामा हतारहतार पस्ने वकिल र कर्मचारीले उनलाई देखेनन् । लन्च ब्रेकमा सबै खाजा खान बाहिरिए । १० वर्षीया नुजुद अलिमात्र बेन्चमा बसेको देखेर न्यायाधीशले एक्लै के गरिरहेको भन्ने प्रश्न तेस्र्याए । 'सम्बन्धविच्छेद गर्न आएको,' उनले उत्तर दिइन् । नुजुद अलिका गरिब बाबुआमाले उनको बिहे ३० वर्ष काटिसकेको मानिससँग गरिदिए । ती मानिस नुजुदलाई कुट्थे । जबरजस्ती यौनसम्पर्क गर्थे । 

आफूले सहनुपरेको दुव्र्यवहारका बारेमा उनले आफ्ना अभिभावकलाई भनिन् । तर, उनीहरूले छोरीलाई सहयोग गर्न अस्वीकार गरे । सानिमाले उनलाई अदालतसम्म जाने बस खर्च र सम्बन्धविच्छेदका लागि खर्च दिइन् । साना विश्वविद्यालयले २००६ मा गरेको अध्ययनअनुसार ५२ प्रतिशत यमनी केटीको बिहे १८ वर्ष पुग्नुअघि नै भएको बताएको छ । नुजुदको घटना बाहिर आएपछि कैयौं बालिकाहरू सम्बन्धविच्छेदको विषयलाई लिएर सार्वजनिक भएका छन् । 'अब म शैक्षिक अध्ययन पूरा गर्न चाहन्छु । म वकिल बन्न चाहन्छु,' नुजुद भन्छिन् । उनका बेरोजगार बाबुका दुई श्रीमती र १६ छोराछोरी छन् । उनी काम खोज्दै यमनको राजधानी साना आए । तर, कामको सट्टा थप संकट पाए । उनले फेब्रुअरीमा नुजुदको बिहे ३० वर्ष नाघेका फायज अलि थामेरसँग गराइदिए । थामेर हाजाका स्थानीय बासिन्दा हुन् । उनी मोटरसाइकल डेलिभरी म्यानको काम गर्थे । 

नुजुदका अभिभावक सानै उमेरकी भए पनि बिहे गरिदिएर छोरीका लागि राम्रो गरेको दाबी गर्छन् । छोरीलाई बिहे गरेर दिँदा आफूले दाइजो पनि नलिएको बताउँछन् । तर, यो दाबी धेरैजसो यमनीले पत्याउँदैनन् । बाबुआमाले बताएअनुसार नुजुद नहुर्केसम्म फायजले यौनसम्बन्ध नराख्ने वचन दिएका थिए । ' हामीले त आफ्नी छोरी हुर्काउन दिएका थियौं,' आमा भन्छिन् । तर, यो दाबीलाई फायजले स्वीकार गरेका छैनन् । 

बाबु अदाल पनि आफ्ना दुई दिदीको नियति नुजुदले व्यहोर्नुनपरोस् भन्ने चाहँन्थे । एउटी दिदीलाई अपहरण गरिएको थियो भने अर्की आफ्नो रक्षा गर्न खोज्दा जेलमा थुनिन पुगेकी थिइन् । यी दुवै घटना अन्तरजातीय विवादले गर्दा भएका थिए । 'मैले त नुजुदलाई जोगाउन खोजेको थिएँ,' बाबु भन्छन् । भविष्यमा नुजुद बिहे गर्न चाहन्छिन् । तर, उनलाई बिहेको अर्थ थाहा छैन । उनी आफ्नै साथीहरूसँग लुकामारी र डोरी तान्ने खेल खेल्न मन पराउँछिन् । उनलाई चकलेट र नरिवलको बास्ना मनपर्छ । समुद्रमा पौडिन सकियोस् भनेर उनी कछुवा बन्ने सपना देख्छिन् । 

'मैले कहिल्यै समुद्र देखेकी छैन,' उनी भन्छिन् । दुलाहाको गाउँमै उनको विवाह भएको थियो । विवाहमा ४० जना उपस्थित थिए । विवाहमा नुजुदलाई तीन जोर नयाँ लुगा र २० डलर पर्ने आंैठी दिइएको थियो । नुजुदको दुःख विवाहको पहिलो रातमै सुरु भयो । श्रीमान्ले उनलाई सँगै सुत्न भने । नुजुदले मानिनन् र कोठाबाट निस्किन् । पछि उनी कुटाइ पनि खान थालिन् । हप्तांैसम्म उनी रोइन् । रात पर्न लाग्नासाथ उनी डराउँथिन् । 'मैले उनलाई मसँग नसुत्न भनेँ,' नुजुद भन्छिन्, 'तर, उनले भने हामी एउटै कोठामा सँगै सुत्नुपर्छ । तेरो बाउले मलाई ज्वाइँ मानिसकेका छन् ।' हप्तांै पछि माइत र्फकेर उनी रोइन् । सबै कुरा बताइन् । तर, उनका बाबु विवश थिए । 'पारपाचुकेको माग गरेर परिवारको इज्जत गुमाएको भए मेरा आफन्तले मलाई मार्ने थिए,' उनी भन्छन् । 

तर, नुजुदकी सानिमाले उनलाई अदालतमा जान गोप्यरूपमा सल्लाह दिइन् । नुजुदलाई अदालतको बेन्चमा एक्लै देख्दा विस्मित भएका न्यायाधीशले सप्ताहान्तमा उनलाई आफ्नो घर लाने निधो गरे । उनकी छोरीहरूसँग नुजुदले कहिल्यै नदेखेका पिङ र खेलौना थिए । उनीहरूसँग टेलिभिजन सेट पनि थियो । न्यायाधीशको घरमा टेलिभिजनमा रमाउँदै कार्टुन हेरेर नुजुदले तीन दिन बिताइन् । अदालत खुल्नासाथ न्यायाधीशले नुजुदका बाबु र श्रीमान्लाई गिरफ्तार गर्न प्रहरी पठाए । नुजुदलाई उनले मामाको हेरविचारमा राख्न दिए । यति हुँदाहँुदै पनि नुजुदको मुद्दा कसरी अगाडि बढाउने भन्ने अन्योल वकिल र न्यायाधीशहरूलाई थियो । नुजुद र उनका मामा कैयौं दिन अदालतमा झुले । एक दिन एउटी वकिल तथा महिला अधिकारकर्मी नसिर आइन् र सोधिन्, 'तिमी नुजुद हौ ? पारपाचुके चाहने तिमी नै हौ ?' 

नुजुदले स्वीकारिन् । 'मैले आफ्नो आँखालाई नै विश्वास गर्न सकिनँ,' नसिर भन्छिन् । नुजुदलाई देख्दा उनलाई आफ्नै आठवर्षे छोरी लामियाको सम्झना भयो । नसिर नुजुदकी श्रीमान् फायजलाई थुनेको जेलको कोठामा गइन् । यी दुईबीचको उमेरको अन्तरले उनलाई स्तब्ध बनायो । 'यस्ती सानी केटीसँग तिमी किन सुत्यौ ?' उनले झोक्किँदै सोधिन् । नसिरले सित्तैमा मुद्दा लड्ने र हेरविचारसमेत गर्ने वाचा नुजुदसमक्ष्ा गरिन् । उनले नुजुदलाई आफ्नो घरमा राख्न लगिन् । नसिरको झोँक अझै साम्य भएको थिएन । उनले यमनकै एकमात्र अंग्रेजी अखबार 'यमन टाइम्स' सँग सम्पर्क राखिन् । आफ्नो अधिकारका लागि एक्लै अदालत पुग्ने साहसी बच्ची नुजुदको कथाले मुलुकलाई नै मन्त्रमुग्ध बनायो । यो कथा विश्वभर फैलियो । अदालती कारबाहीको दौरान न्यायाधीश मोहम्मद घादीले झोक्किँदै नुजुदका श्रीमान् फायजलाई भने, 'विवाह गर्नका लागि यमनभरि तिमीले अर्की महिला फेला पार्न सकेनौ ?' 

तर, कानुनीरूपमा यी न्यायाधीश केही गर्न सक्दैनथे । यमनी कानुनमा वैवाहिक सम्बन्धभित्र यौनदुव्र्यवहारका लागि कसैलाई दण्डित गर्ने प्रावधान छैन जसले गर्दा नुजुदका श्रीमान् र बाबु जेलमुक्त भए । फायजले त नुजुदले दिएको पारपाचुके स्वीकार्न दुई सय ५० डलरसमेत मागे । नुजुदप्रति सहानुभूति राख्ने एक वकिलले यो रकम दिए । पारपाचुके स्वीकार गरेपछि नुजुद दंग परिन् । उनले भनिन्, 'मलाई चकलेट देऊ, स्याउ देऊ, केक र खेलौना देऊ ।' 

नसिरले उनलाई नयाँ लुगा किनिदिइन् । युरोपभरिबाट उनको शिक्ष्ााका लागि प्रस्तावहरू आए । एउटा अखबारले नुजुदलाई भव्य पार्टी नै दियो । एक पत्रकारले उनलाई मोबाइल उपहार दिए । यो अनुभवले आफूलाई अझ बलियो र बुद्धिमान् बनाएको भनाइ नुजुदको छ । 'म उत्पीडित जनताको रक्षा गर्न चाहन्छु । म अरू केटीका लागि उदाहरण बन्न चाहन्छु,' तीन कक्षामा पढ्दै गरेकी नुजुदले भनिन् ।

(नयाँ पत्रिकाबाट)

Comments