लखपति बने माहुरीपालक किसान

आधा दशकअघि माहुरीपालन थालेका वासुदेव भट्ट अहिले लखपति बनेका छन्। दशरथ चन्द नगरपालिका- ४ पल्लाचौडालीका भट्टले एक घारबाट माहुरीपालन सुरू गरेका थिए। उनले माहुरीपालनबाटै व्यावसायिक फड्को मारेको देखेपछि गाउँका अन्य परिवार पनि अहिले माहुरीपालन व्यवसाय सुरू गरेका छन्। आधुनिक माहुरीपालनमा लागेका भट्टको सिको गरी पल्लाचौडालीका ४० परिवार अहिले माहुरीपालनमै व्यस्त छन्। आधुनिक माहुरीपालन सुरू गरेपछि यी किसानको आर्थिक जीवनमा समेत व्यापक सुधार आएको छ। पल्लाचौडालीका भट्टले छ वर्षअघिदेखि आधुनिक माहुरीपालन व्यवसाय सुरू गरेका हुन्। २०५९ सालमा वातावरण पत्रकार समूहले एक घार माहुरी दिएपछि सुरू भएको भट्टको सफल व्यावसायिक यात्रा अहिले अरूका लागि समेत गतिलो उदाहरण बनेको छ। भट्ट अगुवा कृषक हुँदै माहुरीपालन गर्न सिकाउने प्रशिक्षकसमेत भएका छन्। उनले प्रवर्द्धन गरेको माहुरी लगेर व्यावसायिक स्वरूप दिएपछि अन्य किसानको आयमा समेत वृद्धि भएको छ। प्रशस्त मात्रामा चरन क्षेत्र तथा उत्तर र दक्षिणमुखी जमिन भएकाले पल्लाचौडालीमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ। परम्परागत मुडे घार तथा माहुरी हटाएर यहाँका किसान आधुनिक घार, माहुरी र प्रशोधन सामग्रीको प्रयोग गरिरहेका छन्। सफल व्यवसायी भट्ट भन्छन्, 'माहुरीलाई चाहिने चिउरी, रिठा, लप्सी, टुणी र डालेघाँसलगायतका फूल फुल्नेजातका रूखबिरूवा प्रशस्त भएकाले सजिलैसँग माहुरी हुर्काउन सजिलो भएको छ।' छ वर्षको अवधिमा उनले झन्डै १० लाखबराबरका माहुरीका घार र मह बिक्री गरिसकेका छन्। अहिलेसम्म साढे दुई सयभन्दा बढी घार माहुरी र चार क्विन्टल मह बिक्री गरिसकेको उनले बताए। 'माहुरी पालनबाट नै घरपरिवार धानिएको छ।' मनग्य आम्दानी भएकोमा हर्षित भट्टले भने, 'गाउँका अन्य किसानले पनि राम्रै कमाएका छन्।' बैतडीमा सेराना जातको माहुरी फापेका छन्। त्रिपुरा सुन्दरी माहुरीपालन समूह खोलेर समूहबाट अरू किसानलाई माहुरी वितरणसमेत गरिन थालिएको छ। दशरथ चन्द नगरपालिकामा प्रवर्द्धन गरिएका माहुरी छिमेकी जिल्ला बझाङ र दार्चुलासम्म पुग्न थालेका छन्। पहिलो पटक गैंडाकोटबाट ९० हजार ट्रक भाडा तिरेर माहुरी भित्र्याएका थिए।

Comments