नेपालको विद्यालयमा बन्देमातरम्


नेपाली पाठ्यक्रम पढाउने सर्तमा विराटनगरमा खुलेको एक विद्यालयले भारतीय पाठ्यक्रम मात्र पढाएको छैन, विद्यार्थीलाई भारतीय राष्ट्रगान बन्देमातरम् घोकाइरहेको छ । १० करोड ४० लाखको लगानीमा गुरुकुल सोसाइटीको नाममा दर्ता भएको सो स्कुल नियमविपरीत नाम फेरेर दिल्ली पब्लिक स्कुलका रूपमा सञ्चालन भइरहेको छ ।
विराटनगर-६ स्थित सो स्कुलले गुरुकुल सोसाइटीको नाममा बुधबार मात्र जिल्ला शिक्षा कार्यालयबाट अनुमति पाएको छ । तर, महिनौंदेखि दिल्ली पब्लिक स्कुलको नाममा विज्ञापन गर्दै कक्षा सातसम्म भारतीय पाठ्यक्रम पढाइरहेको छ ।
भारतको दिल्ली पब्लिक स्कुलकै पाठ्यक्रमलाई समावेश गरेर विद्यालयमा पठनपाठन भइरहेको विद्यालय अधिकारीहरूले समेत स्वीकार गरेका छन् । भारतको सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेसन -सिबिएससी) बाट सम्बन्धन प्राप्त दिल्ली पब्लिक स्कुलकै शाखाको रूपमा सो विद्यालय सञ्चालन गरिएको विद्यालयका कोअर्डिनेटर जितेन्द्र झाले बताए । विद्यालयले सिबिएससी बोर्डबाट स्वीकृत पाठ्यक्रम लागू गरेको छ भने राष्ट्रभाषाका रूपमा समेत हिन्दी पढाइरहेको छ ।
दिल्ली पब्लिक स्कुलमा विराटनगरका नाम चलेका उद्यमीहरूको लगानी छ । उद्यमीहरू तुलसीराम अग्रवाल, देवकिशन मुन्दडा र अरुणकुमार राठी सञ्चालक समितिमा छन् । त्यस्तै, गोविन्दलाल संघाई, दीपक मुन्दडा, बेल्कटेश मुन्दडा, श्याम राठी, मुकेशकुमार राठी र कृष्णकुमार राठी पनि विद्यालयका सञ्चालक हुन् । गुरुकुल सोसाइटी प्रालिको नाममा विराटनगर-६ मा सात बिघा जमिनमा भव्य भवन बनिसकेको छ ।
शिक्षा नियमावलीमा एउटा विद्यालयको स्वीकृति लिएर अर्को नाममा विद्यालय सञ्चालन गर्न नपाउने प्रावधान छ । त्यस्तै, शिक्षा तथा खेलुकद मन्त्रालयको अनुमति नलिई अर्को देशको बोर्डको स्वीकृतिका आधारमा नेपालमा विद्यालय खोल्न नपाउने व्यवस्था छ ।
विदेशी पाठ्यक्रम पढाउने र विदेशकै विद्यालयको शाखा खोल्न सम्बन्धित देशले अनुरोध गरेपछि मात्र शिक्षा मन्त्रालयको स्वीकृतिमा त्यस्ता विद्यालय खोल्न पाउने प्रावधान छ । त्यस्तै, नेपालमा बस्ने विदेशी कूटनीतिक नियोगका कर्मचारीका छोराछोरीलाई सम्बन्धित देशको पाठ्यक्रम पढाउन सम्बन्धित देशको दूतावासको अनुरोधमा शिक्षा मन्त्रालयले विद्यालय खोल्न अनुमति दिन सक्छ । तर, दिल्ली पब्लिक स्कुलले यस्ता कुनै नियम पालना गरेको छैन ।
नियमविपरीत स्कुल सञ्चालन भएको तथ्य सार्वजनिक भएपछि शुक्रबार विद्यालयका अधिकारी, शिक्षा कार्यालयका प्रतिनिधि, निजी विद्यालयका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिबीच अन्तरक्रिया भयो । अन्तरक्रियामा विद्यालयका कोअर्डिनेटर झाले स्वीकृतिविपरीत अर्को नाममा विद्यालय सञ्चालन गरेको र भारतीय पाठ्यक्रम लागू गरेको स्वीकार गरे । निजी विद्यालयका सञ्चालक, विद्यार्थी संगठन र अभिभावक प्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूले नियम मिच्ने व्यवस्थापनलाई कारबाही गर्न माग गरेका छन् । जिल्ला शिक्षा कार्यालयका अधिकृत ओम कटुवालले लिखित निवेदन आए कारबाही गर्ने बताए । उनले भने, 'हामीले दिएको अनुमतिविपरीत विद्यालय सञ्चालन भएको ठहरे कारबाही गर्छौं ।'

(नयाँ पत्रिकाबाट)

Comments