युवतीको बन्द समाज

अथिर जसिम अल ओथम्यानको बैठककोठा भरिभराउ थियो । त्यहाँ अतिथिका रूपमा दुई दर्जन किशोरी नाचगानमा मस्त थिए । सुश्री ओथम्यान र उनकी आमा उनीहरूलाई चिया र मसला बाँड्दै थिए । अचानक म्युजिक बन्द भयो । १८ वर्षकी केटी आलिया अगाडि बढिन् र भनिन् 'केटीहरू हो, म तिमीहरूलाई खास कुरा बताउँदै छु । त्यो के हो भने मेरो बिहेको कुरा छिनियो । ' केटीहरू छक्क पर्दै कराउन र चिच्याउन थाले । आलियासँगै अरूहरू खुसीको आँसु झार्न थाले ।

त्यहाँ उपस्थित स्कुले केटीमध्ये आलियाको सबैभन्दा अघि बिहेको कुरा छिनिएको हो । आलियाको सेल फोनमा उनको हुनेवाला दुलाहा २५ वषर्ीय सैनिक जवान बद्रको फोटो थियो । सबै केटीले धित मर्नेगरी फोटो हेरे । साउदी समाजमा बाबुसँग छोरीको हात माग्न आउँदा केटाले बुर्काबिना केटीलाई हेर्न चाहने अधिकार राख्दछ । यसै प्रसंगमा आलियाका साथीले त्यस घटनाको विवरण केरकार गर्न थाले । साउदी अरेबियामा महिलाले सार्वजनिक स्थलमा हिँड्दा कालो कपडाले शिरदेखि पाउसम्म छोप्नुपर्छ । उनीहरूलाई कालो सिसा भएको गाडीमा राखिन्छ । महिला विद्यालय र विश्वविद्यालयमा मात्र उनीहरू पढ्न पाउँछन् । रेस्टुरेन्टमा पनि 'पारिवारिक क्याबिन' मा मात्र उनीहरू खान पाउँछन् । राजधानी रियादमा केही वर्षयता विशेष रूपमा महिलाकै लागि मात्र व्यायामशाला, बुटिक, ट्राभल एजेन्सी, सपिङ मल खुलेका छन् ।

आलियाका यी चुलबुली साथीहरू अनुदार समाजले आफूमाथि थोपरेको परिधिप्रति सचेत थिए । उनीहरू आफ्नो परिधिमाथि गम्भीर रूपमा प्रश्न पनि उठाउँदैनथे । राम्ररी पालनपोषण भएका अविवाहिता युवतीहरू केटा र पुरुषबाट यतिविघ्न अलगथलग छन् कि जब उनीहरू पुरुषका बारेमा कुरा गर्छन् अलग प्रजातिका बारेमा कुरा गरेजस्तो लाग्छ । नाचगानको त्यसदिन बेलुका अलियाले आफ्नो भावी दुलाहासँग फेानमा कुरा गर्न परिवारले आफूलाई छुट दिएको बताइन् । भोलि उनीहरूबीच पहिलोपटक फोनमा कुरा हुनेवाला थियो । उनी बद्रसँग के-कस्तो कुरा गर्ने भनेर चिन्तित थिइन् । तर, उनका साथीले उनलाई धेरै सुझाव दिए । 'उसलाई उसको कामबारे सोध । पुरुषहरू आफ्नो कामबारे कुरा गर्न रुचाउँछन्,' एउटी साथीले भनिन् । अर्कीले भनिन्, 'उनको मोबाइल कस्तो छ ,गाडी कस्तो छ भनेर सोध्नू । त्यसबाट नै उसले पैसामा केमा खर्च गर्छ भन्ने थाहा हुन्छ । कन्जुस छ कि छैन भन्ने पनि बुझिन्छ ।'

आलियाले साथीका सुझाव टिपिन् । केटाले आफूलाई माग्न आउँदा उनी एकदमै आत्तिएकी थिइन् । जुसको टे्र उनको हातबाट झन्डै खसेको थियो । केटाले के-के भन्यो उनले सम्झन सकिनन् । बद्रसँग फोनमा कुुरा गर्न आलियाले छुट पाए पनि साउदी समाजमा अझ बढी अनुदार परिवारले यस्तो छुट दिँदैन । बिहेको कुरा छिन्नुअघि र बिहे गर्नुअघि केटा र केटीले एकअर्काप्रति आसक्ति जाहेर गर्नु वा कुनै प्रकारको सम्पर्क राख्नु सरमलाग्दो मानिन्छ । तैपनि, यहाँका महिला गोप्य रूपमा पुरुषसँग कुरा गर्न वा भेट्न र पुरुष संसारको एक झलक पाउन कुनै न कुनै उपाय सोच्छन् । आलियाकी १८ वषर्ीया साथी अथिर ओथम्यान पि्रन्स सुल्तान युनिभर्सिटीमा कानुन पढ्छिन् । उनका साथीले केटाको जस्तो लुगा लगाएर खिचेको फोटो उनलाई देखाएका थिए । 'यस्तो धेरै केटीहरू गर्छन्,' १८ वषर्ीया सारा अल-तुखाइफी भन्छिन् । यसो गर्दा धार्मिक प्रहरीले थुन्ने सम्भावना सधैं रहन्छ । साउदी युवाहरूमा बढ्दै गएको विद्रोही व्यवहारप्रति साउदी अखबारले पटकपटक गुनासो गर्दै आएका छन् । धार्मिक प्रहरी र युवामाझ भिडन्त हुने गरेको छ । गाडीमा महिलाहरू रहेको स्थितिमा युवकहरू त्यस गाडीको पिछा गर्छन् । उनीहरूको तात्पर्य महिलालाई आफ्नो फोन नम्बर दिनु हो । गाडीको पिछा गर्ने काम अहिले साउदी सहरी जीवनको हिस्सा नै बनेको छ ।

'कुनै पुरुषसँग अनलाइनमा कुरा गरिरहेको परिवारले फेला पारेमा फोनमा कुरा गरेजति नराम्रो ठानिँदैन,' तुखाइफी बताउँछिन्, 'इस्लामले अपरिचित व्यक्तिको स्वर सुन्न मनाही गरेको हँदा फोनमा कुरा गर्नुलाई बढी आपत्तिजनक मानिन्छ । अनलाइनमा भने पुरुषले महिलाको लेखाइ मात्र देख्दछ ।'

प्राध्यापकलाई डेढ सय कोर्रा
रियाद/ कफी सपमा महिलासँग एक्लै भेट गरेको अवस्थामा पक्राउ परेका एक साउदी अरेबियनलाई एक सय ५० कोर्रा हानियो । यसबाहेक उनी जेलमा आठ महिनाको बन्दी-जीवन बिताउँदै छन् । यस्तो सजाय पाउने व्यक्ति मुहम्मद अली अबु रजिजा हुन् । उनी मनोविज्ञानका प्राध्यापक हुन् । उनलाई धार्मिक प्रहरीले गिरफ्तार गरेको थियो । उनीमाथि इस्लाम धर्मले लगाएको प्रतिबन्ध तोडेको अभियोग लगाइएको थियो । त्यसअनुसार महिलाले आफ्ना नातेदारबाहेक अन्य पुरुषलाई एक्लै भेट्न बन्देज गरिएको छ । द टेलिग्राफ अखबारका अनुसार प्राध्यापक अबु रजिजाले प्रहरीले आफूलाई फसाएको बताएका छन् । ती प्रहरी कुनै बेला ती प्राध्यापककै विद्यार्थी थिए । त्यही बेलादेखि नै उनीहरूसँग उनको व्यक्तिगत विवाद रहँदै आएको थियो । अबु राजिजाले दाबी गरेअनुसार उनले ती महिलालाई कसैको साथ आउन भनेका थिए । तर, उनी एक्लै आइन् । त्यस घटनापछि ती महिलाका बारेमा भने केही जानकारी उपलब्ध छैन । एमनेस्टी इन्टरनेसनलले प्राध्यापकलाई रिहा गर्न साउदी अधिकारीसँग आग्रह गरेको छ ।


(नयाँ पत्रिकाबाट)

Comments