प्रहरीले यसरी भगाए कैदी

प्रहरीले यसरी भगाए कैदी


काठमाडौं, २६ वैशाख
हिरासतमा रहेका अपराधीलाई भगाउने तीन प्रहरी अहिले आफैं हिरासतमा पुगेका छन् । उनीहरूले ज्यानमुद्दामा थुनिएका अपराधी शुक्रे तामाङलाई पूर्वनियोजित योजनाअनुसार भगाएको अनुसन्धानबाट खुलेको छ । आँखाको उपचार गर्न त्रिपुरेश्वर आँखा अस्पताल लैजाने क्रममा एक महिनाअघि बाटोबाटै शुक्रे फरार भएका थिए । अस्पताल लगेर उपचार गरी र्फकने क्रममा कालिकास्थानको बाँसको झ्याङबाट प्रहरीलाई कुटेर अपराधी भागेको प्रचार त्यसबेला गरिएको थियो । तर, प्रहरीहरूले नै सुनियोजित रूपमा अपराधी भगाएको रहस्य खुलेको हो । डिल्लीबजार कारागारमा २०६३ वैशाखदेखि हिरासतमा रहेका तामाङलाई भगाउने प्रहरी हवल्दार कृष्णबहादुर कुँवर र प्रहरी जवान कृष्णबहादुर तामाङ तथा मुराहरि आचार्य पुर्पक्षका लागि केन्द्रीय कार्यालयको बन्दीगृहमा छन् । तामाङ नयाँ बानेश्वरमा रहेको ग्यालेक्सी डिस्कोमा महेन्द्र खड्काको हत्या गरेको अभियोगमा थुनिएका थिए । डिस्कोमा भएको भिडन्तमा परी २०६२ मा खड्काको मृत्यु भएको थियो ।

चिकित्सकको सिफारिसका आधारमा डिल्लीबजार बन्दीगृहबाट शुक्रेलाई बाहिर निकालेपछि प्रहरीले सेतो ट्याक्सीमा राखेर लगेको थियो । तर, उनलाई अस्पताल नलगी सिधा बागबजारमा रहेको पूर्वेली गेस्टहाउसको ३०६ नम्बर कोठामा लगेर हतकडी फुकालेर मोटरसाइकलमा हाली भगाइएको हिरासतमा रहेका प्रहरीको बयानमा उल्लेख छ । बन्दीको नियमित उपचारका क्रममा शुक्रेको आँखामा समस्या देखिएपछि चिकित्सकले २५ चैतमा उनलाई अस्पतालमा लगेर उपचार गराउन सिफारिस गरेका थिए । चिकित्सकको सिफारिसअनुसार २६ गते अस्पताल लैजान बिहान साढे १० बजे प्रहरी हवल्दार कुँवरको नेतृत्वमा दुई प्रहरी जवान तामाङ र आचार्य सेतो ट्याक्सीमा शुक्रेलाई हालेर डिल्लीबजारबाट हिँडेका थिए ।

तर, ट्याक्सी त्रिपुरेश्वरतिर लाग्नुको सट्टा बागबजारतिर हान्नियो । प्रहरी जवान आचार्यको बयानअनुसार प्रहरी जवान तामाङले शुक्रेलाई राख्नका लागि पूर्वेली गेस्टहाउसमा ३०६ नम्बरको कोठा बुक गरिसकेका थिए । कोठामा पुगेलगत्तै कुँवर र तामाङले प्रहरी पोसाक फुकाले । तामाङले सादापोसाक बोकेरै लगेका थिए भने कुँवरले भने प्रहरीपोसाकभित्रै सादापोसाक लगाएर आएका थिए । सादापोसाक लगाएर उनीहरू शुक्रेलाई लिएर हिँडे । आचार्यर्ले बयानमा भनेका छन्, 'मलाई युनिर्फम र हतियार रुँगेर बस्न अह्राएर १०/१५ मिनेटभित्र आउँछौं भन्दै दुई मोटरसाइकलमा चढेर गए ।'

प्रहरी हवल्दार कुँवरको बयानअनुसार शुक्रेले सुकेधारामा रहेका दाइकहाँ पैसा लिन जाउँ भनेकाले उनीहरू बागबजारबाट मोटरसाइकलमा सुकेधारा गएका थिए । सुकेधारा पुगेपछि शुक्रेले चोकदेखि बायाँपट्टकिो चौरमा एकछिन बसौं भने । चौरमा बसेको १० मिनेटमा अपरिचित ६/७ जना केटाहरू आएर आफूहरू शुक्रेको कार्यकर्ता भएको र उनलाई लिन आएको बताएका थिए । कुँवर भन्छन्, 'मैले हुन्न मात्र भनेको थिएँ, उनीहरूले भकाभक खुकुरीले हानेर शुक्रेलाई लगे ।'

खुकुरी प्रहार भएलगत्तै कुँवर गेस्टआउस आए तर तामाङ उनीसँग थिएनन् । उनी कुँवर आएको आधा घन्टापछि मात्र गेस्टहाउसमा आइपुगेका थिए । गेस्टहाउस आएलगत्तै उनीहरूले प्रहरी जवान आचार्यलाई शुक्रे भागेको र आफूहरूले जे भन्यो त्यो नमाने खतरा हुने चेतावनी दिएका थिए । उनीहरूले जोगिनका लागि सोही कोठामा बसेर योजना बनाएका थिए । योजनाअनुसार उनीहरू बागबजारबाट भृकुटीमण्डप हुँदै कालिकास्थानको उकालोमा रहेको बाँसको झ्याङमा आइपुगेपछि आफैंले गोली प्रहार गर्दै 'शुक्रे भाग्यो' भन्दै चिच्याए । कालिकास्थानमा बन्दुक पड्के पनि महानगरीय प्रहरीलाई भने बम पड्केको खबर आएको थियो । सूचना पाएलगत्तै महानगरीय प्रहरीको एक टोली घटनास्थल पुग्यो । तर, त्यहाँ बम पड्केको नभई बन्दुक पड्केको थाहा पाएपछि उनीहरूले घटनामा संलग्न प्रहरीलाई नियन्त्रणमा लिएका थिए । अनुसन्धानका क्रममा प्रहरीले बाँसको झ्याङबाट फालिएको हतकडी र बागबजारमा रहेको गेस्टहाउसबाट रगत लागेको कुँवरको पोसाक फेला पारेको थियो ।

प्रहरीहरूले मिलेमतोमा अपराधी भगाउनुको उद्देश्य प्रस्ट भइनसके पनि उनीहरूबीच पैसाको सम्झौता भएको हुनसक्ने अनुमान गरिएको छ । अपराध पुष्टि भएमा उनीहरूले सेवाबाट हात धुनुका साथै १० वर्ष कैद सजायसमेत भोग्नुपर्नेछ ।

'हवल्दार सा’बले नक्कली फायर गर्न भन्नुभो’
थुनुवालाई आँखा अस्पताल लैजान सवा १० बजे सेतो रङको ट्याक्सीमा चढ्यौं । शुक्रेले पैसा लिएर अस्पताल जाने भनेकाले कमान्डरको आदेशले हामी बागबजार पूर्वेली गेस्टहाउसमा पुग्यौं । ट्याक्सीबाट ओर्ली प्रहरी जवान कृष्ण तामाङले पहिले नै बुक गरेर राखेको कोठा नम्बर ३०६ मा पस्यौं । त्यसपछि कृष्णले युनिर्फम फुकालेर छुट्टै बोकेको सिभिल कपडा लगाए । हवल्दार कृष्ण कुँवरले युनिर्फमभित्रै सिभिल कपडा लगाएका रहेछन् । उनले पनि युनिर्फम खोले । मलाई हतियार र युनिर्फम कुरेर बस्न अह्राए । दुई मोटरसाइकल बाहिर ठीक पारेर राखिएका थिए । हवल्दार साहेबले थुनुवासहित बौद्ध पुगेर पैसा उठाई १०/१५ मिनेटमा आइपुग्छौं भन्नुभयो । आदेशअनुसार म त्यही गेस्टहाउसको कोठामा बसिराखेँ । लगभग ४५ मिनेटपछि एकजना नचिनेको केटा (कृष्णको साथी) ले हवल्दार साहेबको नम्बरमा फोन गर्नु भन्यो । उसैले फोन लगाइदियो । हवल्दार साहेबले 'यहाँ बबाल भयो, शुक्रेले मान्छे राखेको रहेछ, मलाई खुकुरी हान्यो' भन्नुभयो ।

मैले 'अरू कुरा जान्दिनँ जसरी भए पनि शुक्रेलाई लिएर आउनु' भनेँ । उहाँले 'कृष्णेलाई फोन गरेर सोध, शुक्रे छ कि' भनी जवाफ दिनुभयो । फोन गर्दा लाग्दै लागेन । केही समयपछि रगताम्मे भएर हवल्दार साहेब आइपुग्नुभयो । कोठामा पसी उहाँले जीउमा लागेको रगत पुछ्नुभयो र कपडा फेर्नुभयो । १५ मिनेटपछि पहिला सँगै हिँडेका दुई साथीसहित कृष्ण तामाङ मोटरसाइकलमा आइपुगे । 'शुक्रे खै ?' भन्दा 'उसका मान्छेले लगे' भने । हवल्दार साहेबले खोजभन्दा पनि मानेन । उनीहरूले मलाई 'हामीले जे सिकाउँछौं त्यही भन्नु, नत्र ठीक हुनेछैन' भनी धम्क्याए ।

मलाई पाँच सय दिएर ट्याक्सी ल्याउन लगाए । सेतो रङको ट्याक्सी चढेर भृकुटीमण्डप हुँदै कालिकास्थानमा आएपछि हवल्दार साहेबले दुवैजनालाई फायर गर्नु भन्नुभयो । कृष्ण सिभिलमा भएकाले मैले तीन राउन्ड फायर गरेको हुँ । -प्रहरी जवान मुराहरि आचार्यले दिएको बयान)

(नयाँ पत्रिकाबाट)

Comments