ज्ञानेन्द्रलाई नारायणहिटीबाट उठाइएको त्यो रात

मध्यरात भईसकेको थियो । हामी सिंहदरबारभित्रै थियौँ । हामी सिंहदरबारभित्रै थियौँ । प्रधानमन्त्री मोहनशमशेरका हजुरिया कर्नेल सन्तबहादुर अधिकारीले मलाई बोलाए-'मेजर ! ' त्यसपछि आदेश दिए- 'स्ट्यान्ड टु गारद !' म त्यतिबेला जगदल पल्टनको तीन पट्टी, दुई नम्बरमा भर्ती भएको थिएँ । भर्ती भएपछि म प्रधानमन्त्री मोहनशमशेरको आठपहरिया बसेको हुँ, उनी हुन्जेल सँगै बसेँ ।

त्यस रातको कुरा हुँदै थियो । यस्तो आदेश हतपत आउँदैनथ्यो, गम्भीर प्रकृतिको घटना विशेषमा मात्रै आउने गथ्र्यो । केही बेरपछि त हरिशमशेरका जेठा छोरा जर्नेल अरुणशमशेर पनि आइपुगे सिंहदरबारमा । हामी अरुणशमशेरलाई शम्भु जर्साब पनि भन्थ्यौँ । हामीलाई त खुल्दुली भो, अब के हुन आँट्यो भनेर ! त्यस रात सिंहदरबारमा जर्नेल अरुणशमशेर, कर्नेल सन्तबहादुर, मेजर बलबहादुर -थानकोट), कप्तान कुलबहादुर -महाराजगन्ज्ा), सुबेदार मेजर गंगाबहादुर, अर्का एक जम्दार र चारजना सिपाही थिए । अरू पनि थिए होला, मैले नाम बिर्सें ।

सरकारको आदेशअनुसार लाजिम्पाटका कुलबहादुरले तीनवटा गाडी तयार गरे । तर, हामीलाई कहाँ र किन जाँदै छौँ भनेर सुइँको पनि थिएन । हामीलाई फेरि अर्को आदेश आयो- तिमीहरूले जुन हतियार प्रयोग गरेका छौ, त्यो साथमै राख्नू । म त हतियार चलाउन सिपालु थिएँ । जस्तो हतियार पनि चलाउन आउँथ्यो किन भने मैले सैनिक स्कुलमा ६ पाठ सकेको थिएँ । मैले २८ राउन्डको टोमी गन बोकेँ । हामी स्ट्यान्ड बाई नै थियौँ । मध्यरातमा कहाँ जान लागिएको होला भन्ने खुल्दुली त सकिएकै थिएन । हामील्ो सोध्ने कुरा पनि आउँदैनथ्यो । जर्नेल अरुणशमशेरको अगुवाइमा हाम्रो टोली १२ बजे राति सिंहदरबारबाट हिँड्यो । भद्रकाली र महांकाललाई दाहिने पारेर हाम्रा तीन गाडी नारायणहिटी राजदरबारको गेटमा पुगे । मध्यरातमा तीनवटा गाडी एक्कासि झ्याप्प रोकिएपछि नारायणहिटी दरबारको सिपाहीले बन्दुक तेस्र्यायो । ऊ पनि छक्क पर्‍यो होला नि ! मध्यरातमा गेटमा गाडी रोकिएपछि ऊ पोजिसनमा बस्यो । अरुण जर्साप हत्तपत्त गाडीबाट झरेर हात उठाए । 'तैँले मलाई चिनिस् ?' अरुणले नारायणहिटी राजदरबारको गेटमा खटिएको र बन्दुक तेस्र्याएर बसेको सिपाहीलाई सोधे । 'चिनिनँ,' सिपाहीले जवाफ दियो । 'म हरिशमशेरको जेठो छोरो अरुणशमशेर हुँ, ल ढोका खोल् !' अरुणको आदेशपछि सैनिकले ढोका खोल्यो । अरुण जर्सापले अरू के-के भने, मलाई थाहा छैन । त्यसपछि पो थाहा भो, हामी नारायणहिटी राजदरबार जाँदै रहेछौँ । तर, त्यहाँ पनि मध्यरातमा किन जान लागेको हो भन्ने केही थाहा पाइएन । नारायणहिटी दरबारभित्रको पूर्वपट्टकिो मोहोडामा हामीले गाडी रोक्यौँ । त्यहाँको एउटा गेटबाट घरमा पसेर ज्ञानेन्द्र सुतेको खोपीमा पुग्यौँ । एउटा घरको माथिल्लो तल्लाजस्तो लाग्छ, हामी सरासर उक्लियौँ । अरुण जर्साप अघिअघि र हामी पछिपछि थियौँ । ढोकाभित्र हामी छिर्‍यौँ । बालक ज्ञानेन्द्र सरकार मस्त निदाइरहेका थिए । उनलाई बुबु धाई -दूध पिलाउन राखिएकी कामदार) ले सुताएकी थिइन् । दाहिनेपट्टकिो कोठामा ज्ञानेन्द्रका सुसारेहरू सुतेका थिए । हाम्रो टोली पुगेपछि सुसारेहरू बिउँझिए । अरुण जर्सापले मस्त निद्रामा रहेका ज्ञानेन्द्रलाई 'भान्जा !' भनेर बोलाए । निदाइरहेका ज्ञानेन्द्र बिउँझिए । र, उनलाई अरुण जर्सापले च्याप्प बोके । त्यसपछि जर्सापले ज्ञानेन्द्रलाई मेरो हातमा थमाए । मैले केहीबेर बोेकेपछि एकजना धाईलाई दिएँ । उनैले बोकिन् पछिसम्म ।

अरुणशमशेर ज्ञानेन्द्रको ओच्छ्यान उठाउन धाई-सुसारेलाई भन्दै थिए । तर, धाईहरू त धुरधुर रुन पो थाले, घरै थर्किने गरी । पछि जर्सापले धाईहरूलाई सम्झाए- तिमीहरू रुनुपर्दैन । हामी सिंहदरबार लिएर जान्छौँ । केही पनि हुँदैन, चिन्ता नगर । ज्ञानेन्द्रको ओच्छ्यान उठाइयो । जर्सापले तीनजना धाईलाई पनि आफ्ना सरसमान बोकेर हिँड्न भने । त्यसपछि तीनजना धाईसहित ज्ञानेन्द्रलाई लिएर नारायणहिटीभित्रबाट हामी हिँड्यौँ । इतिहासकारले त्यस दिन ज्ञानेन्द्र मावली हरिशमशेरको दरबारमा थिए भन्छन् । तर, त्यो सरासर झूटो हो । म आफैं साक्षी छु, ज्ञानेन्द्र नारायणहिटी राजदरबारमा थिए । उनलाई त्रिभुवन सरकारले किन लगेनन्, त्यो मलाई थाहा भएन । तर, उनी हरिशमशेरको दरबारमा थिएनन् । हामीले नै नारायणहिटीको खोपीबाट उनलाई निकालेका हौँ ।'

ज्ञानेन्द्रलाई बोकेर तल झरेपछि हामी गाडीमा बस्यौँ । तीनवटामध्ये अघिल्लो गाडीमा बलबहादुर मेजर र दुईजना आठपहरिया बसे । बीचको गाडीमा जर्साप -अरुणशमशेर), तीनजना धाईसँगै बालक ज्ञानेन्द्र र म बस्यौँ । पछिल्लो गाडीमा कुलबहादुर कप्तान, सुबेदार जंगबहादुर र अर्को एउटा आठपहरिया बसे । भद्रकाली र महांकाललाई देब्रे पारेर ज्ञानेन्द्रलाई लिएर हामी सिंहदरबार पुग्यौँ । त्यस्तै ४५ मिनेटको बीचमा होला हामी फर्कियौँ । ए, साँच्चि ! ज्ञानेन्द्र बिउँझै थिए, तर रोइकराई केही प्ानि गरेनन् । सिंहदरबारको गेटबाट छिरेपछि दुईवटा गाडी पछि राखियो । ज्ञानेन्द्रसहित जर्साप र म चढेको गाडी भित्रै पुग्यो । भित्र पुगेपछि तीनैजना धाई ओर्ले । ज्ञानेन्द्रलाई पनि ओरालियो । जर्साप पनि ओर्लेपछि सबैजना घरभित्र पसे, म बाहिर निस्केँ । त्यसपछि के भो, मलाई थाहा भएन । पछि पो थाहा भो, त्रिभुवनले गद्दी छाडेर भागेपछि ज्ञानेन्द्रलाई राजा बनाइएको रहेछ ।

(नयाँ पत्रिकाबाट)

Comments