खुल्न बाँकी जीवनका ढोकाहरू

नक् नक् नकिङ अफ हेभन्स् डोरउनले यो बेलायती पपुलर गीत गुन्गुनाइन् । यसो गर्दा आँखाहरू केही ठूला भए र झिमझिम भए । एउटा मिठो मुस्कान हिउँदको पहेंलो पातजस्तै भुइँमा खस्दै गयो ।जीवनमा एउटा मान्छेले कतिपल्ट रहस्यका ढोकाहरू खोल्छ ? जीवनमा मान्छेले कतिपल्ट सही ढोका ढक्ढकाउँछ ? कतिपल्ट गलत ढोकामा ताला लगाउँछ ? संसारमा कतिवटा ढोकाहरू छन्, ती गनिसाध्य छैनन् । 'सम्हाल्न गाह्रो कुन ढोका हुन्छ, मनको या घरको ?' उनले मुस्कुराउँदै भनिन्, 'मनको ।' उनलाई लाग्छ, 'जे छ मनभित्रै छ । त्यो लुटे त सबै सिद्धियो ।' उनले क्रिस्चियन, हिन्दू, मुसलमान, बुद्धिस्ट र जैनसँग सोधिछन्, 'जीवन पार गर्न कतिवटा ढोका पार गर्नुपर्छ ?' सबैको साझा जवाफ थियो, 'यो ब्रमाण्डबाट बाहिर बाहिरिए पनि, जीवनको अन्तिम ढोका लगाए पनि, मृत्युपर्यन्तका अरू ढोकाहरू खोल्न बाँकी नै छन् ।' उनी निर्धक्क भन्छिन्, 'डेथ अफ द बिगिनिङ अफ द ओपनिङ अफ मेनी न्यु डोरस् ।' यसरी जीवनपर्यन्तका अरू ढोकाहरूको खोजीमा निस्किएर 'खुल्ला ढोका' कार्यक्रमका लागि ढोका खोज्न कहाँ-कहाँ पुगेकी उनी हुन्- संगीता थापा ? छयालीसवटा ती भाँच्चिएका, पुराना र जीर्ण ढोकाहरू कवाडीबाट किनिएका थिए । कत्ति भने आएका थिए गिफ्टमा । हुरीका पछि दगुर्दादगुर्दै 'खुल्ला ढोका' कार्यक्रम भयो । आर्टिस्टहरूले आफ्ना कला र रङले ती रङहीन ढोकालाई 'रङ' दिए । कार्यक्रम सकिएपछि, कुनै मान्छे ती ढोका किन्न आयो । आर्टलाई ऊ सोच्दो रहेछ यी त दाउरा हुन् । दुःखभन्दा पनि ढोकाको अर्थ नबुझिदिएले उनलाई धेरै बेरसम्म रन्थनाइदियो ।
बमको मात्र नाता रहेका इजरायली र प्यालेस्टाइनीहरू मिलून् भनेर, इजरायली र प्यालेस्टाइनी बालकले साथ-साथै ढोकाहरूमा पेन्टिङ गरेका थिए । 'हामीले पनि त्यही आइडियाले नेपालमा गर्‍यौं,' संगीता भन्छिन्, 'द्वन्द्वबाट नेपालले मुक्ति पाओस् । बन्द सबै ढोकाहरू खुलून् भनेर हामीले ती ढोका बनाएका थियौं ।'उनलाई म्युजिक खुबै मनपर्छ । 'लार्जर देन लाइफ' स्टाइलमा मुस्कुराउँदै नाम र आफ्नो सामीप्य दर्शाइन्, 'बुबाले छानेरै नामै राखिदिनु भयो नि संगीता ।''एकान्तको अजिङ्गरले निलीनिली बस्छ,' सायद बैरागी काइँलाले यो कविता उनकै लागि लेखिदिएका हुन् ।कतै आर्ट एक्जिभिसनमा त कतै ज्याज म्युजिक कन्सर्टमा मुसुमुसु हाँस्दै, अघिल्लो कुर्सीको 'रो' बाट मुन्टो बटार्दै पछाडि फर्किएर तपाईंलाई 'हेल्लो' भनिदिने उनी कहिलेकाहीँ आफ्नै मनको सुरुङमा हराइदिन्छिन् । मालीगाउँ । अब कुनै फूल बाँकी छैनन्, मालीगाउँमा । हामी अहिले उनको 'डाइनिङटेबुल'को दुवै छेउमा बसेका छौं । उनको पि्रय कुकुर 'बुट्टे' उनकै छेउछाउमा रिंगिरहेको छ । बुट्टेका लामा-लामा कान सुम्सुम्याउँदै भनिन्, 'बुट्टे, नरिसा इन्टरभ्यु दिएको हो के !' टेबुलमा छड्के पल्टिएको बाँसुरी बजाइरहेकी महिलाको मूर्ति लमतन्न परेको छ । जमाल अलअफ गानीले बनाएको यो मूर्ति हेरिरहँदा, कुनै श्रापित युवती यही मूर्तिबाट बाहिर निस्कन्छे कि जस्तो मलाई लागिरहेको छ ।'सिद्धार्थ आर्ट ग्यालरी' खोलेको बाइस वर्ष भइसकेछ । बिहे चौबीस वर्षको उमेरमा भयो । बाईस वर्षअगाडि उनको जीवनमा यस्तो 'इभेन्ट' पनि आयो, जसले उनको जीवनको सारा 'कायापलट' गरिदियो ।
४७ वर्षअघि उनी थापाथलीमा जन्मिएकी थिइन् । कहिले कता कहिले कता पुगिरहने फिरन्तेजस्ता बुबा हिमालयशमशेर राणाका पछि-पछि लागेर उनकी आमा हिँड्थिन् । आमाको पछि, संगीता । उनी बचेरा थिइन् । गुँडका खोजीमा संसारका मान्छेहरूको जंगल चहारिरहेका पक्षीजस्ता थिए, उनका बुबा-आमा । उनको जीवन गणितै गणितले भरिएको छ । अंकहरूले भरिएको छ । र, कहिल्यै जीवनमा आँखा र सपना समानान्तर भएर हिँडेनन् । कहिले आँखा छन्, सपना छैनन् ।पाँच वर्ष श्रीलंका, पाँच वर्ष बर्मा, दुई वर्ष सिंगापुर, ६ महिना पाकिस्तान । यसरी अझै अन्तै पनि छरिएका छन्, जीवनले जुटाइदिएका अंकहरू । १६ वर्षको उमेरमा विवाह गरेकै कारण उनकी आमालाई लाग्थ्यो- छोरी ठूली भई । आफ्नै मौलिक सपनाको संसारमा हराइरहेकी संगीता जब घर फर्किन्थिन्, विवाहका लागि कसै न कसैको फोटो तयार भएर मुस्कुराइरहेको हुन्थ्यो । अनि, झगडा । उनका 'रोल मोडल' आफ्नै बुबा थिए । र, बुबा हिमालयशमशेर थिए- युएनमा । उनलाई लाग्थ्यो, म पनि एक दिन युएनमा हुनेछु । अगाडि फर्फराइरहेको हुनेछ- अन्तर्राष्ट्रिय झन्डा ।
फिजारिएका सुनकलरका कपाल झट्कार्दै उनले सुनाइन्, 'विवाहपछि ती कुनै सपना बाँकी रहँदैन कि जस्तो लाग्थ्यो ।' कुनै बेला उनलाई बुबाले भन्थे, 'धनीलाई पढाइ भनेको शिरको ताज हो, गरिबलाई पढाइ भनेको ठूलो रुखको ओत ।''सफल तिम्रो त्यो जिन्दगीलाई यो दुःखीको बधाइ छ' गीत लेख्ने सुनील थापाको फोटो पनि कता-कताबाट घुम्दै उनको अगाडि मुस्कुराउन आइपुग्यो । उनले फोटो हेरिनन् । भेट भयो, मानिनन् किनभने उनको अगाडि उनको सपनाले पर्खिरहेको थियो । सायद, पर्खिरहेका सपना कुर्दाकुर्दै पीपल बन्छन् । उनी आफ्ना सपनालाई पीपल बनाउन चाहन्नथिन् ।
उनी आफ्ना सपना बोकेर युएसए फर्किन् । तर, सुनील थापाका नामका चिठीहरूले उनलाई पछ्याइरहे । ती पुराना दिनहरू उनको अनुहारभरि छरिन थाले । तर, उनको एक मुस्कानमा तिनले अनुहारबाट फाल हालिदिए । उनले मुस्कुराउँदै भनिन्, 'मैले ती चिठी कहिल्यै पढिनँ ।' यो गर्मीको महिना धुलो र धुवाँलाई छिचोल्दै म उनीकहाँ केही सोध्नै त पुगेको थिएँ । सोधें, 'के चिठीहरू च्यात्नु पनि भयो ?'उनले मुस्कुराउँदै 'नाई' भन्दै टाउको बटारिन् । मैले हाँस्दै भनें, 'मैले त लेखेजति चिठी च्यातिएका छन् ।'
सुनीलको फोन आउँछ भनेर उनले युएसएको 'फोन डायक्टरी'बाट आफ्नो नाम हटाउन लगाइन् । त्यो बेला डायक्टरीबाट नाम हटाएको पन्ध्र डलर लाग्थ्यो । अचानक सुनील युएसए पुगेछन् । र, संगीतालाई खोज्दै पुगेछन्- उनकै कलेज । कसैले भनेन संगीता कहाँ छिन् ?रन्थनिएर हिँडिरहेका सुनीलले कलेजको क्यान्टिनमा संगीताका दाइलाई भेटेछन् । अचानक एउटा नयाँ मोडले उनको फल्याटको ढोका ढक्ढक्यायो । ढोका खोल्दा त दाइ र सुनील अगाडि उभिएका थिए । अघिपछि, एलियनजस्ता लाग्ने सुनील भने यो भेटमा उनलाई लाग्यो घरकै सदस्यजस्तो । विवाहपछि जीवनका अध्याँरा तहखानामा कैद नयाँ-नयाँ ढोकाहरू खुल्दै जान्छन् । बीए पढ्दापढ्दै विवाह भयो । त्यो बेला काठमान्डू असाध्यै सुन्दर थियो । थापाथलीबाट हेर्दा टाढा-टाढासम्म खेतहरू देखिन्थे । रोपाइँका गीतहरू मनलाई छोएर जान्थे । त्यही कुराले उनलाई काठमान्डूमा रोकेर राखे । उनको पीर यस्तो छ, 'जे चिजले तानिएर म यहाँ बसें । अहिले तिनीहरू केही पनि छैनन् ।'अहिले त मन ठाउँमा छँदैछैन । उनी भनिदिन्छिन्, 'लुडोजस्तो हुन्छ मन । कहिले भञ्याङ चढेर माथि पुग्छ । कहिले सर्पले निलेर भुइँमा पछारिदिन्छ ।'
***जिया अलहकको जमानामा उनका बुबा-मुमा पाकिस्तानमा थिए । एक दिन खबर आयो, 'हामी एक्लै छौं ।' संगीता फेरि त्यहाँ पुगिन् ।आर्ट स्कुलमा क्यानभासअगाडि एक्लै टोलाउँदा-टोलाउँदै उनी त्यहाँ पुगिन् । त्यो महिला स्कुल थियो । शिक्षक-विद्यार्थी सबै महिला थिए । कहिलेकाहीँ स्कुलमा पढाउन अतिथि पुरुष शिक्षक आउँदा बुर्काले मुख छोप्नुपथ्र्यो ।
कतिसम्म हुन्थ्यो भने प्रिन्सिपल पनि महिला नै थिइन् । यस कारण बुबालाई पनि छोरी भेट्न गाह्रो हुन्थ्यो । ६ महिनामा उनलाई ६ युगको तपस्या गरेजस्तो भयो । कयौं वर्षअगाडिको कुरा सुनाउँदा पनि त्यसको अत्यास अझै उनको अनुहारमा उदायो । मसिनो आवाजमा सुनाइन्, 'मैले निर्णय गरेकी थिएँ, अब म त्यहाँ बस्दिनँ ।'अमेरिकामा दाइ र भाइ पढिरहेका थिए । त्यै भरमा उनी अमेरिका पुगिन् । आमाको चैन त्यसपछि बाँकिरहेन । उनलाई डर लाग्थ्यो, 'कतै छोरी अंग्रेजसित त विवाह गर्दिनँ ।' संसारभरिका आमाहरू आफ्नै सन्तानप्रतिको निर्दोष स्वार्थले चैन गुमाइरहेका हुन्छन् । त्यहाँ, उनले मास कम्युनिकेसन र एन्थ्रोपोलोजी पढिन् । तर, पेन्टिङ भने सधै आँखावरिपरि झुन्डिरहेकै हुन्थ्यो ।हाँस्दै सुनाइन्, 'बुबालाई आर्ट मनपर्छ ।' थपिन्, 'तर, स्केच कोर्ने 'इलम' भने आमालाई बढी छ ।' आमा जहिले पनि छोरीलाई किचेनमा पुर्‍याउन चाहन्थिन् । बुबाले कलेज । एकछिन् उनी किचेनमा केही कुरा लिन गइन् । आएर भनिन्, 'मलाई मिठो पकाउन आउँछ ।' मैले सोधे, सबैभन्दा मिठो के पकाउनुहुन्छ ?एकछिन् सोचिन् । झट्टै केही उत्तर आएनछ । सोचेर भनिन्, 'खै के भन्ने ?' तर, उत्तर यस्तो आयो, 'नयाँ-नयाँ डिस', अब कुरा बीचमा अल्मलिन थाल्यो, 'फुड पनि यौटा आर्ट हो । पकाउँदै गए, सिक्दै गइन्छ ।'
एकान्तको मजा र त्रास कस्तो हुन्छ, उनलाई थाहा थिएन । उनी त एउटा पक्षी थिइन् । उनको बाल्यकाल भीडमा बित्यो । अटेसमटेसमा बित्यो । दिनभरि थाकेर सुत्दा पनि साथमा महिला हुन्थे । र, साथमै हुन्थे नुहाउँदा पनि । बगैंचामा घुम्दा पनि ।उनी आर्ट स्कुलमा पढ्दा भने एकान्तले उनको ठेगाना पाइसकेको थियो । उनी एक्लै हुन्थिन् । र, साथमा हुन्थ्यो एक्लो क्यानभास । उनैलाई हेरेर टोलाइरहेको ।अब सुनीलको पोस्टिङ पनि कहिले कता कहिले कता हुन थाल्यो । कपनमा बस्ने कुनै मित्र भन्थे, 'म जाफ्ना प्रायद्वीपमा बस्छु ।' कुनै जमानामा सुनील ओरजिनल जाफ्ना प्रायद्वीपमै बस्थे । संगीता भने दुई बच्चासहित कोलम्बो । त्यहाँ बस्नुको एउटै मात्र फाइदा रह्यो, 'मैले त्यहीँदेखि खाना पकाउन थालें ।'चेन्नाई मद्रासमा हुँदा घरमा एउटा बूढो पाले थियो । श्रीलंकन तमिल शरणार्थीहरूको काममा सुनील हिँड्थे । र, संगीता घरभित्र हुन्थिन् । पालेले बाहिरबाट ताला लगाइदिन्थ्यो । ऊ यत्ति भन्थ्यो, 'मास्टर कम आई ओपन ।'
जीवन टिभीले होइन, भोगाइले देखाउँछ । उनी सुनीलसित चेन्नाई पुगिन् । त्यहाँ एउटै घरमा कयौं परिवार चेप्पिएर, निसास्एिर बसेका थिए । परिवारको साँध छुट्याउन झुन्डि्याइएका थिए, साडीका भित्ताहरू । ती सारा परिवार जाफ्नाबाट भागेर आएका थिए, इन्डिया । उनीहरूको जीवन आँसुले भरिएको थियो । उनीहरूका सबै सपनाका ढोकामा ताला झुन्डिएका थिए । उनलाई त्यसबेला लागेछ, 'उनीहरूका दुःखका अगाडि त मेरो दुःखको त कुनै नाम रहेन ।'त्यही एउटा यस्तो परिवार थियो जसले सबै छोडेको थियो- देश, नाम, निद्रा र सपना । तर, पिँजडाको सुँगा छोड्न सकेको थिएन । संगीतालाई पिँजडाका पक्षीहरू मन पर्दैर्नन् । सायद, त्यहाँ आफ्नो अवशेष पनि आउँछ कि ? भावुक हुँदै भनिन्, 'मलाई चराहरू पाल्न मन पर्दैन ।' कहिलेकाहीँ त उनी पिँजडामा बेच्न ल्याएका चराहरू किनेर उडाइदिन्छन् । यस्तो पटक-पटक गरेपछि सुनीलले भनेछन्, 'उडाएर के गछ्र्यौ । तीनलाई उड्न आउँदैन ।'पिँजडामा कुँजिएका चरा हुन् या जनता तिनलाई उड्न गाह्रो पर्छ ।
***
कहिलेकाहीँ उनको मन आफ्नै बसमा हुँदैन । मुस्कुराउँछिन्, 'म त मेरो मनको बाघसित कुस्ती खेल्छु ।''हामी देवशमशेरका परिवार हांै', उनका पछाडि धनी या एलिटको पुच्छर झुन्डिँदा उनी भन्ने गर्छिन्, 'देवशमशेर भगाइएका थिए । उनी सोच्छिन्, 'धनी त अरू राणाहरू पो हुन् त ।' उनका विचारमा बुबाको स्ट्रगलले उनीहरूको परिवार अहिले 'यहाँ' आइपुगेको छ । हिँड्दा बाटोमा कयौं डालाको सुन्तला राखेर बसेका महिला देखेर उनी आत्तिन्छन् । र, सोध्छिन्, 'यी कहिले बिकिसक्छन् ?' जीवनमा हज्जारौं महिला भेटिन् र संगत गरिन् । तर, उनको कुरा यस्तो छ, 'म नेपाली महिलालाई धेरै विश्वास गर्छु । उनीहरू खुब दुःख गर्छन् ।' सायद, नेपाली महिला दुःखलाई नपत्याएर दुःखलाई अस्वीकार गर्छन् ।
कुनै जमानामा घरमा ढोका हुँदैनथे । अहिले ढोका नभएका घर छँदै छैनन् । पुराना कुरा सम्झिन्छिन्, 'मेरो माइती घरमा पनि पहिला कसैले ढोका लगाउँदैन्थ्यो ।' समय यसरी फनफनी घुमिदिएको छ कि- 'अहिले त घरैपिच्छे ढोका छन् । र, ढोकैपिच्छे पाले छन् ।' बेलायत र अमेरिकामा भने ढोकाहरूको साइज एउटै हुन्छ । उनी भन्छिन्, 'ढोका बिल्डिङको साइजअनुसार बनाइएको हुन्छ ।' उनका अनुसार चाइनिज ढोकामा बढी 'सिसौ' प्रयोग हुन्छ । साउथ र इस्ट एसियामा पनि सिसौकै हुन्छन्- ढोकाहरू । त्रास र असुरक्षाले मुस्लिम देशहरूमा भने अझै पनि आग्लो लगाउँछन् रे ! ढोकाको खोजीमा कहाँ-कहाँ पुगेकी संगीतालाई पि्रय लागेको छ- पाल्पा तानसेनकोे ढोका । भन्छिन्, 'ढोका ठूलो छ र बाहिरपट्ट काँडाहरू छन् ।' उनलाई तिब्तीयन ढोकाहरूको बनावट र शालीनता मन पर्छ भने भव्य लाग्छ, फ्लोरेन्स इटलीको चर्चको ढोका जसको नाम दिइएको छ- 'गेट-वे टु हेभन ।' बुट्टे चुइँकिँदै फेरि छेउमा आयो । बुट्टेलाई थम्थमाउँदै थपिन्, 'हाम्रो पशुपतिको ढोका पनि सुन्दर छ ।' बुट्टे नजिकको सोफामा गयो र ढल्कियो । त्यो एकछिन्मा निदाउनेछ ।दिन घिसारिँदै गइरहेको छ । उनको मुडलाई क्याच गर्न सोधियो, 'सम्हाल्न गाह्रो कुन ढोका हुन्छ, मनको या घरको ?' उनले मुस्कुराउँदै भनिन्, 'मनको ।' उनलाई लाग्छ, 'जे छ, मनभित्रै छ । त्यो लुटे त सबै सिद्धियो ।'
बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिले ढोकाहरूको बनावट र सौन्दर्य पनि बदलिरहेको छ । देख्दा अजंगका मान्छेहरूलाई तर्साइदिनेखाले कयौं यस्ता ढोका छन्, जो संगीताका विचारमा, 'ती नक्कली ढोकाहरू हुन् ।' जटिलताले भरिएको छ मानिसको जीवन । सामान्य-ज्ञान प्रतियोगिताको शैलीमा सोधें, 'कुन ढोकाभित्र छिर्न गाह्रो हुन्छ, घरको या मनको ?' रमाइलो मानेर मुस्कुराइन् र भनिन्, 'मनको ढोकाभित्र ।' उनी ठान्छिन्, उनको मनको ढोका बलियो छ र त्यसमा आग्लो पनि लगाइएको छ । उनले सुनाइन्, 'मेरो मन मरुद्यान हो । मसित जति कन्फ्युजन छन्, तीनका उत्तर पनि यसैमा छन् ।' एक दिनमा उनी कत्तिवटा कल रिसिभ गर्दिहुन् ? उनले गनेजसरी सोचेर भनिन्, 'साठी/सत्तरी ।' यो एउटा व्यस्त जीवनको प्रमाण हो । उनी किन यत्ति व्यस्त हुन्छिन् ? भनिन्, 'मानसिक, शारीरिक, धार्मिक र सुन्दरताका लागि नयाँ 'एभिन्युज'हरू खोजिरहनुपर्छ ।'उनी चाहन्छिन् नयाँ-नयाँ च्यालेन्ज । नत्र यस्तो हुन्छ रे, 'म दिमागलाई च्यालेन्ज गर्छु । मैले त्यो गरिनँ भने म मरेजत्तिकै हुन्छु ।' के उनी कहिलेकाहीँ आफ्नै मनको ढोकाभित्र कैद हुन्छिन् ? प्रश्न सजिलै सोधे पनि उत्तर ढिलो आयो, 'म कहिलेकाहीँ महाअँध्यारो भएको ठाउँमा पुग्छु । यो आफैलाई पनि थाहा हुन्छ, म विरक्त हुन्छु ।'
उनलाई वैराग छुटाउने अनेकौं कुरा छन् । भन्छिन्, 'गर्न नपाएका इच्छाहरू पूरा नहुँदा म वैराग हुन्छु ।' यो वैरागको अंग्रेजी उच्चारण फ्रस्टेसन पनि हुन सक्छ ।वैराग भयो भने उनी घरबाट बाहिर निस्कन्नन् । आज पनि उनी बाहिर निस्किएकी छैनन् । दिन, घरको काम र सरसफाइमा बित्छ । त्यसो गर्दा यसो हुन्छ, भन्छिन्, 'कहिलेकाहीँ अल्मलिएका प्रश्नका जवाफहरू पनि पाउँछु ।'मिठो सपनाजस्तो मुस्कुराउने उनीसित के यस्ता पनि सपना छन्, जो कहिल्यै पूरा भएनन् । र, तीनका सम्भावनाका ढोकाहरूमा पनि ताला लागिसकेको छ ? उनका लागि 'विथ आउट सुगर' दूधचिया आयो । एक घुट्को पिएर भनिन्, 'पढेर बुबाजस्तै युएनमा काम गरुला भन्ने थियो । ती पूरा भएन ।'पूरा नभएका उनका सपनाहरू छोरीमा सरेका छन् । विहानै कोसोभोमा रहेकी छोरीसित इमेलमा कुरा गरेकी उनी भन्छिन्, 'म मेरी छोरीलाई पढाइमा फ्री छोडिदिन्छु,' थपिन्, 'दुलाह खोज्दै हिँड्दिनँ ।'उनी खासै सपना देख्दिनन् । सुनाइन्, 'मलाई निद्राको कमी छ ।' कहिलेकाहीँ छट्पटी यस्तो बढिदिन्छ कि, भन्छिन् 'छट्पटीले सुत्न सक्दिनँ ।'सुते पनि सुल्म्झिएका र मनोरम सपना देखिँदैनन् । उनकी सासु एक महिना रोगले थलिएर यो संसारबाट बिदा भइन् । उनलाई थाहा थिएन, बिदा यत्ति चाँडै गर्नुपर्ला । उनीसँग कयौं प्रश्नहरू बाँकी नै थिए । एकपल्ट भने यस्तो सपना देखिछिन्- सपनामा उनी एउटा पुरानो नेवारी घरमा पुगिन् । त्यहाँ रातो साडी लगाएकी वृद्धा नेवारी माता थिइन् । माताले भनिन्, 'तिमी मलाई पत्याउँदिनौ । मलाई थाहा छ, तिमी आफ्नी सासुलाई केही प्रश्न गर्न चाहन्थ्यौ ।'माता 'एकछिन् बस्दै गर' भनेर भित्र गइन् । माता भित्र जानेबित्तिकै उनको छेउमा केही तातो चिज आयो । यसो हेरिन् । ओह्ह्, सासु रहिछिन् । उनलाई डरले चिसो बनायो ।
उनले सोधिन्, 'तपाईं त बित्नुभएको होइन र ?''नडराऊ, सोध के सोध्नुछ ?' सासुले सोधिन् ।उनले मनको कुनामा चाबीको झुत्तोजस्तो सम्हालेर राखेको प्रश्न गरिन्- 'म डराइरहेकी छु । कसरी घर चलाउने ?'सासुले भनिछन्, 'म यतै छु । घर छोडेकी छैन ।'यो सपना सुनाएपछि उनले भनिन्, 'मलाई त्यहाँदेखि कहिल्यै डर लाग्दैन ।''म घरबाट बाहिर निस्कन चाहन्थें । नयाँ संसारमा पुग्न चाहन्थें,' उनले भनिन् । दिनहरू त्यसै खेर जान दिनुहुँदैन । दिनलाई लगाम लगाएर आफ्नो बाटोमा हिँडाउनुपर्छ । र, पो स्थापना भयो, सिद्धार्थ आर्ट ग्यालरी । 'ग्यालरी खोलेर म कलासित घुलमिल भएँ', नत्र यस्तो हुनसक्थ्यो, 'ग्यालरी नखोलेको भए । म पढ्थें कि ?' 'मलाई मान्छेको कम्पनी मनपर्छ,' उनी चाहन्छिन्, नयाँ-नयाँ दिनहरू आफैं बनाऊ । नत्र एउटा सर्कलमा जिन्दगी बाँच्दाबाँच्दै जिन्दगीले नै भनिदेला- 'तिम्रो साथ मनोटोनस भयो ।'
उनले भनिन्, 'मलाई ब्युटिफूल कुराहरू हेर्न मनलाग्छ ।' मैले भनें, 'बन्न मन लाग्दैन ?' भन्दै उनी मुस्कुराइन् । उमेर ढल्किँदै गए पनि सुन्दरता उनको दास छ । उनी उत्तिकै सुन्दर छन् । यसको रहस्य के होला ? धेरैले सोध्न चाहेको प्रश्न मैले नै सोधिदिए । उनले भनिन्, 'खोई कुन्नि ?' संसारका सबै सुन्दर मानिसहरूलाई आफ्नो सुन्दरताको रहस्य किन थाहा हुन्न ? बिहान पूजा, दिउँसो ग्यालरी र केही इभेन्टस्हरू । उनको जीवन रुटिनमा चलिरहेको छ । जीवन के हो ? उनीसँग उत्तर छैन । सेक्सपियरको कपिराइट उनलाई दिने हो भने उनी यस्तो भन्नेछिन्, 'हामी सपनाले कल्पिएको अर्को सपना हौं ।' कुरा सकियो । छेउको सोफामा निदाएको बुट्टे झ्वाट्ट उठ्यो । यसरी कि आफ्नै मनको अँध्यारो गुफाबाट बाहिर उज्यालोमा हाम फालेको होस् ।

Comments