खोइ डोरबहादुर विष्ट ?




प्रसिद्ध मानवशास्त्री डोरबहादुर विष्ट बेपत्ता भएको १२ वर्षपुग्यो । उनी कहाँ छन् - सत्ताको महाभारतमा व्यस्त विगत १२ वर्षेखिको कुनै सरकारले चासो देखाएको छैन । कन्टेम्पोरेरी भिजनले सोमबार राजधानीमा विष्टका सहकर्मी, शुभचिन्तक, विद्यार्थी र परिवारको एक भेला गर्‍यो जहा“ नोवलकिशोर र्राई, ओम गुरुङ, डा. हिक्मत विष्ट, डा. लिन बेनेट, डा. अभि सुवेदी, वसन्त थापालगायतले नेपाली समाजलाई विष्टले लगाएको गुनबारे चर्चा गरे । केही महिनाअघि मार्टिन चौतारीमा पत्रकार हरि थापाले पनि उनको स्थितिबारे केही नयाँ सूचना दिएका थिए । डोरबहादुर नेपालको सामाजिक मानवशास्त्रका सूत्रधार हुन् । नेपालमा समाजशास्त्र र मानवशास्त्रको अध्ययन, अध्यापन अनुसन्धानको जग उनैले लगाएका थिए । उनको किताब द पिपल अफ नेपालले विश्वसामु नेपाललाई चिनाउन ठूलो भूमिका खेल्यो भने फ्याटालिज्म एन्ड डेभलपमेन्टले नेपालको विकासलाई भाग्यवादले असर पारेको सप्रसंग शक्तिशाली नयाँ तर्क दियो । सबै जातका फूलबारी, रिपोर्ट फ्रम ल्हासाजस्ता कृति समाजशास्त्रको अनुपम उपलब्धि मानिन्छन् । चाकरी, आफ्नो मान्छेले नेपाली मानसिकता र प्रवृत्तिको चिरफार गरेका छन् । उनका अनुसन्धानमूलक थुप्रै लेख छन् जसले सामाजिक मानवशास्त्रीय क्षेत्रमा बिल्कुलै नयाँ तथ्य उद्‍घाटन गरिदिएका छन् । तथापि, उनका तर्कलाई सरकार, नीतिनिर्माताले कानमा तेल हालेर पामर मुद्रामा बेवास्ता गरिरहे । 'यी कृतिले नेपाली समाजको भित्री परिचय दिन्छन्,' मानवशास्त्री डा. बेनेटले भनिन्, 'जातीय विभेदविरुद्ध उनको प्रयासले एक दिन नेपाली समाजलाई अवश्य समतामूलक बनाउनेछ ।' 'एकपल्ट फेरि उनका कृतिको समीक्षा हुनु जरुरी छ,' अभि सुवेदीको कथन थियो, 'जातीय विभेद, खासगरी बाहुनवादको विरोध गर्न उनले त्यतिखेर ठूलै साहस गरेका थिए ।'
के डोरबहादुर विष्ट नेपालीले भुल्न हुने नाम हो - उनको बेपत्ताप्रति सरकारी निस्पृहता अचम्मलाग्दो छ । नालीबेली नलगाई सोध्ने हो भने सरकारी सम्बन्धित अधिकारी नै विष्टबारे अनभिज्ञता प्रकट गर्छन् । पंक्तिकारले पाँच वर्षघि उनको स्थितिबारे बुझ्न खोज्दा सम्बन्धित उच्च अधिकारीले उल्टै प्रतिप्रश्न गरेका थिए, 'को डोरबहादुर विष्ट -' सम्पूर्ण नालीबेली लगाइसकेपछि घन्टौं लगाएर फाइल पल्टाएपछि उनले भनेका थिए, 'कुनै सूचना प्राप्त भएको छैन ।' के डोरबहादुर त्यति साधारण मान्छे हुन् जसलाई सरकारी सम्बन्धित अधिकारी नै चिन्न अस्वीकार गर्छन् ? देशमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विष्टको पर्याप्त ख्याति र पहिचान छ । त्रिभुवन विश्वविद्यालयमा उनले जिम्मेवारीपूर्ण विभिन्न पदमा रही ०४४ सालसम्म सेवा गरेका थिए । कूटनीतिक हैसियतमा तिब्बतमा समेत नेपालका तर्फाट सेवा पुर्‍याएका थिए ।

सामाजिक सशक्तीकरणमा पनि विष्टको भूमिका अनुपम छ । उनी २०४७ देखि कर्णाली इन्स्टिच्यूटमार्फत जुम्लामा अनुसन्धान र सामाजिक सशक्तीकरणमा जुटेका थिए । सोही क्रममा ०५२ पुस २७ गते जुम्लाबाट हवाइजहाज चढेर नेपालगन्ज पुगेका थिए । त्यसै दिन नेपालगन्जबाट बस चढी धनगढीतर्फलागेपछि हराए । उनी धनगढी पुगेनन् । त्यसबीच कहाँ, कसरी हराए भन्ने सूचना पनि प्राप्त हुन सकेन । उनी विदेश जाने सम्भावना पनि थिएन किनभने राहदानी घरमै थियो । पारिवारिक सूत्रका अनुसार उनी अध्ययनका क्रममा एकान्त रुचाउ“थे र खबर नगरी केही समयका लागि हराउ“थे तर परिवार त्यतिखेर आशंका गर्न बाध्य भयो जब ०५४ चैत १२ गते धर्मपत्नीको निधन हुँदासमेत उनको सन्देश कहीँ कतैबाट प्राप्त भएन ।
पारिवारिक स्तरबाट विभिन्न स्रोतमार्फत खोजी भयो । डोटी, धनगढी, खप्तड, रारा, जुम्ला, भारतको कुमाउ, गढवालजस्ता उनी पुग्ने सम्भावित ठाउँमा खोजी गर्दा पनि कुनै तथ्य फेला परेन । यसैबीच, त्रिभुवन विश्वविद्यालय समाजशास्त्र/मानवशास्त्र विभागले डोरबहादुरका छोरा डा. हिक्मत विष्ट र छोरी आशाको उपस्थितिमा ०५५ साउन २२ मा राजधानीमा पत्रकार सम्मेलन गरी विष्ट हराएको खबर र्सार्वजनिक गर्‍यो । सोही दिन विभागले विष्टको खोजी राज्यस्तरबाट गर्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष ज्ञापनपत्र पनि बुझायो । प्रधानमन्त्रीले तत्काले खोजी गर्न गृह मन्त्रालयलाई आदेश दिने आश्वासन पनि दिएका थिए । त्यसपछि गुप्तचर विभाग र इन्टरपोलले विष्टबारे विवरण लिई सम्बन्धित सबै ठाउ“मा तस्बिरसहित परिपत्र पनि जारी गरे । इन्टरपोल नेपाल शाखाका अनुसार फ्रान्सको लियोस्थित इन्टरपोल प्रधान कार्यालयमा पनि विवरण पठाइयो । पारिवारिक पहलमै विभिन्न कूटनीतिक नियोगमार्फत पनि खोजी भयो ।
यसबीच, कुनै तिर्थयात्रीले विष्टलाई भारतको हरिद्वारमा जोगीको भेषमा देखेको भन्ने समाचार प्रकाशमा आयो । तिर्थयात्रीले सायद अरूलाई नै डोरबहादुर विष्ट ठानेका थिए । जेठा छोरा राजनीतिज्ञ केशरबहादुर विष्टका अनुसार त्यहाँ पनि उनी भेटिएनन् । हरिद्वारमा कार्यरत प्रत्येक नेपालीलाई तस्बिर दिई देखेमा खबर गर्न आग्रह गरियो । भारतका लागि तत्कालीन नेपाली राजदूत भेषबहादुर थापा र भारतीय प्रहरीले पनि आफ्नो स्तरबाट खोजी गर्न आश्वासन दिए । तर कुनै सूचना मिलेन । डोरबहादुर अध्यक्ष रहेको कर्णाली इन्स्टिच्यूट अब सम्झनामा मात्र बाँकी छ । जुम्लाको चौधवेशास्थित इन्स्टिच्यूटको कार्यालय भग्नावशेषमा परिणत भइसक्यो । त्यहाँ फर्निचर छैन, पुस्तकालय पनि जलाइएको छ । विष्टको किताब फ्याटालिज्म एन्ड डेभलपमेन्टमाथि केही विवाद भएको थियो । ठालुवाद -उनकै शब्दमा बाहुनवाद) बाट नेपालका सम्पूर्ण काम प्रभावित भएको उनको तर्क थियो । त्यस्तै, नेपाली भाग्यवादी भएका कारण यहा“को विकास अगाडि बढ्न नसकेको र यसले देशलाई शताब्दी‌औं पछाडि धकेल्ने उनको निष्कर्ष थियो । हामीकहाँ यो तीतो सत्य अझै पनि पच्न सकेको छैन र टाठाबाठा विभिन्न कोणबाट यसलाई ढाक्ने दुस्प्रयास गरिरहेका छन् । पिपल अफ नेपालको पाण्डुलिपि दुई वर्षम्म रोकिएको थियो । किताब प्रकाशनलाई बाधा दिनेहरूको भनाइ थियो, 'हिन्दुअधिराज्यमा यस्तोमात्र छ भनिएकोमा डोरबहादुरले यता बाहुन मान्दैनन्, उता यो धर्म मान्दैनन् भनेर देखाइदिएपछि देश भाँडिन्छ ।' असत्तीहरू सधैँ सत्यसँग डराउँछन् तर पिपल अफ नेपालले प्रकट गरेको सत्यलाई आज कसले अस्वीकार गर्न सक्छ ? सत्यसँग डराउनेहरू नै डोरबहादुरविरुद्ध लागेका हुन सक्छन् । यसले यदाकदा उनको स्थितिबारे अप्रिय आशंका गर्न बाध्य पार्छ । इन्टरपोल प्रधान कार्यालयले 'येलो नोटिस' जारी गरेन भने नेपालको प्रशासन त निख्लो औपचारिकता निर्वाह गरेर निदाएरै बस्यो । विष्टको खोजीका क्रममा 'यस्तो मान्छे देखियो भने खबर गर्नू !' भनेर औपचारिक परिपत्रमात्र जारी गरियो । यसलाई अभियानकै रूपमा अगाडि बढाइएन । प्रस्ट छ- त्यसो भएको भए उनको स्थिति १२ वर्षम्म अन्योलपूर्ण हुने थिएन । विष्टको खोजीमा हाम्रो ब्युरोक्रेसीको वास्तविक रूप झल्किन्छ । प्रधानमन्त्री र मन्त्रीहरू जनताका काम छिटो सम्पन्न गर्ने आदेश दिन्छन् तर काम ठीक उल्टो तरिकाले हुन्छ । सत्ताको विलासी आसनमा मग्न हाम्रा मन्त्रीहरू कहिल्यै आफ्नै आदेशको अनुगमन गर्दैनन् । विष्टको खोजीमा यही भएको देखिन्छ । डोरबहादुरबारे सोधियो भने आज 'डि-जुरे' प्रधानमन्त्री गिरिजाप्रसाद र 'डि-फ्याक्टो प्रधानमन्त्री' सुजाता कोइराला के भन्लान् ? गम्भीरतापूर्वक लागेमा हराएको सुगाको स्थिति पनि र्सार्वजनिक हुन सक्छ, डोरबहादुर विष्टको किन हुन सक्दैन - त्यसो त, विष्टबारे अब धेरै आशावादी हुन सकिन्न । तथापि उनको स्थिति र्सार्वजनिक हुनुपर्ने माग जायज छ । सत्ताको महाभारतमा व्यस्त कोइराला सरकारको ध्यान यतातिर पुग्ला ?
(नयाँ पत्रिकाबाट)

Comments