लेखक बन्ने धुनमा ......... (२)

"तिमीहरुले गाउँ छोडेर गएको छ महिना पनि नपुग्दै मेरो जीवनमा लगातार एउटा न एउटा आँधी आइ नै रहेको छ .... लगातार अठार बर्षसम्म । तिमीहरु यहाँबाट गएको चार महिनापछिको कुनै एउटा दिन मेरी आमा सँधैं झैं दिउँसो बाह्र एक बजेको घाममा त्यो पनि जेठको महिना, एक भारी घाँस बोकेर आइपुग्नु भयो । चर्को घाममा घाँस काटेको र धेरै गह्रौं भारी बोकेर आउँदा अति नै तिर्खा लागेको रहेछ । घर आइपुग्ने वित्तिकै गाग्रीबाट सारेर एक लोटा पानी घट्घट् पिउनु भयो । त्यतिले पनि तिर्खा नमेटिएकोले अरु एक लोटा पानी सार्दै गर्दा त्यहीँ भुक्लुक्क लड्नुभयो र "राज" भनेर चिच्याउनु भयो । म त्यहिँ थिएँ । "के भयो आमा तपाईंलाई" भनेर बोलाउँदा बोलाउँदै आमाले अलिकति रगत वान्ता गर्नुभयो र सँधैको लागि आँखा बन्द गर्नुभयो ।"

"तँलाई थाहै छ प्रकाश, मेरा आमा र बाबामा कति फरक थियो । आकाश र धर्ती बराबर हैन ? आमा दिनरात मेहनत गर्नु हुन्थ्यो, घाँस काट्नु हुन्थ्यो अर्काको लागि, दाउरा खोजेर ल्याउनु हुन्थ्यो अर्काको लागि र जुठा भाँडा माझ्नु हुन्थ्यो त्यो पनि अर्कैको । ती सवै कुरा आमाले किन गर्नु हुन्थ्यो भने आफ्नो परिवाररुपी जहाजको इन्धन भर्न । तर बावा... मेरो बावाको व्यवहार त्यसको ठीक विपरित थियो । ऊ दिनभरी जुवातास खेल्थ्यो र राति भएपछि रक्सी धोकेर आउँथ्यो अनि विना कुनै कसुर मेरी आमालाई र मलाई पिट्थ्यो । रक्सी खाने र जुवातास खेल्ने काममा उसले आमाको रगत पसिनाको कमाइ उडाइरहेको थियो तर त्यसलाई वेवास्ता गर्दै उल्टै आमालाई यातना दिइरहेको थियो ।"

"आमा वितेको दुई महिना वित्दा नवित्दै उसले एउटी आइमाई लिएर आयो जसको एउटा पाँच वर्ष जतिको छोरो पनि थियो । त्यो आइमाईले आफ्नो लोग्ने छोडेर आएकी थिई । खै के देखी त्यसले मेरो बावुमा । उसको लोग्ने त सम्पन्न र इमान्दार थियो रे, गाउँलेहरुले कुरा गरेको मैले सुनेको ।"

"त्यो आइमाई आएपछि त मेरो दुर्दशा नै हुन थाल्यो । मलाई स्कूल जानबाट पनि वञ्चित गरेको थियो मेरो बाबु भनाउँदोले । उसले 'राजसी' ठाँटले मलाई आदेश दिएको थियो - "अवदेखि तँ पढ्न स्कूल होइन, घाँस दाउरा लिन जंगल जानेछस् । तेरी आमाले जे गर्थी अव त्यो काम तेरो भयो ।" भोलिपल्टदेखि मेरो रुटिन नै वदलियो । मैले स्कूल गएर पढ्नुको सट्टा जंगल गएर घाँस दाउरा ल्याउन थालें गाउँघरका ठूलाबडाका लागि । उनीहरुका घरमा नोकर भएर जुठाभाँडा माझ्नेदेखि लिएर यहाँसम्म कि ती घरका स्वास्नीमान्छेका भित्री लुगासमेत मैले धोएको छु ।"
राजका आँखाबाट आँशु तररर वग्छन् । उ भक्कानिन्छ एकछिनसम्म बोल्नै सक्दैन । त्यस्तै प्रकाश त झन सुँक्क सुँक्क नै गर्न थालिसकेछ ।
केही क्षणको विश्रामपछि फेरि राज बोल्न थाल्छ - "त्यस्ता काम गरेर म कति पैसा कमाउँथें त्यो मलाई थाहा थिएन । महिना पुगेपछि मेरो बाबु आएर मेरो मेहेनतको कमाइ लिएर जान्थे जुन पैसाले उनलाई २-४ दिन रक्सी र जुवातासमा डुव्न मद्दत पुग्थ्यो ।"

"मेरा दिनहरु अत्यन्त कष्टकर रुपमा वितिरहेका थिए । तर मैले तँलाई भन्नै पर्ने कुरा के भने बाबुले मलाई स्कूल जानबाट रोके पनि मैले पढ्न भने कहिले पनि छोडिन । म आफ्नो घरमा हुँदा आफ्नै घरमा र अर्काको घरमा बस्दा पनि विहान वेलुका फुर्सदको वेलामा पढ्ने गर्थें । मलाई धेरै पढेर ठूलो मान्छे बन्नु थियो । यो मेरो मात्र नभएर मेरी आमाको पनि चाहना थियो । आमाले मलाई सधैं नै सम्झाउनु हुन्थ्यो, धेरै पढ्नुपर्छ, ठूलो मान्छे बन्नु पर्छ भनेर । मेरो बाबुको र आफ्नै पनि उदाहरण दिँदै भन्नुहुन्थ्यो - मान्छेले पढेन भने तेरो वावु जस्तै रक्स्याहा र जुवाडे हुन्छ । पढेको भए तेरो वावु पनि यस्तो हुने थिएन किनकी उसले पढेको भए जागिर खान्थ्यो या कुनै इलम गर्थ्यो र यी यस्ता खराव काम गर्ने फुर्सद पाउने थिएन । त्यस्तै मैले पनि पढेकी भए आज यसरी यस्ती अर्काकी दासी भएर बाँच्नु पर्ने थिएन । म आफ्नै खुट्टामा उभिन सकेकी हुन्थें, आदि इत्यादि भनेर सम्झाउनु हुन्थ्यो ।"

"मलाई पढ्नु पर्छ भनेर अझ वढि उत्प्रेरकको काम रुद्र सरले गर्नु भएको थियो । रुद्र सर .. मानिसले भगवान छ भनेर मन्दिरमा गएर पूजा गर्छन् । तर मलाई मन्दिरमा भएको ढुङ्गाको भगवानमा एकरत्ती पनि विश्वास छैन । मेरो भगवान त रुद्र सर नै हो । म साँच्चै नै भन्दैछु प्रकाश, संसारमा यदि कुनै भगवान छ भने त्यो रुद्र सर नै हो । उहाँ नभएको भए आज पनि म कुनै ठूलाठालुकहाँ नोकर भएर बसिरहेंको हुन्थें होला । म जुन घरमा नोकर भएर बसेको थिएँ त्यही घरमा उहाँ वस्नु हुन्थ्यो । त्यो घरका केटाकेटीलाई पढाइदिनु हुन्थ्यो । त्यसको सट्टामा उहाँले डेराभाडा र खानामा खर्च गर्नु पर्दैनथ्यो । उहाँले त्यो घरका केटाकेटीलाई पढाइसकेपछि मलाई पढाउनु हुन्थ्यो किनकी मलाई ति केटाकेटीसँगै बसेर पढ्ने अनुमति थिएन । साँच्चै भन्ने हो भने मेरा मालिक मालिक्नी म पढेको देख्न पनि चाहँदैनथिए । कतिपल्ट त रुद्र सरलाई उनीहरुले मलाई नपढाउनु भनेर घुमाउरो भाषामा धम्की नै पनि दिएका थिए । तर उहाँले उनीहरुको कुरालाई हाँसोमा उडाउँदै भन्नुहुन्थ्यो - तपाईहरुलाई थाहा छ ? अहिलेका नामी विद्वान स्वामी प्रपन्नाचार्य पनि पहिला अरुकै घरमा काम गर्न बसेका थिए । यसरी रुद्र सरले अरुको भनाइको पर्वाह नगरी मलाई पढ्नमा मद्दत गरिरहनु भयो । मलाई आवश्यक किताव, कलम, कापी आदि उहाँले नै ल्याइदिनुहुन्थ्यो साथै स्कूलमा बुझाउनु पर्ने शुल्कहरु पनि उहाँले नै तिरिदिनुहुन्थ्यो । अनि मैले उहाँको सहायताले अर्काकै घरमा बसेर पनि राम्रो अंक ल्याएर एस‌.एल.सी. पास गर्न सक्षम भएँ । एस‌.एल.सी. दिने वेलामा रुद्र सरले झन बढि कष्ट खेप्नु भएको छ । घरका मान्छेले भन्नु नभन्नु भनेका थिए तर पनि उहाँले ति सवै कुरालाई त्यत्तिकै पचाइदिनुभएको थियो ।"
"एस.एल.सी.मा प्रथम श्रेणीमा पास गरेको थिएँ, यो कुरा मेरो गाउँभरि तुरुन्तै फैलियो र मेरो बाबुले पनि यो कुरा थाहा पाएछ । एस.एल.सी. को रिजल्ट आउँञ्जेलसम्म पनि म त्यही घरमा थिएँ जुन घरमा पहिले काम गर्न बसेको थिएँ । रिजल्ट भएको पर्सीपल्ट मेरो बाबु त्यहीँ आयो सरासर र मेरो नाम लिएर यता आइज भन्दै चिच्याउन थाल्यो । म गाईवस्तुको काम गर्दै थिएँ गोठमा । बावुले बोलाउन थालेपछि म डराउँदै डराउँदै ऊ भएतिर गएँ ।" क्रमस:

Comments