लेखक बन्ने धुनमा ......... (१)

एस‌.एल.सी‌ दिएर रिजल्ट कुर्दै बसेको वेला उपन्यास खुवै पढिन्थ्यो । जासुसी उपन्यास खोजीखोजी पढ्न मन लाग्थ्यो । नेपाली र हिन्दी गरेर झण्डै ३००-४०० उपन्यास पढियो होला । हुन त जासुसी मात्र नभएर सामाजिक, राजनैतिक र ऐतिहासिक सवैखाले नै उपन्यास पढियो होला । उपन्यास पढ्दापढ्दै कहिलेकाहीँ आफैंलाई पनि उपन्यास लेख्न मन लाग्थ्यो । प्रमाणपत्र तह पढ्दा पढ्दै मैले एउटा जासुसी उपन्यास लेख्छु भनेर शुरु गरेको थिएँ । तर २०-२५ पेज जति लेखिसकेपछि त्यत्तिकै छोडेछु । अलिक पछि पनि अर्को लेखेको थिएँ प्रमाणपत्र पार गरेर स्नातक पढ्न काठमाण्डौ गएको वेला । त्यो उपन्यास मैले छिट्टै नै पूरा गरेको थिएँ । त्यो एउटा जासुसी उपन्यास नै थियो तर अपराधीले अपराध गर्ने शैली र अपराधी पत्ता लगाउने शैलीमा मैले अत्याधुनिक प्रविधिको प्रयोग गरेको थिएँ । तर पनि मैले त्यसलाई छपाउनु पर्छ भनेर कहिले पनि सोचिन । १-२ जना साथीहरुलाई पढ्न पनि दिएको थिएँ । २-३ वर्षसम्म त घरमै थियो । तर खै कसले लग्यो, पछि खोज्दा भेटिन । कुनै साथीले लगेर फिर्ता गरेन होला सायद ।

त्यो उपन्यास सकेलगत्तै फेरि एउटा फरक खालको उपन्यास लेख्ने विचार गरें र लेख्न थालें । त्यो चाहिँ मैले एउटा केटाले आफू पुरुष हुनुको महत्व हरायो अर्थात पुरुषत्व हरायो भने के हुन्छ भनेर लेख्न शुरु गरेको थिएँ । त्यो पनि त्यस्तै २०-२५ पेज जति लेखेर अधुरै छोडिएछ । सायद त्यो पनि हराउँथ्यो होला तर बुवाले अरु कितावहरुसँगै जतनसाथ राख्नु भएको रहेछ । हिजो वेलुका कुनै एउटा किताव पढ्नु पर्‍यो भनेर किताव खोज्दा पो यो डायरी भेटें । पूरा त छैन तर यहि व्लगमा धारावाहिक रुपमा त्यसलाई सार्दै पूरा गर्नु पर्ला भन्ने सोचेको छु । हेरौं के हुन्छ । अनि साँच्ची मैले यसको शिर्षक पनि राखेको छैन अहिलेसम्म । यो पूरा भएछ भने यहाँहरुले नै यसको न्वारान गरिदिनु होला । धन्यवाद ।
.............................................................................................................................................................


"खै के भनौं प्रकाश म । बोल्नको लागि कुनै शब्द नै पाउँदिन म । मेरो छाती वेदनाले दुखिइरहेछ । बाँच्नको लागि समयसँग, परिस्थितिसँग संघर्ष गरिरहेछु। तर अहिलेसम्म यो संघर्षमा कसैको हार या जीत हुन सकेको छैन । कहिले म अगाडि हुन्छु कहिले समय । यस्तै यस्तै छ कुरा । म तलाई के भनौ मेरो भावना, मेरो कथा, मेरो ब्यथा भनौ कि मेरो ईतिहास .... एउटा सिङ्गो इतिहास ब्यक्त गर्ने चाहना हुँदा हुँदै पनि म सक्दिन। खै कुन्नी किन हो, खै केले रोक्छ । मनभरी दर्दको महाभारत हुँदाहुँदै पनि मेरो गलाबाट कुनै शब्द नै बाहिरिन सक्दैन। समग्रमा भन्ने हो भने प्रकाश, म समुद्री आँधीमा फँसिसकेको छु, जसबाट निस्किन नसक्ने मात्र होइन असम्भब नै छ। त्यसकारण मैले तलाई यो ईतिहास सुनाएर मात्र केही हुने छैन। त्यसकारण प्रकाश मलाई वाध्य नपार यार, यसबाट केही फाईदा छैन, केहि हुनेवाला छैन ।"

राजले आफ्नो मनभित्रको भावनाको बेगलाई रोक्ने कोशिस गर्दै प्रकाशलाई आफूलाई अतितमा नलैजानको लागि कोशिस त गरेकै हो तर प्रकाश पनि त्यति सजिलै मान्ने खालको मान्छे त कहाँ थियो र । आफ्नो बालककालको साथीसँग बल्ल आज भेट भएको त्यो पनि आफ्नो साथीको एकदम गम्भिर दुर्दशा देखेर उसको मन दुखिरहेको थियो र साथीको दु:ख बाँड्नको लागि भन्यो -
"राज, हेर, तँ मेरो एउटा यस्तो साथी होस् जसको लागि म सम्पूर्ण तन, मन, धन अर्पण गर्न पनि तयार छु। हेर राज, हुन त हामी लगभग अठार बर्षपछि बल्ल आज एक अर्कासँग भेट्दैछौं। हुन त तैले मलाई यो अबधिमा बिर्सी पनि सकेको थिइस् होला तर तैले मेरो यो कुरामा विश्वाश गर्नु र नगर्नु त्यो तेरो कुरा हो कि यो अठार बर्षको प्रत्येक दिन मैले तलाई सम्झेको थिएँ । तँलाई म कसरी बिर्सिन सक्थें र। तैंले गर्दा म कतिपल्ट यमराजको पन्जाबाट फुत्केर आएको छु । त्यतिबेला तँ थिइनस भने आज प्रकाश नाम गरेको यो जन्तु यो दुनियाँमा हुने थिएन। जतिबेला म त्यो हाम्रो गाउँ नजिकैको पोखरीमा पौडिन नै नजानी हाम्फालेको थिएँ, तैले पनि पौडी खेल्न नजानेको भए म सिधै यमराजको मुखमा ............. । तँ त त्यतिबेला अर्थात् सानो हुँदा साह्रै शाहसी र चलाख पो थिइस त, अहिले चाहिँ किन यस्तो मुर्ख र हुतिहारा कुरा गर्छस ।" प्रकाश धाराबाहिक रुपमा राजलाई सम्झाउने प्रयत्न गरी नै रहेको छ। "हामी जंगलमा दाउरा काट्न जाँदा मलाई सर्पले टोक्दा टोकेको ठाउँभन्दा अलिक माथि आफ्नो सर्टले बाँधेर अनि सर्पले टोकेकै ठाउँमा खुकुरीले अलिकति काटेर सबै बिष रगतसँगै बगेपछि अस्पताल लगेको तैले नै होइन ? गोपाल र म झगडा गर्दा गोपालले हानेको ढुङ्गा आफ्नो जिउमा थापेर मलाई जोगाएको पनि तैले नै होइन र ? अनि भन् त राज, म जिन्दगीमा कहिल्यै तँलाई भुल्न सकुँला त । बरु म अरु सवैथोक भुल्न सक्छु तर तँलाई चाहिँ कुनै हालतमा पनि भुल्न सक्दिन, राज तँलाई म बिर्सिनै सक्दिन । भन् यार भन् तेरो वेदना मलाई भन् । म तँलाई पूर्ववत् स्थितिमा ल्याउन सक्दो कोशिस गर्नेछु ।"
"मैले भनिसकें नि प्रकाश, तैंले मेरो लागि केही पनि गर्न सक्दैनस् । तँ त के संसारको कुनै पनि शक्तिले अव मेरो समस्या समाधान गर्न सक्दैन ।"
"तै पनि तेरो समस्या त बता न समाधान नै हुन नसक्ने नै छ भने पनि .........।"
"सुनेर के गर्छस् । हदै भए एउटा कथा या उपन्यास लेख्लास् सत्य घटनामा आधारित भनेर, आखिर तँ एउटा लेखक पनि त होस् नि ।"
"ठट्टा नगरी छिटो आफ्नो व्यथा सुनाउन थाल् न भन्या ।"
"ल सुनाउन त सुनाउँछु तर विचमा प्रश्न प्रतिप्रश्न चाहिँ नगर है नत्र म विचैमा छोडेर हिँडिदिन्छु नि ......... ।"
"ल ल म मुखमा ताला लगाएर बस्छु, तँ शुरु गर् ।" प्रकाश हाँस्दै राजलाई उक्साउँछ ।
"आखिर तैंले नभनी मलाई धरै दिइनस् हैन .. । ठिकै छ ल सुन् ।"
राज आफूभित्रको व्यथा कथाको रुपमा प्रकाशलाई सुनाउन सुरु गर्छ ।

क्रमस :

Comments