कन्क्रिटको ओछ्यान

कुरो आजभन्दा झण्डै पन्ध्र वर्ष अघिको हो । लुम्दे (इलामको पश्चिमी गाउँ) का साँहिला काका (वुवाको सानीमाका छोरा) को विहेको निम्तो आयो । निम्तो त विहेभन्दा एक हप्ता अगाडि नै आएको थियो तर को जाने र कहिले जाने भन्ने निर्णय चाँही विहेको अघिल्लो दिनसम्म पनि हुन सकिरहेको थिएन । वुवा आफ्नै काममा व्यस्त, भाइ पनि पढाईमा भएकोले बाहिरै । म एउटा पढाइ सकेर फुर्सदमा थिएँ तर (वस्ने ठाउँमा) पिलो निस्केर थला नै परेको थिएँ भन्दा हुन्छ । विहेको २ दिन अगाडि पिलो त निचोरियो तर पनि हिँड्न सक्ने अवस्था चाहिँ थिएन दुखेर । जान मन त धेरै नै लागेको थियो तर के गर्नु त्यत्रो बाटो हिँडेर जानु पर्ने, आफू भने विरामी । तै पनि यसो विचार गरें, दुखेकै मात्र त हो नि, वरु नदुख्ने औषधि खाएर पनि हिंड्नु पर्ला । विहानको दश बजिसकेको थियो । छिट्टै नहिंडे त भोलि विहान जन्ती जान भ्याइदैन, त्यसै पनि यतिवेला हिंड्दा बेलुकाको ८-९ वजिहाल्छ । एक्लै हिंड्ने कुरा पनि भएन । एउटा साथी त चाहियो । साथी को छ त भनेर सोच्दा तल्लाघर साँल्दाइ (नाताले त भाइ नै हो तर सवैले साँल्दाइ नै भन्ने गर्छों) त छन् उनलाई नै भन्नु पर्‍यो, कतै मानि पो हाल्छन् कि । गएर सोधेको जाउँ न त मलाई पनि लुम्दे हेर्न मन लागेको छ भने ।

हामी तयार भएर घरबाट हिंड्दा ११ बजिसकेको थियो । बाटो धेरै लामो थियो त्यो पनि पैदल हिंड्नु पर्ने । दुम्सेको जंगल, मावा खोलाका २०-२२ जंघार तरेर दिउँसै अँध्यारो हुने पेरुङ्गेको चेप छिचोल्दै हिँड्नु पर्ने बाटो सम्झिदा किन पो हिंडिएछ जस्तो लाग्थ्यो । मावा खोलाको जंघार तर्दै गर्दा एउटा अँध्यारो ओडार जस्तो वाटो देखेर साँल्दाइले हामी जानु पर्ने बाटो यो त होइन भनेर सोधे । म ५-७ पल्ट त्यो बाटो हिंडिसकेको मान्छे, मलाई त थाहा हुनु पर्ने नि त्यही बाटो हो भनेर तर मैले होइन अलिक पर छ पेरुङ्गे, त्यहाँबाट जानुपर्छ भनें । अलिक पर पुगेपछि चाँहि मलाई थाहा भयो बाटो त्यही रहेछ भनेर । अव फर्किने समय पनि थिएन साँझ पर्नै लागेको थियो । र मलाई यो बाटो गएर पनि पुगिन्छ भन्ने थाहा थियो । आफैं हिंडेको चाहिँ होइन, अरुले भनेको सुनेको ।

एक किसिमले पेरुङ्गेको बाटो नगएको पनि ठिकै लाग्यो । त्यो बाटो गएको भए त्यस्तो अँध्यारोमा टोड्केको उकालो र तारेभिरमा हाम्रो हालत के हुन्थ्यो होला !! तारेभिरबाट एकै चोटी तल खोचमा पुगिन्थ्यो होला । बरु त्यो बाटो भन्दा त हामीले बाटो विराएरै गएको साकफाराको बाटो धेरै सजिलो रहेछ । अलिकति बढि घुम्नु पर्ने मात्र हो ।

मावा खोलामा हिंड्दै गर्दा भरखरै धान रोपेको खेत भेटियो । घाम रातो भएर अस्ताउने सुरसार गर्दै थियो । धानखेत पार गरेर अलिक पर पुगेपछि एक दुई वटा घरहरु भेटिए । एउटा घरमा पुगेर हामीले बाटो विराएर लुम्देतिर जानु पर्ने यता आइयो भनेको - बाटो गलत नै त होइन अलिक घुमाउरो चाहीँ हो । यही बाटोबाट २ घण्टामा रमिते पुगिन्छ । तर अहिले त साँझ झमक्कै भइसक्यो तपाईहरु पुग्नु हुन्न यतै बस्नुस न त भन्दै थिए तर हामीले जसरी पनि साइला काकाको जन्त जान भ्याउनु थियो त्यसैले उनीहरुलाई धन्यवाद भन्दै त्यहाँबाट बाटो लाग्यौं । एकछिन हिंडेपछि भोक लागेको महशुस भयो । खानेकुरा केही बोकेको पनि थिएन । पैसा छँदैछ, बाटामा किनेर खाउँला नि, वेकारमा अलिकति भए पनि किन भारी बोक्ने भनेर घरबाट त्यत्तिकै हिंडेको अव पो निस्कियो त भन्दै भोक लागे पनि अघिको मुर्खता सम्झेर हाँस्दै, जोक भन्दै, अँध्यारोमा लड्दै, कतै कतै ठोक्किँदै हिँडिरह्यौं, रमितेलाई छिट्टै भेट्ने लक्ष्य लिएर । सहारा एक एक वटा लठ्ठी र एउटा चाइनिज पिलपिले टर्च लाइट थिए । धन्न पानी चाँहि ठाउँ ठाउँमा पाइँदो रहेछ । नत्र १० मिनट नहिंडि मुख घाँटी सुक्ने त्यस्तो ठाडो उकालोमा तिर्खाले मरिन्थ्यो होला ।

वल्ल वल्ल राति ९ बजे तिर रमिते पुगियो । भएका एक दुई वटा पसल पनि बन्द भइसकेका थिए । एउटामा चाहिँ भित्र मान्छे रहेछन् । वोलाएर केही खाने कुरा पाइन्छ कि भनेर सोध्यौं । अरु त केही छैन, खाने भए १ माना मकै भुटिदिने रे । उपाय केहि थिएन । त्यही भए पनि खानै पर्‍यो नि । रातो चिया र भुटेको मकै अलिकति त्यहिँ बसेर खाइयो अनि बाँकी चाँहि हिँड्दै खाँदै ।

फर्कंदा साल्दाइ र म त्यही भुटेको मकै खाएको रमितेमा


त्यहाँबाट हिँडेपछि फेरि एकपल्ट बाटो उल्टो पर्‍यो । पाङ्दुवा हुलाकबाट दायाँ लाग्नु पर्ने बायाँ लागिएछ । अलि पर पुगेपछि थाहा भयो हामी त रवि पो पुग्न लागेछौं । अव त्यहाँबाट नवमी वजार तिर सोझिने बाटो पहिल्याउनु पर्ने भयो । अँध्यारोमा एकछिन यता उता गरेपछि वल्ल भेटियो । खै त्यो ठाउँलाई राँके कि रक्से के भन्छन्, मैले विर्सै । पहिले पहिले जाँदा मैले देखेको थिएँ,त्यो ठाउँ एउटा चिहानघारी थियो । अहिले त झन थपिएका रहेछन् । लिम्वुको चिहान भन्थे, साना साना चौतारी जस्तै कन्क्रिटले बनाएका चिहानै चिहान । १२ त बजिसकेको थियो । भोक पनि टन्नै लागेको, तिर्खा त्यस्तै, थकाइको त कुरै नगरौं । एकछिन त थकाई मार्नै पर्ला । यही सोचेर त्यही बनिवनाउ कन्क्रिटका एक एक वटा ओछ्यानमा पल्टियौं । ३ घण्टा जति मस्तैसँग निदाइएछ ।

फर्कंदा नै साइँला काका (वेहुला)का भाइ कान्छा काका र म रमितेमा

त्यहाँबाट उठेर विहे घर पुग्नलाई १ घण्टा जति मात्र लाग्यो । ४ बजेतिर हामी पुग्दा विहेको तयारी चल्दै थियो । काका काकी र अरु सवै छक्कै परे ।

Comments