पूरा हुन नसक्ने चाहना

दश वर्षदेखि एउटै कोठामा थच्चिँदा थच्चिँदा मैले आफूलाई एक किसिमको कैदी नै ठान्छु । यहाँबाट मुक्त हुन कति कोशिस गरिसकें तर सवै व्यर्थ भइरहेका छन् । यो पट्यार लाग्दो व्यवसाय गर्नु भन्दा त गाउँ मै बसेर उन्नत तरिकाले खेतिपाति नै गरौं गरौं लाग्छ । उन्नत जातका गाई, भैंसी, मौरी, बाख्रा, माछा पालन गरे, मौसमी वेमौसमी तरकारी खेती गरें भने अहिलेको भन्दा अलिक बढि फुर्सदिलो हुने साथै गाउँमा बेकार बसेर, तास खेलेर आवारा भएर हिंडेका युवाहरुलाई पनि एउटा शिक्षा हुने थियो । गाउँका युवा कि त खाडि मुलुक र मलेशिया गएका छन् कि त गाउँमै बसेर तास खेलेर समय विताइरहेका छन् । मैले उनीहरुलाई काम गर्नु पर्छ र त्यो पनि सकेसम्म आफ्नै गाउँ ठाउँमा गर्नु पर्छ भनेर पनि देखाउनु सिकाउनु छ । तर मलाई म यो मेरो चाहनामा सफल हुन्छु जस्तो चाहीं लाग्दै लागेको छैन ।


मलाई थाहा छ मेरो यो कुरा सुनेर (पढेर) धेरै जसो हाँस्नु हुनेछ तर पनि यो सत्य हो कि म यो अत्याधुनिक जमानाको अत्याधुनिक प्रविधिमा आधारित कम्प्युटर र इन्टरनेटको व्यवसाय छोडेर खेतीपाती गर्न चाहन्छु । यसको लागि मैले मेरो परिवारका सवै सदस्यहरुबाट एक किसिमले अनुमति पनि पाइसकेको छु तर सवै कुरा सोचे जस्तो नहुन पनि सक्छ । यदि म सफल भएँ भने त सवैले राम्रै भन्लान् तर कारणवस असफल भएँ भने त समाज र अरु सवैका लागि म पक्का पनि हाँसोको पात्र बन्नेछु । त्यही कारण पनि म जोखिम मोल्न तयार भइसकेको छुइन ।

Comments