आई. ओ. एम‌., भूटानी शरणार्थी र दमक


झापा जिल्लाका विभिन्न ठाउँमा ६ वटा र मोरङ्ग जिल्लाको पथरीमा १ गरी नेपालमा ७ वटा भूटानी शरणार्थी शिविरहरु छन् । ती सातै शिविरहरुमा झण्डै १ लाख १० हजार शरणार्थीहरु रहेका छन् । शिविर वाहेक पनि शरणार्थीहरु विभिन्न ठाउँमा विभिन्न पेशा व्यवसाय गरेर बसेका छन् ।
दमकको बेलडाँगीस्थित ३ वटा शिविरहरुमा झण्डै ६० हजार शरणार्थी रहेका छन् । तिनीहरुको प्रत्यक्ष सम्वन्ध दमक बजारसँग रहेको छ । हाल आएर अमेरिकाले ५० हजार शरणार्थीलाई आफ्नो देश (अमेरिका) मा पुनर्वास गराउने घोषणा गरेको छ र त्यही अनुरुप वसाइ सराइ सम्वन्धी अन्तर्राष्ट्रिय संस्था (IOM) ले काम पनि शुरु गरिसकेको छ ।

हाल आई. ओ. एम‌. ले आवश्यक कर्मचारी नियुक्ती गर्ने काम गरिरहेको छ । र आवश्यक भौतिक साधनहरुको जोहो पनि गर्दैछ । हुन त आई. ओ. एम‌.को विरोध मैले गर्न खोजेको होइन तर पनि एउटा सवभन्दा तल्लो तहको कर्मचारीलाई नेपाल सरकारको सवभन्दा माथिल्लो तहको कर्मचारीले पाउने भन्दा बढी तलव सुविधा उपलव्ध गराउँदा भोलि त्यसले समाजमा के कस्ता नकरात्मक विकृतीहरुको सृजना गर्ने हो, त्यसको लेखाजोखा अहिले नै गर्दा राम्रो होला ।

त्यस्तै अरु वेला मासिक १०-१५ हजार रुपैयामा पनि लाग्न गाह्रो हुने घरलाई एक डेढ लाखसम्म भाडा तिर्न तयार हुँदा यस क्षेत्रमा सानो तिनो जागिर खाने र सानो तिनो व्यवसाय गरिरहेकाहरुलाई कस्तो असर पर्ला त्यो पनि बुझिदिएको भए ‌‌‌‌‌‌‌‌‌‌‌‌.......................



अव रह्यो शरणार्थी र दमकको सम्वन्ध । दमक वजारको कारोबारको लगभग ४० प्रतिशत हिस्सा वेलडाँगी क्याम्पले ओगटेको छ । शरणार्थीहरुले यो ठाउँ छोडेपछि दमकका व्यापारीहरुको व्यापारमा संकट आउने निश्चित नै छ । यो संकटलाई टार्न यहाँका व्यवसायी, उद्योग वाणिज्य संघ र अन्य सम्वन्धित निकायहरुले वेलैमा सोच्न र समाधानका उपाय अवलम्वन गर्नु जरुरी छ ।

Comments