पुनर्वासमा जाने संख्या एक लाख नजीक



२३ साउन, दमक।
दुई दशक बढिदेखि झापा र मोरङमा शरण लिएर बसेका करिव एक लाख भुटानीहरु तेश्रो मलुकमा पुनर्स्थापित भएका छन् ।
शरणार्थी सम्बन्धी राष्ट्र संघीय उच्चायोगले आठ बर्ष अघिदेखि शुरु गरेको पूनर्वास कार्यक्रमअन्तर्गत यही अगस्ट १ तारिख सम्म अमेरिका, युरोप र अष्ट्रेलियाका विभिन्न ८ मुलुकमा कुल ९८ हजार ३६ जना भुटानी शरणार्थी पूनर्वासमा गएको जनाएको छ।
यस अवधीमा सवैभन्दा बढी भुटानी शरणार्थी पुनर्वासका लागि संयुक्त राज्य अमेरिका गएका छन् । जुन संख्यामा ८३ हजार ५३ जना रहेको छ ।





त्यस्तै सवैभन्दा कम नेदरल्याण्डमा तीन सय २७ जना पूनर्वासमा गएका छन् । त्यसैगरी, अष्ट्रेलियाले पाँच हजार पाँच सय १२, क्यानडामा ६ हजार तीनसय ५६, डेनमार्कले आठसय ७४, न्यूजील्याण्डले नौ सय ९० र नर्वेले पाँचसय ५५ जना भुटानीलाई आफनो मुलुकमा लगिसकेका छन् । त्यस्तै सवैभन्दा पछिदेखि भुटानीहरूलाई पुनर्वास गराउन थालेको वेलायतले तीनसय ६९ जनालाई आफ्नो देशमा बसोबास गराइसकेको छ।
यसैगरी १७ हजार नौसय ९६ जनाले पूनर्वासका लागि इच्छापत्र दर्ता गराएका छन् ।
२००८ जुन ४ मा पहिलोपटक यहाँका शरणार्थीहरुलाई झापाको भद्रपुर विमानस्थलबाट काठमाण्डौ हुँदै अमेरिका पूनर्वास गराइएको थियो । शुरुका बर्ष प्रत्येक महिनामा दुई हजारको हाराहारीसम्म पूनर्वास गराइएको थियो ।
हाल नेपालमा रहेका भुटानी शरणार्थीको संख्या २० हजार ५१ रहेको छ, जसमध्ये १६ हजार ४५ जना उत्तरी दमकको वेलडाँगी शिविर र तीन हजार नौसय ७३ जना पूर्वी मोरङको पथरी शनिश्चरे शिविरमा रहेका छन् भने बाँकी नेपालको गृहमन्त्रालयसँग अनुमति लिएर काठमाण्डौ लगायत विभिन्न ठाउँमा बस्दै आएका उच्चायोगले जनाएको छ।


Comments