चुनौती स्विकार्दै सेलुन व्यवसायमा पहाडी मुलका युवा




२३ साउन, दमक।
पछिल्लो समय झापामा नेपाली युवाहरु आयआर्जनका लागि कपाल काट्ने व्यवसायतर्फ आकर्षित भएका छन् । सानो पूँजी र घरैमा बसी बसी काम गर्न सकिने हुँदा यो व्यवसायप्रति युवाहरूको आकर्षण बढेको हो ।
यो पेशा मधेसी समुदायका ठाकुर जातिको मात्र हो भन्ने मान्यतालाई चुनौति दिँदै झापाको तोपगाछीस्थित केर्खामा स्थानीय एक युवाले यो व्यवसाय अपनाएका हुन् ।
तोपगाछी-७ का २६ बर्षिय हरि बोहराले ५ लाख रुपैयाँभन्दा बढी लगानी गरेर पुरुष तथा महिलाका लागि टच अफ स्टाइल नामक सेलुन खोलेका हुन् । चार वर्षभन्दा बढी समय विदेशी भूमिमा पसिना बगाएर फर्केका बोहराले दुई वर्षसम्म दमकमा कृष्ण बहादुर बस्नेतले सञ्चालन गरेको सेलुनमा तालिम लिएपछि अहिले आफ्नै लगानीमा सेलुन सञ्चालन गरेका हुन् । सेलुनमा कपाल काट्ने, जेल सेटिङ्ग, फेसियल, केशमा रंग लगाउनेलगायतका सवै सुविधा उपलब्ध हुने बोहरा बताउँछन्।



आज एक कार्यक्रम गरी सो सेलुनको टच अफ स्टाइल दमकका प्रोप्राइटर कृष्णबहादुर बस्नेतले रिवन काटेर उद्घाटन गरेका थिए। । सेलुन उद्घाटनपछि बोल्दै बस्नेतले हाल आफूले दमकमा तीन जनालाई रोजगारी दिएको बताए।
त्यस्तै दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईंले सिप कुनै जाति र वर्ग विशेषको नहुने भएकाले यो व्यवसाय आयआर्जनको गतिलो माध्यम बन्दै गएको वताए । नेपाली युवाहरुले रोजगारीका क्रममा विदेशमा पुग्दा जस्तो सुकै काम गर्न हुने तर स्वदेशमा नै आयमुलक सिप,व्यवसायमा काम गर्दा कोही सानो ,ठुलो नहुने उनले वताए ।
अहिले झापाको दमक, सुरुङा र विर्तामोडमा गरी पाँचजना नेपाली युवाले मात्र कपाल काट्ने व्यवसाय सञ्चालन गरिरहेका छन् ।



Comments