भोलिको बन्द फिर्ता



२१ साउन, बिर्तामोड।
राष्ट्रिय जनमुक्ति पार्टीले भोलि साउन २२ गतेका लागि आह्वान गरेको बन्द हड्तालको कार्यक्रम झापामा पूर्ण रुपमा फिर्ता लिने सहमति भएको छ ।

सम्वाद समूहको सचिवालय झापाको संयोजनमा बिर्तामोडमा भएको वार्तामा सो पार्टीले झापामा भने बन्द, हड्ताल फिर्ता लिने सहमति गरेको हो ।
उक्त पार्टीले वि.सं. १८३१ साउन २२ मा नेपालको लिम्बुवान राज्यलाई षड्यन्त्रपूर्वक ढंगले खोसिएको भन्दै सो दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै साउन २२ गतेका लागि पूर्वका नौ जिल्लामा बन्दको आव्हान गरेको थियो ।





वार्तामा उद्योगी, व्यवसायी, प्याब्सन, अधिकारकर्मी, सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रको आग्रहलाई मध्यनजर गर्दै झापाका लागि बन्दको कार्यक्रम फिर्ता लिइएको जनमुक्ति पार्टी जिल्ला अध्यक्ष परशुराम मगरले जानकारी दिए । उनले बन्दको सट्टा विरोधका अरु सांकेतिक कार्यक्रम गरिने पनि बताए ।
वार्तामा राष्ट्रिय जनमुक्ति पार्टीका उचित मागलाई सम्बोधनका निम्ति सरकार र राजनीतिक दललाई ध्यानाकर्षण गराउँदै बन्दहड्ताल सदाका लागि बन्द गर्ने संस्कारको थालनी र विकास गर्न अरु राजनीतिक दल, संघ संगठनलाई पनि आह्वान गर्ने सहमति भएको सम्वाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईले बताए ।
वार्तामा भएको सहमतिमा जनमुक्ति पार्टीका तर्फबाट अध्यक्ष मगर, जिल्ला सदस्य दिलीप राई, प्याब्सन झापाका अध्यक्ष मिलनकुमार ढुंगाना, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापाका सभापति रुपक खनाल, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मदन ढकाल, झापा उद्योग वाणिज्य संघ शाखा बिर्तामोडका अध्यक्ष बलराम कार्की, पूर्व अध्यक्ष वेदप्रकाश अग्रवाल, संघका जिल्ला सचिव प्रकाश शिवाकोटीले हस्ताक्षर गरेका छन् ।
त्यस्तै प्याब्सनका केन्द्रीय प्रतिनिधि नरेशमान धिमाल, जिल्ला सहसचिव ज्ञानकुमार थलङ तथा कुमार खड्काले समेत सहमतिमा हस्ताक्षर गरेको सम्वाद समूह सचिवालयका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेलले जानकारी दिए ।





Comments