यस्ती पनि छोरी, जसले जिउँदी आमालाई मरेको भन्दै सम्पत्ती आफ्नो नाममा पारिन्




२० साउन, दमक।
झापाको गौरीगन्जकी एक बृद्धाले आफ्नो सम्पती हडप्नका लागि आफ्नै छोरीले आफु मरेको बयान दिएको भन्दै छोरी बिरुद्ध मुद्दा हालेकी छन् । श्रीमानको मृत्युपछि आफु वा आफ्नो छोराको नाममा आउनुपर्ने सम्पती आफ्नो नाममा ल्याउन लागि २०४५ सालमा नै आफुलाई मरेको भनेर आफ्नो नाममा जग्गा पारेको खुलेपछि गौरीगन्ज ७ र हाल काठमाण्डौ
बस्दै आएकी ७४ बर्षिया राजकुमारी श्रेष्ठले आफ्नै छोरी ४५ बर्षिया सरस्वती श्रेष्ठविरूद्ध जिल्ला अदालत झापामा मुद्दा दायर गरेकी हुन् ।



आफ्ना १ छोरा र ५ छोरी रहेकोमा छोरा र श्रीमान् दुवैको मृत्यु भइसकेको अवस्थामा अहिले छोरीले अदालतमा गएर आमा मरेको भन्दै बयान दिएर जग्गा आफ्नो नाममा बनाई सम्पती हडप्न खोजेको र आफ्नो मानमर्यादामा समेत आँच ल्याएकाले बुढेसकालमा अदालत धाउनु पर्ने बाध्यता भएको बृद्धा श्रेष्ठले बताइन् । आफु आफ्नो घर गाउँमा जाँदा मरेको मान्छे कसरी आउनु भयो भन्दै सबै अचम्मित भएको उनको भनाई छ ।
गौरीगन्ज बजारमा रहेको डेढ बिगाह जमिन आफ्नो नाममा बनाउन आफुलाई मरेको भनेर अदालतमा दिएको बयान हेर्दा आफ्नो आँखाबाट आँशु झरेको
र अहिलेसम्म ओभानो नभएको श्रेष्ठको भनाई छ । श्रीमान् र छोरा मरिसकेकाले बुहारीले जग्गाको अंश दिन खोज्दा जमीन छोरीले आफ्नो एकलौटी बनाएको थाहा पाएपछि बृद्धा श्रेष्ठ अदालतको ढोका ढक्ढक्याउन पुगेकी हुन् ।
श्रीमानको नाममा रहेको गौरीगन्ज गाबिस वडा नं. ५ को कित्ता नं. ६८८ र ०९७ को एक बिगाह ५ कठ्ठा जमिन कृषि बिकास बैंकमा धितो राखी कारोबार गरेकोमा त्यो लिलाम गरी २०४३ साल फागुण २५ मा कृषि बिकास बैकको नाममा कायम रहेको देखिन्छ । बैकको कर्जा तिरेर जग्गा फिर्ता ल्याउने प्रकृया चलिरहँदा श्रीमानको मृत्यु भएको र पछि आफैंले सबै कर्जा तिरेको श्रेष्ठ बताइन् । उनले भनिन्, 'यति दुःख गरेको जमिन अहिले त आफ्नो बनाइछ र त्यो पनि मलाई २०४५ सालमा नै मरेको बयान दिइएको रहेछ ।'





Comments