लिम्वुवान घोषणा नगरिए समानान्तर सरकार घोषणा गर्ने चेतावनी



अनिल वाग्ले,
३० साउन, बुधबारे झापा।
संघीय लिम्वूवान पार्टी नेपालका केन्द्रीय सचिव प्रेमदिप थाम्सुहाङले अरुण पूर्वका ९ जिल्लालाई लिम्वूवान राज्य घोषणा नगरिए समानान्तर सरकार घोषणा गर्ने चेतावनी दिएका छन् ।
झापाको बुधबारेमा क्षेत्र न. १ र ४ को संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्ने क्रममा आज उनले त्यस्तो चेतावनी दिएका हुन् । उनले ऐतिहासिक पृष्ठभूमिलाई लत्याउँदै प्रमुख दलले ६ प्रदेशको अवधारणा ल्याएको भन्दै त्यो किमार्थ स्विकार नहुने स्पष्ट पारे । अहिले नेपालमा संविधान निर्माणको अन्तिम चरण चलिरहेको भन्दै सम्पूर्ण लिम्वूवानवासीलाई अरुणपूर्वका ९ जिल्लालाई लिम्वूवान राज्य घोषणा गराउने कार्यमा दवाव दिन लाग्नुपर्ने कुरा सुझाएका छन् ।



अर्को प्रसङ्गमा उनले लिम्वूवानका ५ पार्टी एकीकरण भएको १४ महिनाको अन्तरालमा अव पार्टी एकढिक्का भइसकेको बताउँदै केही व्यवस्थापनका कुरामात्र टुङ्गाउन बाँकी रहेको जानकारी गराएका थिए । थाम्सुहाङले अब लिम्वूवानी जनता पार्टीलाई एक बनाउन र चाँडै हुनलागेको स्थानिय निकायको चुनावमा पार्टीलाई जिताउने कार्यमा कम्मर कसेर स्थानिय तहबाटै लाग्नुपर्नेमा जोड समेत दिएका छन् ।
केन्द्रीय सदस्य मानबहादुर साँवाको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्र न. ४ का सचिव गजेन्द्र योङहाङ, अमित खम्बु लगायतले बोलेका थिए। दर्जनौं कार्यकर्ताका विच भएको कार्यालय उद्घाटन कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य सुवास राईले गरेका थिए ।





Comments