दुई ठाउँमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु





४ साउन, दमक।
झापा र सुनसरीका दुई ठाउँमा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
आज बिहान झापाको कन्काई नगरपालिका ७ पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदैगरेको बसले ठक्कर दिएर मे ६ प ६०५६ नं. को मोटरसाइकलका चालक झापा बाहुनडाँगी ४ का ५१ वर्षिय अच्युत ढुङ्गानाको मृत्यु भएको छ।
बिहान ९ बजे उनी सवार मोटरसाइकललाई ग १ ख ४९४९ नम्बरको बसले ओभरटेक गर्नेक्रममा ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते ढुङ्गानाको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा बिहान साढे ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।




त्यस्तै सुनसरीको इटहरी १४ खनार चोकमा आज बिहान को १ ख १९७४ नम्बरको बसको ठक्करबाट को १२ प १४०७ नं. को मोटरसाइकलका चालक भोजपुर स्याम्सिला ४ बस्ने ४६ वर्षिय टिकाराम तामाङको उपचारको क्रममा मृत्यु भएको छ। बिहान करिब साढे ८ बजे धरानबाट बिराटनगरतर्फ आउँदै गरेको बसले बिराटनगरबाट इटहरी जानेक्रममा उनलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका उनको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बिहान पौने १० बजेतिर मृत्यु भएको हो।

दुबै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।





Comments