फाल्गुनन्द स्मृति भवन निर्माण स्थलको माटो परीक्षण हुँदै




२३ असार, दमक।
झापाको दमक-१५ स्थित फाल्गुनन्द स्मृति भवन (सिटी हल) निर्माणस्थलको माटो परीक्षणको काम एक हप्तादेखि भइरहेको छ।
निर्माण स्थलको पहिलो चरण अन्तर्गत माटो परीक्षणको कार्य हाल सञ्चालनमा रहेको जनाइएको छ । अहिले सो स्थानमा सम्बन्धित विषयका १० जना विशेषज्ञहरूको टोलीले भवन निर्माणका लागि माटो परीक्षणको काम जारी राखेको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिए । दमक नगरपालिकाले सो स्थानको माटो परीक्षण तथा भवन निर्माणको डिजाइन स्टिमेटका लागि प्यारागन इन्जिनियरीङ कन्सल्टेन्सीमार्फत हाल सो काम भइरहेको अधिकृत दाहाल बताउँछन् । दमक नगरपालिकाको २५ लाख रुपैयाँको लगानीमा प्यारागनले हाल मेट्रियलटेष्ट प्राइभेट लिमिटेडका विषयसँग सम्बन्धी विशेषज्ञहरूको सहयोगमा झण्डै एकसाता अघिबाट माटो परीक्षण गरिरहेको दाहालले बताए । निर्माणस्थलमा संरचना निर्माण हुने चार स्थानको माटो परीक्षण गरिनेछ । हालसम्म टोलीले २ स्थानको माटो परीक्षण गर्ने कार्य सम्पन्न गरिसकेको छ भने बाँकी काम अबको एक साताभित्र सम्पन्न गरिसक्ने जनाइएको छ ।


स्मृतिहल निर्माण स्थलको भौगोलिक परीक्षण सकिएलगत्तै प्यारागनले सो भवनको ड्रइङको काम शुरु गर्ने जनाइएको छ ।
पहिलो चरणको काम सम्पन्न भएलगतै किराँत धर्म गुरु आत्मानन्द लिङ्देनको समय अनुकलतालाई मध्यनजर गर्दै भदौको दोस्रो साताभित्रमा गुरुबाट भवनको शिलान्यास गरिने अधिकृत दाहालले जानकारी दिए । करिव १८ करोड रुपैयाँको लागतमा २ हजार सीट क्षमता भएको भवनमा किराँत गुरु फाल्गुनन्दको समाधिस्थलको माटोसमेत राखिने दाहालले बताए । भवनको शिलान्यास भएलगत्तै निर्माण कार्यले गति लिने र २ वर्षभित्रमा निर्माण सम्पन्न गरिने लक्ष्य भएको उनको भनाई छ । दाहालले भने, 'हामीले यसलाई स्मृति भवन र सभाहल भन्दा पनि किराँत धर्मका लागि एउटा पवित्र स्थलको रुपमा समेत विकास गर्न लागेका छौ ।'
सो क्षेत्रको केहि महिना अगाडी मात्र किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले स्थलगत अवलोकन समेत गरेका थिए ।
तस्वीर - सिटीहल निर्माणका लागि माटो परीक्षण गरिँदै (विष्णु सुब्बा)



Comments