घाइते कार्कीको थप उपचारमा समस्या

९ साउन, दमक।
१४ महिनाअगाडी सडक दुर्घटनामा परेर घाइते भएकी झापा तोपगाछी-७ की २४ वर्षिया कमला कार्कीको थप उपचारका लागि समस्या भएको छ ।
२०७१ साल जेठ २५ गते तोपगाछी-५ स्थित एकता चोकमा यात्रुवाहक वसले ठक्कर दिँदा कार्की दुर्घटनामा परेकी थिइन् । उनले चलाएको मे ४ प २ नम्बरको मोटरसाइकललाई पूर्व नेपाल यातायात संघद्वारा सञ्चालित को १ ख ३८०४ नम्बरको यात्रुबाहक बसले ठक्कर दिई कार्कीको दाहिने खुट्टा भाँचिएको थियो । कमलासँगै मोटरसाइकलमा सवार झापा सुरुङ्गाकी सृजना गुरुङसमेत सो दुर्घटनामा घाइते भएकी थिइन्। सो दुर्घटनाका घाइतेमध्ये सृजनाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको भएपनि कमलाको भने स्वास्थ्य स्थिती जटिल बन्दै गएको छ ।
दुर्घटना भएलगत्तै कमलालाई दमकस्थित लाइफलाइन अस्पातमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको उनका बुबा लोकबहादुर कार्कीले जानकारी दिए ।



घाइते कमलाले भनिन्, 'मेरो दाहिने खुट्टा भाँचिएपछि न्यूरो अस्पतालमा स्टिल हालिएको थियो । चिकित्सकको सल्लाहअनुसार स्टिल निकाल्न न्यूरो अस्पताल पुग्दा संघका मानिसहरुले त्यहाँ मेरो थप उपचार गराउन मानेनन् । न्युरोका चिकित्सकहरुले अन्यत्र लान सल्लाह नदिँदा नदिँदै मलाई कोसी अञ्चल अस्पताल लगियो।'
अञ्चल अस्पतालमा तीन दिनसम्म पनि कुनै उपचार नभएपछि अस्पतालका डाक्टर मुकुन्द दाहालले यहाँ स्टिल झिक्ने सुविधा नभएको भन्दै विराटनगरकै अर्को निजी अस्पताल हाम्रो हस्पिटल जाने सल्लाहअनुसार थप उपचारका लागि त्यहाँ लगिएको कार्कीले जानकारी दिइन् । सो अस्पतालमा उपचारका क्रममा खुट्टामा समस्या देखिन थालेपछि नआत्तिन सल्लाह दिएका भएपनि शंका लागेर विराटनगरकै अर्को अस्पताल विराट नर्सिङ होममा गएर समस्या देखाउँदा खुट्टाको हड्डी कुहिएको सो अस्पतालका डाक्टर प्रदिप कुमार गुप्ताले बताएको कार्कीले जानकारी दिइन् ।

हाल कार्कीको नलीखुट्टाको वीचको हड्डी फालिएको छ भने चिकित्सकले खुट्टा छोटो हुनसक्ने बताएपछि थप र भरपर्दो उपचारमा भारत जान आर्थिक अभाव भएको पिडित कमलाले बताइन्। कमलाले भनिन्, 'मेरो जीवनसँग जोडिएको कुरा हो, एकपटक भरपर्दो उपचारका लागि जाने आग्रह सवारी धनि र संघसँग गर्दा उनीहरुले अव खर्च नगर्ने बताएकाले झनै समस्या भएको छ ।'
दुर्घटनापछि यातायात संघले घाइतेको उपचार गरिदिने विषयमा पटकपटक सहमति गरेको भएपनि पछिल्लो समयमा सहमतिअनुसार पूर्ण उपचारका लागि आर्थिक सहयोग नगरेको पिडित परिवारले जनाएको छ । पूर्ण उपचार नपाएर छोरीको दाहिने खुट्टाले काम नै नगरेकोले उनको भविष्य अन्धकार बन्दै गएको बाबु लोकबहादुरले दुखेसो गरेका छन्।
बनिबुतो गर्दै आएका कार्की परिवारले कमलाको उपचारमा हाल सम्म १ लाख रुपैयाँ सकिसकेका छन्। थप उपचारका लागि खर्च जुटाउन नसकेर कार्की परिवार अहिले सहयोगको खोजीमा भौंतारिइरहेको छ । 'थप उपचारका लागि चार लाख रुपैयाँभन्दा बढी लाग्ने चिकित्सकको भनाई पछि यति धेरै रकम कहाँबाट जुटाउने भन्ने सोच्न पनि नसकेको' लोकबहादुरको चिन्ता छ ।


उता पूर्व नेपाल यातायात संघले भने कमलाको उपचारको शिलशिलामा २०औं लाख खर्च गरिसकेको कोषाध्यक्ष लीला घिमिरे जिकिर गर्छन् । संघको नियमअनुसार घाइतेलाई दिनुपर्ने सम्पूर्ण उपचार खर्च उपलब्ध गराइएकोले 'सीमा’ भन्दा माथि थप खर्च गर्न नसकिने उनले बताए ।
तर पिडीत परिवार संघले उपलब्ध गराएको उपचार खर्चको अंक र दाबीसँग पटक्कै सहमत छैनन्। दुर्घटना गराउने बस बिराटनगरका महेन्द्र ढुङ्गानाको भएकोले पिडीत परिवारले हालै उनीसँग भेटेर घाइतेको पूर्ण उपचारको माग गरेका थिए । तर उनले पनि 'सक्छौ बस नै लैजाउ, बाटामा चल्न दिँदैनौ भने नदेउ तर उपचारका नाममा योभन्दा बढी रकम दिन नसक्ने’ लाचारी व्यक्त गर्दै पिडीतलाई फर्काएका छन्।
व्यवसायी र संघको हर्कतका कारण एउटी जवान युवती घाइते अवस्थामै उपचार नपाएर अपाङ्गसरह जीवन जिउन बाध्य भएको अवस्थालाई सम्बन्धीत पक्ष गम्भीर बन्नु पर्ने स्थानीय भानु सुव्वाले आग्रह गरेका छन् ।

तस्वीर - आफ्नो पीडा सुनाउँदै घाइते कार्की ।



Comments