दमकका तीनवटा राष्ट्रिय गौरवका योजनाहरु समावेश




२३ असार, दमक।
आज सार्वजनिक गरिएको सरकारको नीति तथा कार्यक्रममा दमकका तीनवटा राष्ट्रिय गौरवका योजनाहरु समावेश भएका छन् । ती योजनामा दमक-५ मा विश्वकै अग्लो बुद्धमूर्ति, दमक-१९ मा औद्योगिक क्षेत्र र हरितनगर योजना रहेका छन् ।
राष्ट्रपति डाक्टर रामबरण यादवले संसदमा प्रस्तुत गरेको नीति कार्यक्रममा यी योजनालाई उच्च प्राथमिकताका साथ समावेश गरिएको छ । सार्वजनिक गरिएका नीति तथा कार्यक्रमको दस्तावेजमा ती योजना समावेश भएको उल्लेख छ । कार्यक्रम सार्वजनिक भएलगत्तै दमक नगरपालिका कार्यकारी अधिकृत युवराज दाहालले दमकको समग्र विकासका लागि सरकारले उच्च प्राथमिकता दिएको बताए । सार्वजनिक गरिएका नीति तथा कार्यक्रमका बारे पत्रकारहरुसँग कार्यकारी अधिकृत दाहालले भने, 'दमकको लागि यो अत्यन्तै खुसीको खबर हो।' हालसम्मका नीति तथा कार्यक्रममा दमकका तीन योजना एकैसाथ समावेश भएको यो नै पहिलो हुन पुगेको छ ।


उनले दमक-५ को दुम्सेमा विश्वकै अग्लो बुद्धमूर्ति निर्माणको लागि बौद्ध समुदायबाट अध्ययन भइरहेको स्मरण गराउदै दक्षिण र पूर्वी एशियाका कैयौं मुलुकलाई जोड्ने बुद्ध सर्किटको एउटा महत्वपूर्ण बिन्दु दमकमा बुद्धमूर्ति बन्ने बिश्वास ब्यक्त गरे ।
नीति तथा कार्यक्रममा घोषणा भए बमोजिम पूर्वको दमक र पश्चिमको कोहलपुर नगरलाई हरितनगरीको रुपमा बिकसित गर्ने कार्यक्रम रहेको छ ।
सरकारको नीति तथा कार्यक्रममा दमकका दुईवटा ठुला परियोजनाहरु उल्लेख भएकोमा आफु हर्षित भएको नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति लिला गुरागाईं बताउँछन् । उनी भन्छन्, 'राज्यले दमकलाई महत्वका साथ हेरेको संकेत हो यो ।'
योसँगै दमक-१९ मा प्रस्तावित औद्योगिक क्षेत्रको प्रारम्भिक चरणको कार्यस्वरुप दमक-१५ को चियादोकानबाट सेतुमारीसम्म पुग्ने सडक चारलेनको बनाउनसमेत सम्बोधन गरिएको छ ।



Comments